|

काठमाडाै‌ं :  केही समयअघि  साढे २ फिट उचाइ र १२ केजी वजन भएका शिक्षकले ४२ वर्षसम्म पढाएको कुरा मेरो कानमा सुन्नमा आयो। उनको परिचय थियो कृष्णप्रसाद पौडेल, घर अर्घाखाँची।

उनको परिचय पाउनेबित्तिकै मलाई उनलाई हेर्न र उनीसँग कुरा गर्न मन लाग्यो। तर उनलाई अहिले नै भेट्न सम्भव थिएन। भेट्न कुरा सम्भव नभएपछि मलाई उनीसँग फोनमा भए पनि कुरा गर्न मन लाग्यो। मैले उनलाई नववर्षको पहिलो दिन पारेर फोन गरेँ। उनले फोन उठाउनेबित्तिकै मलाई नववर्षको शुभकामना दिए। अनि मैले पनि। त्यसपछि मात्र मेरो परिचय सोधे। उनको र मेरो जन्मथलो एउटै हुँदा मलाई मेरो परिचय दिन र उनीसँग घुलमिल हुनलाई कुनै अप्ठ्यारो भएन।

साँच्ची उनको बोली कुनै नेताको भन्दा कम थिएन। उनको बोली सुनेरै मलाई लाग्यो उनी शारीरिक रूपमा सशक्त भएको भए अहिले पनि ठमठम गर्दै उकाली ओराली, खेतबारी गर्थे होला।

नववर्षको शुभकामना आदानप्रदान र परिचयपछि मैले उनको जिन्दगीका तीतामीठा घटना र उनले पाएको सफलतालाई कोट्याउन थाले। सुरु गरे बालापनबाट।

उनी २०११ सालमा माता गोमा पौडेलबाट जन्मेका थिए। जन्मने बेला उनको शारीरिकतामा कुनै गिरावट थिएन। उनका पिता शिवलाल पौडेल ज्योतिषका विज्ञ थिए। उनले फोनबाटै भने, म सानो हुँदा बुबाले पढ्नुपर्छ, पढ्नलाई विद्यालय जानुपर्छ, ज्ञान लिनुपर्छ भनेर सानैबाट दिएको हौसला र प्रेरणा हिजोजस्तै लाग्छ मलाई। त्यही बुबाले दिएको हौसलाबाट ५ कक्षासम्म विद्यालय गएर संस्कृत पढेको बताए उनले।

पाँच कक्षासम्मको अध्ययन पूरा गरेपछि भने अज्ञात रोगले चाप्यो उनलाई। उनी त्यतिबेला भर्खर ११ वर्ष भएका थिए। उनलाई उपचार गर्न पाल्पा ल्याइयो। उपचारका क्रममा उनको शरीरमा रगतको कमी देखिएको थियो। तर, आर्थिक अवस्था कमजोर हुँदा उनको परिवारले तत्कालै आवश्यक रगत जुटाउन सकेन। त्यही समयबाट आफ्ने दुवै खुट्टा विस्तारै अचल बन्दै गएको बताए उनले।

त्यसपश्चात् उनको वजन र उचाइ पनि त्यसमै सीमित रह्यो। उनले भने, 'त्यो समयपछि म पढ्नका लागि विद्यालय जान सकिनँ। मैले घरमै बसेर पढ्न थालेँ।' त्यति सानो उमेरमा पनि आफूले जे भेट्यो त्यही पढ्ने गरेको बताउँछन् उनी। 

११ वर्षको कलिलो उमेरबाटै ह्‍विलचेयरको साहारामा जीवन बिताउन बाध्य हुँदा जिन्दगी निकै खल्लो लागेको बताए उनले। त्यो अवस्थामा पनि आफ्नो मनोबललाई गिर्न नदिनु नै आफ्नो सफलता भएको बताउँछन् उनी। शारीरिकरूपमा अशक्त भए पनि मानसिकरूपमा अझ बढी अब्बल बन्दै गए उनी।  

आँगनदेखि चउरसम्म

उनी हिँडडुल गर्न असम्भव थियो। तर, पनि उनलाई घरमै बसेरै भए पनि गाउँका बच्चाहरू आफूसँग भएको ज्ञान छर्न मन लाग्यो। त्यसैले उनले आफ्नै घरको आँगनमा बच्चाहरू जम्मा गरेर आफूसँग भएको ज्ञान छर्न लागे। उनले फोनबाटै भने, 'घरको आँगनमा ११ जना विद्यार्थी राखेर पढाएर मैले शिक्षणपेसाको सुरुवात गरेको थिएँ।'

उनको लागि पढाउने विद्यालय नै उनको आँगन बन्यो। घरको आँगनले विद्यार्थीलाई थेग्न नसकेपछि उनले पढाउने विद्यालय गाउँमा रहेको चउरलाई बनाएको बताए। चौरमै ८०–९० जना विद्यार्थीलाई पढाएको बताउँछन् उनी।

उनले आफ्नो जीवनको ४२ वर्ष हरेक समस्या र परिस्थितिसँग जुध्दै शिक्षण पेसामा बिताएको बताए। ४२ वर्षसम्मको शिक्षणयात्रामा १६ वर्ष त विद्यार्थीलाई आफ्नो घरको आँगन र गाउँकै चउरमा राखेर पढाएको बताउँछन् उनी।

उनले सुरुमा विद्यार्थीलाई धुलो जम्मा गरेर धुलोमा व्याकरण सिकाएको बताउँछन्। दिनप्रतिदिन विद्यार्थीको संख्या बढ्दै गएपछि उनले प्राथमिक विद्यालय खोल्ने पहल गरे। उनको पहलपछि विद्यालय बनाउने सपना पनि पूरा भयो।

उनको जीवन त यत्तिकै जटिल छ तर पनि यो स्थानसम्म पुग्न पाउँदाको खुसी र विद्यार्थीको माया नै जीवन जिउने आधार बनेको बताउँछन् उनी। भन्छन् 'विद्यार्थीको लागि गाउँमा एउटा विद्यालय बनाउने सपना पूरा गरेको छु त्यो  नै मेरो जीवनको सफलता हो।' 

४६ सालपछि मात्र विद्यालय भवनमा

०४६ सालमा भगवती आधारभूत प्राथमिक विद्यालय ठूलापोखरा (हाल निम्नमाध्यामिक) विद्यालय बनेपछि भने उनले भवनभित्र पढाउन सुरु गरे। उनी शारीरिकरूपमा अशक्त भए पनि उनलाई विद्यार्थीहरूले पनि कहिल्यै नराम्रो नजरले हेरेनन्। उनलाई विद्यार्थीले नै बोकेर घर र विद्यालय गराउने गरेको बताए।

उनी विद्यार्थीप्रति धेरै आभारी रहेको बताउँछन्। उनी भन्छन्, ‘विद्यार्थी नै मेरो सम्पति हुन् विद्यार्थीको मायाबाहेक मसँग अरू केही छैन, विद्यार्थी नै मेरा सबथोक हुन्।’ उनले पीडित वर्गलाई विशेषरूपमा प्राथमिकता दिई पढाएको बताए।

गिनिज बुकमा नाम लेखाउने सपना अधुरै

उनी शारीरिक रूपमा अशक्त त थिए नै। तर पनि उनले आफ्नो अशक्तपनालाई एकातिर पन्छाएर बच्चाहरूको उज्वल भविष्यको लागि विगत ४२ वर्षदेखि अनवरतरूपमा शिक्षण पेसामा आबद्द भए। तर, उनको एउटै इच्छा र सपना थियो गिनिज बुकमा नाम लेखाउने। आफ्नो शैक्षिक योग्यताले थेग्न नसकेपछि गिनिज बुकमा नाम लेखाउने सपना सपनामै सीमित भएको बताउँछन् उनी।

उनी अहिले ६५ वर्षका भए। ६५ वर्षको अन्तरालमा ४२ वर्ष त उनले हरेक समस्या र परिस्थितिसँग जुध्दै शिक्षण पेसामा बिताएका छन्। यो आफैँमा लामो अवधि हो। उनी यसरी नै ४२ वर्षसम्म शिक्षक पेसामा आबद्ध भएर शिक्षा दिए तर पनि उनले एउटा शिक्षक दर्जा भने पाउन सकेनन्। उनले निःस्वार्थ र निः शुल्करूपमा विद्यार्थीलाई पढाएको बताउँछन्। उनका लागि विद्यार्थी र विद्यार्थीको माया नै सबथोक थियो।

कृष्णप्रसाद अपांग प्रतिष्ठान खोल्ने तयारी

२०७० सालमा विद्यालयबाट अवकाश लिइसकेका उनले विद्यार्थीलाई पढाउने र विद्यार्थीसँग खेल्ने, रमाउने बानी अझै नहराएको बताए। उनलाई अझै पनि आफूसँग भएको ज्ञान छर्न मन लाग्छ। उनले अहिले पनि आफूलाई समाज कल्याणको लागि काम गर्ने रहर भएको बताउँछन्। अहिले अर्घाखाँची जिल्लामा भएका अपांगहरूको कल्याणका कृष्णप्रसाद अपांग प्रतिष्ठान  नामक संस्था खोल्ने तयारीमा जुटेको बताउँछन् उनी।

समाजको कल्याणका लागि शारीरिकरूपमै अब्बल नभए पनि मन भएपछि गर्न सकिन्छ भन्छन् उनी। स्वास्थ्य अवस्था आर्थिक अवस्था कमजोर हुँदा हुँदै पनि समाज कल्याणका लागि उनले गरेको सेवा र सहयोग नै अहिले धेरैका लागि प्रेरणाको स्रोत बनेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.