|

काठमाडौं : सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुर्खाले दिएको आत्मनिर्भर नेपाल अहिले आएर परनिर्भर बनेको बताएका छन्। उनले यो अवस्थाको अन्‍त गर्नका लागि सरकार, निजी क्षेत्र र आम नेपालीले गम्भीर भएर सोच्नुपर्ने बताएका छन्।

नेपाल कफी व्यवसाय प्रवर्द्धन सम्मेलन, २०७६ को काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले पुर्खाहरूले शिक्षाको अभावमा पनि मुलुक आत्मनिर्भर मात्रै नभएर खाद्यवस्तु निर्यात गरेको तर अहिले शिक्षाको व्यापकताको अवस्थामा पनि परनिर्भर हुनुपरेको भन्दै चिन्ता व्यक्त गरे।

‘हाम्रा बा’आमाहरू, बाजेबजैहरू धेरै पढेका पनि थिएनन् र धेरै बुझेका पनि थिएनन्। त्यत्रो विकास पनि थिएन तर मुलुक कृषिमा आत्मनिर्भर थियो। खाद्यान्नमा आत्मनिर्भर मात्रै थिएन मकैदेखि लिएर कैयौँ तरकारी र फलफूल निर्यात हुन्थो’, प्रचण्डले भने, ‘तर, अहिले हामी धेरै पढ्यौँ, बुझ्यौँ। धेरै भन्न जान्ने भएका छौँ। थिति के छ भने हामी खाद्यान्न पनि आयात गर्न थाल्या छौँ। मकै पनि वेदेशबाट ल्याउने, धान पनि अर्बौंको विदेशबाट ल्याएर खाना खानुपर्ने अवस्था भएको छ।‘

प्रचण्डको चिन्ता थियो, ‘यसले हाम्रो सोच्ने तरिका, हाम्रो शिक्षा नीति, हामी कस्ता मान्छे बनिराख्या छौँ? भन्ने देखाएको छ। हाम्रा डिग्री होल्डरहरू सामान्य नोकरीका लागि विदेश जानुपर्ने भएको छ।‘

विगतमा कृषि अर्ग्यानिक रहेको र अहिले भने त्यस्तो अवस्था नरहेको तथा खाद्यान्नमा विषाक्त मिसिएर रोग बढेको पनि प्रचण्डको भनाइ थियो।

अध्यक्ष प्रचण्डले भने, ‘कृषि आधारभूत क्षेत्र हो र यसमा राज्य तथा निजी क्षेत्र र सबै संघ संस्थाहरूको ध्यान केन्द्रित गर्न सकिएन भने विकासको कुरा भन्दै जाने तर व्यवहारमा उल्टो बाटो हिँडिराखेको हुनेछ।‘

उनले नेपालको कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्ने ठूलो सम्भावना रहेको भन्दै यो क्षेत्रको व्यवसायीकरण, विविधिकरण, यान्त्रिकीकरण र आधुनिकीकरण गर्नुपर्ने बताए। लाखौँ युवालाई विदेश जान रोकेर देशभित्रै रोजगारी सृष्टि गर्ने, उत्पादन वृद्धि गर्ने नयाँ अभियानको सुरुवात गर्ने बेला आएको पनि प्रचण्डको भनाइ थियो।

अब सरकारले भूउपयोग नीति लागू गर्नुपर्ने अध्यक्ष प्रचण्डको भनाइ थियो। उनले भूउपयोग नीतिमा रहेको अन्तरविरोध अन्त्य गर्नुपर्ने पनि धारण राखे। उनले भूउपयोगको लागि विधेयक बनेको र त्यो कानुन बनेपछि लागू हुने बताए।

अध्यक्ष प्रचण्डले अबको बजेटमा कफीको विकासमा सरकार लाग्यो भन्ने कुराको विश्वास दिलाउने बताए। उनले यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडासँग कुरा गर्ने जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.