|

रसुवा : रसुवा भन्सार कार्यालय रसुवाले चैत महिनामा लक्ष्यभन्दा ३६ प्रतिशत बढी राजश्व असुली गरेको छ। चालू आर्थिक वर्षको चैत महिनामा राखेको लक्ष्यभन्दा ३६ दशमलव ४१ प्रतिशत बढी राजस्‍व असुली गरेको हो। चैत महिनामा ६० करोड ४५ लाख ४५ हजार राजस्‍व उठाउने लक्ष्य राखेको कार्यालयले ८२ करोड ४६ लाख ५८ हजार राजश्व सङ्कलन गरेको भन्सार प्रमुख पुण्‍यविक्रम खड्काले बताए। 

वर्षाको समयमा बाढीपहिरोले एक महिनासम्म सडक अवरुद्ध गर्दा घाटा बेहोरेको कार्यालयले पछिल्लो समय लक्ष्यभन्दा बढी राजश्व असुली गरिररहेको छ। सामग्री आयात बढ्नुका साथै भन्सार मूल्यांकन समेत बढेको कारण राजस्व सङ्कलनमा वृद्धि भएको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए।

रसुवा भन्सार कार्यालयले राजश्व असुलीमा वार्षिक लक्ष्यलाई भेटाइसकेको जनाएको छ। चालू आर्थिक वर्षको ९ महिनामा वार्षिक लक्ष्यभन्दा १५ दशमलव २७ प्रतिशत राजस्‍व संकलन गरिसकेको भन्सार प्रमुख खड्काले बताए। त्यस्तै, चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म ५ अर्ब १९ करोड २६ लाख २० हजार राजस्‍व असुली राखेको कार्यालयले ८ अर्ब ७ करोड ५८ लाख ७७ हजार असुली गरेको छ। जुन ९ महिनाको लक्ष्य भन्दा ५५ दशमलब ५३ प्रतिशत बढी हो।

 कार्यालयले चालू आर्थिक वर्षमा सात अर्ब ६२ लाख ६४ हजार उठाउने लक्ष्य राखेको छ। तर साउनदेखि चैत मसान्तसम्ममा वार्षिक लक्ष्यभन्दा १ अर्ब ६ करोड ९६ लाख १३ हजार राजस्व उठिसकेको खड्काले बताए। जुन बार्षिक लक्ष्यको १५ दशमलव २७ प्रतिशत बढी हो।

चीनको केरुङबाट रसुवागढी नाका हुदै जलविद्युत आयोजना निर्माण, सिन्धुपाल्चोकको तातोपानी नाकामा पुल निर्माण, पोखरा र भैरहवाको विमानस्थल निर्माण, ललितपुरमा रंगशाला निर्माण, एनसेल को सामाग्री लगायतका सामग्री आएसँगै राजश्व असुलीमा बृद्धि हुदै गएको पाइएको छ। त्यस्तै सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भए पछि रसुवागढी नाकाबाट निकासी, पैठारी बढेसंगै भन्सार असुली पनि बढेको हो। कार्यालयले निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्त शुल्क भ्याट लगायतका शुल्क बापत भन्सार असुली गर्ने गर्दछ।

चीन जोड्ने विभिन्न नाकामध्ये रसुवागढी नाका मात्रै सञ्चालनमा रहेकाले यो नाकामा व्यापारिक कारोबार बढेको छ। चीनको केरुङबाट रसुवागढी नाका हुदै नेपाल तर्फ रेडिमेड कपडा, कम्मल, घडी, जुत्ता, चप्पल, स्याउ, बिद्युतीय तथा इलेक्ट्रोनिक लगायतका सामाग्रीहरु भित्रिने गरेको छ भने नेपालबाट केरुङतर्फ हस्तकलाका सामाग्रीहरु जाने गरेको छ। २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.