|

काठमाडौं:     प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दुई तिहाइको वर्तमान सरकारले जनपेक्षा अनुसार काम गर्न नसकेको जनाएको छ। कांग्रेसले सोमबार पत्रकार सम्मेलन गरेर गत बर्षको असफलताबाट पाठ सिकेर नयाँ वर्षमा जिम्मेवार हुन सचेत पनि गराएको छ।

बुढी गण्डकी परियोजना विना प्रतिस्पर्धा विदेशी कम्पनीलाई स्वयं प्रधानमन्त्रीले सुम्पनु राष्ट्रघात र भ्रष्टाचार किन होइन भन्दै कांग्रेसले प्रश्न गरेको छ। वुद्धिजीवीलाई थला पार्ने चेतावनी दिनु, विपक्षी दललाई नन्दीभृङ्गीको संज्ञा दिनु प्रधानमन्त्रीका आपत्तिजनक अभिव्यक्ति भएको भन्दै कांग्रेस भत्र्सनासमेत गरेको छ।

पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले जिम्मेवार अभिव्यक्ति र व्यवहार साथ जिम्मेवार ढंगले सरकारको नेतृत्व गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचेत गराउनु भएको छ। उहाँले २०७५ सालमा सरकारले काम गर्न नसके पनि अब छोटो समयमै प्रशस्त कार्य गर्ने अपेक्षा रहेको बताए । पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा विभिन्न सात बुँदामा सरकारप्रति व्यङ्ग्य गरिएको छ।

अधिकार वाँडफाँड, राज्यका तहगत संरचनाहरुको निर्माण र हस्तान्तरण, कर्मचारी समायोजन र उचित वजेट प्रवन्ध हुन नसकेको र केही प्रदेशहरुको नामाकरण र राजधानीको टुंगो समेत लगाउन नसकेको कांग्रेसले जनाएको छ। यस्तै संविधानले राष्ट्रिय सुरक्षा परिषदलाई प्रत्याभूत गरेको सेना परिचालन सिफारिसको अधिकार हनन् गर्ने विधेयक ल्याएर परिषद्लाई प्रधानमन्त्रीको लाचार छायाँ बनाउने दुस्प्रयास गरिएको कांग्रेसको आरोप छ।

यस्तै संविधानले संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षी नेताको अनुपस्थितिको परिकल्पना नगरेको अवस्थामा सरकारले संवैधानिक परिषद्लाई कार्यपालिका झै एक पक्षीय बनाउने दुस्प्रयास गरेको विज्ञप्तिमा उल्लेख छ। सरकारको अपरिपक्व र अदूरदर्शी शैलीका कारण अन्तराष्ट्रिय क्षेत्रमा मुलुकको छविमा ह्रास आएको, मुलुकमा तीव्र ढंगले खस्किएको शान्ति सुरक्षाको स्थितिप्रति प्रधानमन्त्री गम्भीर नदेखिएको कांग्रेसले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.