|

लहान : सन्तान प्राप्तिका लागि निःसन्तान दम्पत्तिले चाहेको खण्डमा चिकित्सा विज्ञानका अनेकौं विधिहरू उपलब्ध छन्।

सन्तान प्राप्त गर्न चिकित्सा विज्ञानका अनेकौं सुविधा उपलब्ध हुँदाहुँदै मानिसमा धार्मिक तथा सांस्कृतिक र आस्था कति गहिरो छ भन्ने कुराको पुटि हो। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ३ मा लाग्ने निःसन्तान दम्पतीको मेला। 

हरेक वर्ष वैशाख २ गते मेला लाग्ने पतारी पोखरी पूर्व पश्चिम सडकको धनगढीबाट करिब १० किलोकमिटर दक्षिण पर्छ। पतारी पोखरीमा सन्तान प्राप्तिको भाकल गर्दै आउने निःसन्तान दम्पतीहरुको विशेष मेला लागेको छ। हरेक वर्ष वैशाख २ गते लाग्ने मेलामा नेपालसँग सीमा जोडिएको उत्तरी भारतको मधुवनी, दरभंगा, जयनगर, सुपौलसहित नेपालका तराई र तराईले छोएका विभिन्न जिल्लाहरुबाट निःसन्तान दम्पतिहरू सन्तान प्राप्तिको भाकलसहित २४ घण्टासम्म ब्रत बसेर पोखरीमा डुबुल्की मार्न पुग्छन्। 

‘डुबुल्कीमा जीव भेटिए सन्तान’

करिब १० बिघा क्षेत्रफलमा फैलिएको पोखरीको दक्षिणी किनारमा रहेको मन्दिर (गहवर) को पूर्वी ढोकामा वैशाख १ गते साँझदेखि निरन्तर १८ घण्टासम्म उपवास बसेकी सन्तान चाहने महिला भोलिपल्ट मध्यान्ह गहवरभित्र रहने विशेष पूजा (कोकिया गुहाइर) बाट फूल अक्षता लिई गहवरको उत्तरी गेटबाट पोखरीमा हेलिनु पर्ने गहवरका ७५ वर्षीय पूजारी माधव सिंह बताउँछन्। पोखरीमा हेलिए लगत्तै पहिलो डुबुल्कीमा पानीभित्र कुनै पनि जीव भेटिने महिलाको सन्तान हुने पूजारी सिंहले बताए। 

डुबुल्की मार्दा पानीमा भेटिएको जीव मुठ्ठीमै राखेर कसैसँग पनि नबोली गाउँको सीमा काटेपछि पोखरीबाट निस्केका महिलाको पछि-पछि आउने आफन्तले कपडा फेरिदिने गर्दछन्। कपडा फेरेर आफ्नो घर पुगेपछि मुठीमा ल्याएको जीवको बुटी बनाएर ब्रत बसेका महिलाले पाखुरा या घाँटीको मालामा राख्दा सन्तान प्राप्त हुने जनविश्वास रहेको छ। 

वर्षको एकपल्ट पतारी पोखरीमा सन्तान माग्ने र सन्तान पाइसकेका दम्पतिहरूको विशेष भीड रहने लक्ष्मीपुर पतारी गाउँपालिका ३ का वडाध्यक्ष हनुमान मण्डलले बताए। वडाध्यक्ष मण्डलका अनुसार मनोकांक्षा पूरा भएका दम्पतिहरू बोका, परेवा, लड्डु, पान सुपारी लिएर पूजाका लागि आउने गर्दछन्। पतारी पोखरीमा डुबुल्की मार्न आएकी भारतको विहार मधुवनीकी २५ वर्षीया संगीता मण्डलले विवाह भएको पाँच वर्षसम्म पनि सन्तान नभएपछि विश्वास लागेर आएको बताइन्।

पतारी पोखरी किनारमा श्रीमतिसँगै भेटिएका भारतकै जयनगर जोगियाका ३२ वर्षीय उमेश सिंहले भने, ‘विवाह भएको १० वर्षसम्म पनि सन्तान नजन्मिएपछि आइतबार साँझदेखि नै ब्रत बसेकी पत्नी रेणुको हेरचाह गर्दैछु।’

लोकनायक सलहेशकै समयमा राजा हरिसिंहदेव बस्ने पतारी पोखरी क्षेत्र विसं १३२५ तिरदेखि अस्तित्वमा रहेको मानिएको पूजारी सिंहले उल्लेख गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.