लोकसभा निर्वाचनको माहोल भारतमा चरम सीमामा पुगेको छ। पहिलो चरणको चुनावमा मतदान भइसकेको छ। अब ६ चरणको चुनावमा मतदान हुन बाँकी छ।
यसैबीच चुनावी सभामा निर्वाचन आचारसंहिता विरुद्ध बोल्ने नेताहरूलाई चुनाव आयोगले प्रतिबन्ध र चेतावनी दिने क्रम बढेको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावी सभामा दिएका भाषणका कारण आयोगले पटकपटक पत्र पठाएर चेतावनी दिइसकेको छ।
यसैबीच चुनावी आचारसंहिताविरुद्ध चुनाव प्रचारका क्रममा अभिव्यक्ति दिने नरेन्द्र मोदी नेतृत्वको सरकारमा रहेकी मन्त्री मेनका गान्धीलाई चुनाव आयोगले प्रचार गर्न प्रतिबन्ध लगाएको छ।
सुल्तानपुर लोकसभा सिटबाट भारतीय जनता पार्टीकी उम्मेदवार तथा मन्त्री मेनका गान्धीलाई ४८ घण्टाका लागि चुनाव प्रचार प्रसार गर्न प्रतिबन्ध लागेको हो। उनले मुस्लिमहरूले भोट नदिए उनीहरूका लागि काम नगर्ने अभिव्यक्ति दिएकी थिइन। उनले जुन क्षेत्रबाट आफूलाई भोट आउदैन उक्त क्षेत्रमा विकासका काम नगर्ने पनि चेतावनी दिँदै आएकी थिइन। उनका आचारसंहिता विरुद्धमा अभिव्यक्ति नरोकिएपछि आयोगले प्रतिबन्ध लगाउनुपरेको हो।
आजम खान
त्यसैगरी, समाजवादी पार्टीका उम्मेदवार आजम खानलाई पनि ७२ घण्टाका लागि चुनाव प्रतार प्रसारमा प्रतिबन्ध लागेको छ। उनले प्रतिद्वन्द्वी जया प्रदाविरुद्ध अश्लील टिप्पणी गर्दै आएका थिए।
यसअघि चुनाव आयोगले उत्तर प्रदेशका मुख्यमन्त्री तथा भाजपाका स्टार प्रचारक योगी आदित्यनाथ र बहुजन समाजवादी पार्टीकी अध्यक्ष मायावतीलाई पनि प्रचारप्रसार गर्न प्रतिबन्ध लगाइसकेको छ। उनीहरूले बारम्बार चुनावी आचारसंहिता विरुद्ध अभिव्यक्ति दिएकाले प्रतिबन्ध लगाउनुपरेको चुनाव आयोगले जानकारी दिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।