|

काठमाडौं : नेपाली कांग्रेसमा निर्वाचनमा अन्तर्घात गर्ने नेता कार्यकर्तालाई कारवाहीका लागि विभिन्न जिल्लाबाट थप १२० उजुरी परेका छन्। कांग्रेसले पार्टी हितविपरीत क्रियाकलापमा संलग्न र अनुशासन उल्लङ्घन गर्ने सदस्यको नाम एक साताभित्र उपलब्ध गराउन भनी गत चैत २४ गते सबै जिल्ला कार्यसमितिलाई पत्राचार गरेको थियो।

पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले गत स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र निजका प्रस्तावक तथा समर्थक भएका पार्टी सदस्यको नामावली सबै जिल्लाबाट सात दिनभित्र उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको थियो। 

समितिले काङ्ग्रेस परित्याग गरी अन्य राजनीतिक दलमा गएका व्यक्तिको नामावली पनि सङ्कलनका लागिसमेत पत्राचार गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए। 

पार्टी केन्द्रीय कार्यसमितिको गत चैत ४ गते बसेको बैठकले केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बेको संयोजकत्वमा केन्द्रीय सदस्य किशोरसिंह राठौर, देवेन्द्रराज कँडेल, उमाकान्त चौधरी र धनराज गुरुङ सदस्य रहेको अनुशासन समिति गठन गरेको थियो।

पार्टी केन्द्रीय कार्यालयमा यसअघि ५० जिल्लाबाट करीब ५०० नेता कार्यकर्ताविरुद्ध पार्टी हितविपरीत कार्य गरेको भनी कारवाहीका लागि उजुरी परिसकेको छ। त्यसमध्ये छानबिन गरी करीब १५४ लाई स्पष्टीकरण सोध्ने निर्णय भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.