|

कालीकोट : जिल्ला सदरमुकाम मान्ममा खानेपानीको चरम अभाव भएको छ। वितरणमा समस्या आएकाले दुई महिनादेखि खानेपानीको चरम अभाव सिर्जना भएको हो।

खानेपानीको अभाव हुँदा टाढाबाट बोकेर जोहो गर्नु परेको सामाना होटेलका सञ्चालक रत्नबहादुर शाहीले बताए। ‘सदरमुकाममा नै खानेपानीको चरम अभाव छ,’ उनले भने, ‘खानेपानी उपभोक्ता समिति र खानेपानी कार्यालयको लापरवाहीले हामीले खानेपानी पाएनौं।’

खानेपानी उपभोक्ता समितिले वितरण प्रणालीमा गरेको लापरवाहीका कारणसमस्या भएको होटेल चन्द्रसूर्यका सञ्चालक जनकबहादुर शाहीले बताए। ‘खानेपानी उपभोक्ता समितिले केबल पैसा मात्र उठाउने गरेको छ,’ उनले भने, ‘खानेपानी पिउनबाट यहाँका नागरिक बञ्चित छन्।’

खानेपानी समस्याबारे खानेपानी कार्यालय र उपभोक्ता समितिलाई जिल्ला प्रशासन कार्यालयले पत्र पठाएर खानेपानीको समस्या हल गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख चन्द्रबहादुर कार्कीले बताउँछन्। ‘खानेपानी समस्या समाधान गर्न हामीले सम्बन्धित निकायलाई पत्र पठाएका छौं,’ उनले भने, ‘खानेपानीको समस्या चाँडै सामाधन हुन्छ।’

पलाताँमा झन् समस्या

पलाँता गाउँपालिका–२ को बान्जाडा जिल्लाकै सबैभन्दा बढी खानेपानी अभाव भएको क्षेत्र रहेको एक अध्यायनले देखाएको छ। वाटर एडले गरेको अनुसन्धानले यस्तो देखिएको हो। 

बान्जाडाका १८२ घरधुरीका लागि एउटा मात्र खानेपानी धारा रहेको अनुसन्धानले देखाएको छ। वडा नम्बर २ का लागि २३ किलोमिटर टाढाबाट खानेपानी ल्याउने काम भइरहेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए। ‘त्यहाँको खानेपानी आयोजनाका लागि गाउँपालिकाले १० करोडभन्दा बढी लगानी गर्ने तयारी गरेको छ,’ उनले भने, ‘खानेपानीको समस्या चाँडै हल गर्ने तयारीका साथ लागेका छौं।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.