|

सल्यान : आर्थिक आयआर्जन बढाउन सामुदायिक वनका उपभोक्ता पछिल्लो समय अम्रिसो खेतीतर्फ आकर्षित भएका छन्। अम्रिसोको माग पछिल्लो समय बढ्दै गएपछि सामुदायिक वनका उपभोक्ता अम्रिसो खेतीमा आकर्षित भएका हुन्। 

सामुदायिक वनको खाली र नाङ्गो डाँडामा सामान्य मेहनतमा अम्रिसो खेती गरेर मनग्य आम्दानी गर्न थालेपछि आकर्षण बढेको कालीमाटी गाउँपालिका–३ मा रहेको धनारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नैनसिहं थापाले बताए।  गत वर्ष ६ हेक्टर क्षेत्रफलमा लगाइएको अम्रिसोबाट यस वर्षदेखि आम्दानी हुन थालकेो उनको भनाइ छ। वन समितिको २४१ हेक्टर क्षेत्रफलमध्ये पहिलो वर्ष ६ हेक्टर क्षेत्रफलमा अम्रिसो खेती गरिएको छ।

सामुदायिक वनमा आवद्ध १० विपन्न परिवारलाई पाँच वर्षका लागि जग्गा भाडामा दिइएको समितिका मानबहादुर खत्रीले बताए। समुदायका अति विपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि भाडामा दिएको खत्रीको भनाइ छ। उक्त जग्गामा २० हजार वटाभन्दा बढी अम्रिसोको बिरुवा लगाइएको छ।

पहिलो वर्ष नै १०० भन्दा बढी अम्रिसोको कुचो बिक्री भइसकेको समितिका उपभोक्ता गंगा बिकले जानकारी दिइन्। बिक्रीबाट भएको आम्दानी घुम्ती कोषमा जम्मा गर्ने गरेको उनको भनाइ छ। अम्रिसो फस्टाउदै गएको र आम्दानी पनि बढ्दै गएको उपभोक्ताहरुको भनाइ छ।

भारतका विभिन्न स्थानमा मजदुरी गर्दा धेरै दुःख पाएकाले गाउँमै केही गर्न अम्रिसो खेतीमा लागेको दिलबबहादुर नेपालीले बताए। ‘गत वर्ष मात्र लगाएको अम्रिसो फैलिएको छ,’ उनले भने, ‘अर्को वर्षदेखि आम्दानी लिने आशा गरेका छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.