२३ वर्षदेखि बन्दै खानेपानी आयोजना

|

पर्वत : कहीँ निर्माणको जिम्मा लिएकाहरूको लापरबाही, कहीँ बजेटको अभाव त कहीँ निर्माणको क्रममा रहेका योजनालाई संघ वा प्रदेश कुन सरकारले हेर्ने भन्ने यकिन नहुँदा पर्वतमा निर्माणाधिन अवस्थामा रहेका योजनाहरू अलपत्र परेका छन्। कतिपय योजनाहरू सम्पन्न भएर पनि अलपत्र छन्। निर्माणको बेलामा प्राविधिक पक्षलाई ध्यान नदिइएका कारण करोडौँ रुपैयाँ खर्चेर निर्माण सम्पन्न भएका योजनाहरू त्यसै छोडिएका छन्। कम बजेट भएका साना योजना जिल्लाका विभिन्न ठाउँमा लामो समयदेखि अलपत्र परेका छन्। 

जिल्लामा अलपत्र अवस्थामा रहेका योजनाहरूमध्ये साबिकको धौलागिरि अञ्चलको एक मात्र महिला बन्दी गृह, जिल्लाकै पहिलो व्यवस्थित बसपार्क, घुम्ती खनियाघाट सडक लगायतका योजनाहरू रहेका छन्। तर यिनै आयोजनाहरू जिल्लाका लागि निकै महत्त्वपूर्ण मानिएका छन्। 

सरकारले लाखौँ र करोडौँ रुपैयाँ लगानी गरिसकेका यस्ता आयोजना पूरा नहुनुको कारणबारे सम्बन्धित निकायले आवश्यक पहल गरेमा भने लगानी खेर जाने छैन। जिल्लामा निर्माण सुरु गरेर वा निर्माण पूरा गरेर पनि अलपत्र परेका मुख्य ६ ओटा आयोजनाहरूको अवस्था यस्तो छ।
 
महिला बन्दी गृह : ९ वर्षमा १० प्रतिशत काम

साबिकको धौलागिरि अञ्चलका चार जिल्लाहरू पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई समेट्ने गरी निर्माण थालिएको एक मात्र महिला बन्दी गृह ९ वर्षदेखि अलपत्र अवस्थामा छ। 

१० वर्ष अगाडि ७२ लाखको योजनामा बन्दी गृह निर्माणको काम सुरु गरिएको थियो। तर १४ लाख रुपैयाँ मात्र बजेट आएपछि १४ लाखको काम गरेर बन्दी गृह नै अलपत्र परेको छ। १४ लाख रुपैयाँ गृह निर्माण स्थल सम्याउने, जग राख्ने र दुई तर्फको भित्ता निर्माण गर्ने काम सकिएको छ। तर आवश्यक परेको बजेट नआउँदा ९ वर्षअगाडि इँटाबाट निर्माण गरिएका भित्ताहरू समेत पल्टने अवस्थामा पुगेका छन् भने बन्दी गृह निर्माण गर्न लागिएको ठाउँमा बुट्यान र घाँसले ढाकेको छ। २५ जना क्षमताको उक्त बन्दी गृह निर्माण कार्य पूरा गर्नको लागि पटक पटक सम्बन्धित निकायमा रकम माग गर्दा पनि निकासा नभएपछि तत्कालीन समयमा आएको १४ लाख रुपैयाँको काम बालुवाको पानी बनेको छ।

जिल्ला कारागार कार्यालयका निमित्त प्रमुख प्रकाश पौडेलले निर्माण कार्य पूरा गर्नका लागि हरेक वर्ष बजेटको माग गरिएको भए पनि कहीँ कतैबाट बजेट विनियोजन नहुँदा योजना अलपत्र परेको बताए। ‘अलपत्र अवस्थाको बन्दी गृह सम्पन्न गर्न बर्सेनि बजेट माग गरेको भए पनि कुनै सुनुवाइ भएको छैन, आर्थिक अभावले पूर्णता दिन सकिएको छैन।’ उनले भने।

२०६६ सालको माघ महिनामा माघबाट निर्माण सुरु गरिएको बन्दीगृहको काम १० प्रतिशत मात्र सकिएको छ। एक वर्षभित्रमा  निर्माण गरिसक्ने भनिएको बन्दीगृहको काम निर्माण सुरु गरेको ९ वर्ष हुँदा ९० प्रतिशत काम बाँकी रहेको छ। 

महिलाका लागि छुट्टै बन्दी गृह निर्माण गरिएको धौलागिरि क्षेत्रकै यो पहिलो हो। उक्त गृहमा बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङका महिला बन्दीलाई राख्न मिल्ने गरी निर्माण गर्न सुरु गरिएको थियो। महिला बन्दी गृह निर्माण हुन नसकेपछि कारागारभित्रै विभाजन गरेर दुई भागमा महिला पुरुषलाई राखिएको छ। क्षमताभन्दा तेब्बरको संख्यामा कैदी बन्दी राख्नुपर्दा निकै समस्या परेको कार्यालयले जनाएको छ। 

अलपत्र बसपार्क निर्माण 

पर्वत सदरमुकाम कुस्मा बजार साबिकको धौलागिरिका चार जिल्लाहरू पर्वत, बागलुङ, मुस्ताङ र म्याग्दी प्रवेश गर्ने सबैभन्दा बढी चलेको नाका हो। यी जिल्लाहरूमा आउजाउ गर्ने सयौँका संख्याका सवारी साधनहरू पर्वत आउँदा सडककै छेउमा पार्किङ हुने गरेका छन्। 

१ करोड ५९ लाख रुपैयाँ बजेट विनियोजन गरेर निर्माणको काम प्रारम्भ गरिएको भए पनि यो काम अलपत्र अवस्थामा छ। तत्कालीन जिल्ला विकास समितिले बसपार्क निर्माणका लागि पहल गरे पनि बजेट अभाव भएकै कारण पर्वत जिल्लाले व्यवस्थित बसपार्क पाउन सकेको छैन।  

बसपार्क निर्माणका लागि तयार पारिएको गुरुयोजना हालसम्म पनि पूरा हुन सकेको छैन। बसपार्क निर्माणका लागि करिब १२ रोपनी जग्गा प्रस्ताव गरिएको छ। तत्कालीन जिल्ला विकास समिति मार्फत काम सुरु गरिएकोमा १८ लाख रुपैयाँ बजेट त विनियोजन भयो तर बाँकी बजेट आउन नसक्दा जिल्लाको प्रतीक्षित मानिएको योजना नै तहसनहस अवस्थामा छ। २०६७ सालबाट निर्माण थालिएको बसपार्कको हालसम्म १५ प्रतिशत काम मात्र पूरा भएको बसपार्क निर्माण समितिका अध्यक्ष एकनारायण गिरिले बताए। कुल ८ रोपनी क्षेत्रफलमा निर्माण सुरु गरिएको बसपार्क सम्पन्न भएपछि स्थानीयलाई आवतजावतमा सहज हुने अपेक्षा थियो।

बसपार्कको अभाव भएपछि सवारी धनीहरूले आ–आफ्नो घरअगाडि सवारी साधन राख्ने गरेका छन्। व्यवस्थित बसपार्क नहुँदा सवारीसाधनका महत्त्वपूर्ण पार्टपुर्जा चोरी हुने गरेको बसधनीहरूको गुनासो छ।  बसपार्कको अभावले सवारीसाधन व्यवस्थापनमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामकृष्ण गौली बताउँछन्।

२०७१ सालमा कुस्मा नगरपालिका घोषणा भएको भए पनि नगरपालिकाले अहिलेसम्म बसपार्कका लागि आवश्यक बजेट विनियोजन गर्नतर्फ चासो देखाएको छैन। बसपार्कका लागि ठूलो बजेट चाहिने र थोरै बजेट कनिका छरेजस्तो हुने हुनाले बसपार्कको लागि उचित बजेट छुट्ट्याउन नसकिएको नगरपालिकाका कर्मचारीहरू बताउँछन्।

जिल्लाकै एक मात्र बसपार्क समेत १० वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नहुनुले सरोकारवालाहरूको गैर जिम्मेवारपन प्रमुख कारण देखिएको छ।

१० वर्षदेखि अलपत्र वायु ऊर्जा

२०६३ सालमा पर्वतको महाशिला गाउँपालिका ६ फलामखानीमा हावाबाट बिजुली निकाल्ने भनी एक करोडको लागतमा वायु ऊर्जा केन्द्र निर्माण भयो। 

निर्माण पूरा भएर एक वर्षसम्म विद्युत् उत्पादन गरिरहेको आयोजना अहिले अलपत्र अवस्थामा छ। केन्द्रबाट विद्युत् उत्पादन गर्न बन्द भयसँगै केन्द्रमा जोडिएका लाखौँ मूल्यका सामग्रीहरू अलपत्र छन्। कतिपय मसिनरी सामग्रीहरूको अब अवशेष मात्र बाँकी रहेका छन्। निर्माणका बेलामा एक करोड रुपैयाँको लगानी गरिएको भए पनि त्यसपछि आवश्यक मर्मत र सुधारका लागि कतैबाट पनि बजेट नगएपछि मर्मतकै अभावमा एक वर्षमै केन्द्र अलपत्र बनेको हो।

लथालिंग अवस्थामा रहेको वायु ऊर्जा केन्द्रलाई पुनः सञ्चालन गर्न सम्बन्धित निकायलाई स्थानीयवासीले माग गरे पनि कसैले सुनेका छैनन्। हरेक पटकका निर्वाचनको बेलामा नेतादेखि नेताका सहयोगीहरूले वायु ऊर्जा सञ्चालन गर्ने योजना रहेको भन्दै भोट माग्ने गरेको भए पनि विजयी बनेसँगै कुनै पनि नेताले वायु ऊर्जा केन्द्रका बारेमा नबोलेको स्थानीय गोविन्द विश्वकर्माले बताए।

समुद्री सतहदेखि २२ सय मिटरको उचाइमा रहेको अत्यधिक हावा लाग्ने पर्वतको फलाम खानी ढडेनको डाँडामा उक्त वायु ऊर्जा केन्द्र स्थापना गरिएको थियो। करिब १२ किलोवाट क्षमताको उक्त केन्द्र सञ्चालनमा आएपछि फलाम खानी, भंगरा लगायतका करिब एक सय ५० घरधुरीका बासिन्दा प्रत्यक्ष लाभान्वित भएका थिए। 

२३ वर्षदेखि बन्दै खानेपानी आयोजना

जिल्लाको कुस्मा नगरपालिका १२ ठूलीपोखरीमा २०५२ सालमा निर्माण भएको टुनीखोला आयोजना निर्माण पूरा हुँदासाथ नै अलपत्र परेको छ। २३ वर्षअगाडि जिल्लाको गौरवको योजना मानिएको खाने पानी आयोजनाबाट स्थानीय झन्डै ४ सयभन्दा बढी घरधुरीलाई प्रत्यक्ष फाइदा पुगेको थियो। पानीको चरम समस्या रहेको ठूलीपोखरीका बासिन्दाले सोचेका थिए, अब सधैँका लागि खानेपानीको समस्या टर्ने भयो। तर, उनीहरूको त्यो सपना भने एक वर्षमै भताभुंग भयो। करिब एक वर्षसम्म धारामा पानी त्यसपछि बिस्तारै धारामा पानी आउन छोड्यो। अहिले आयोजनाको रिजर्भेसन ट्यांकी मात्र देख्न पाइन्छ, पानी खस्ने दाराहरूको त अवशेष पनि बाँकी छैन। 

वडाध्यक्ष राजेन्द्र पौडेलका अनुसार टुनीखोलामा रहेको पानीको मुहान र पानी जम्मा गरेर गाउँमा वितरण गर्नका लागि निर्माण गरिएको रिजर्भेसन ट्यांकबीचको उचाइको तह नमिलाईकन निर्माण गरेका कारण नै निर्माण पूरा गर्ने बित्तिकै आयोजना बन्द भएको हो। ‘आयोजना बन्द हुनुमा उपभोक्ताको दोष छैन। त्यो बेलाका प्राविधिकहरूका कारण नै आयोजना बन्द भएको हो’ उनले भने, ‘आयोजनाअन्तर्गत पानीको मुहानभन्दा पानी संकलन गर्ने रिजर्भेसन ट्यांकी उचाइमा छ, अनि पानी नै ट्यांकीमा नगएपछि त आयोजना बन्द हुने नै भयो।’ 

त्यो २३ वर्ष अगाडीको एक करोड अहिलेको पैसासँग तुलना गर्दै निकै महँगो पर्छ। आयोजनासँग सम्बन्ध राख्ने सरोकारवाला निकायहरूले पनि बेवास्ता गर्दा बिग्रिएको कामलाई सच्याउन सक्ने कोही भएनन्। आयोजनाअन्तर्गत रिजर्भेसन ट्यांकीलाई पानीको मुहानभन्दा तल पर्ने गरी निर्माण गर्ने हो भने आयोजना अझै पनि सुचारु हुन सक्ने स्थानीय शिक्षक राजु सापकोटाले बताए। उपभोक्तादेखि सरकारी निकायसम्मले अलपत्र आयोजनाको बारेमा चासो नदिँदा ठूलीपोखरीमा सधैँ भरी पानीको अभाव हुने गरेको उनको भनाइ छ।

ट्यांकी सारेर आयोजना सुचारु गर्ने गरी अहिले भने गण्डकी प्रदेश मन्त्रालयमा झन्डै ४ करोड रुपैयाँ सोही आयोजनाको लागि विनियोजन गर्ने गरी कुराकानी भइरहेको वडाध्यक्ष पौडेलको भनाइ छ। 

ठेकेदार सम्पर्कविहीन हुँदा अलपत्र कुस्मा-खनीयाघाट वैकल्पिक सडक

जिल्लाको कुस्मा नगरपालिका २ घुम्तीदेखि जलजला गाउँपालिका ८ खनियाघाट जोड्ने गरी निर्माण आरम्भ गरिएको सडकको केही भाग ट्रयाक खुलाएपछि अलपत्र परेको छ। घुम्ती लाम्पाटा हिमालय मावि खुर्कोट पाङ नुवार खनियाघाट नाम दिइएको सडकलाई कुस्माबाट म्याग्दी पुग्ने सडकको वैकल्पिक सडकको रूपमा विकास गर्न लागिएको थियो।

विस २०७३ सालमा जयबाबा गोरख ओखलढुङ्गा कन्स्ट्रक्सन एन्ड सप्लायर्सले सडक निर्माणको लागि ठेक्का सम्झौता गरेको थियो। २०७५ सालको असारसम्ममा कालोपत्रेसहित सडकको काम सक्ने गरी ६ करोड ९६ लाख ९० हजार ६ सय ३१ रुपैयाँमा निर्माण कम्पनीले ठेक्का लिएको थियो। १५ किलोमिटर लामो सडकको हालसम्म ३ सडक मात्र निर्माण भएको छ। खनियाघाट लगेर कुस्मा म्याग्दी सडकमा जोड्ने भनिएको सडक खुर्कोटमा पुगेर अड्किएको छ। निर्माण कम्पनीले अहिलेसम्म ३ करोड ६७ लाख ६८ हजार १ सय ६३ रुपैयाँ भुक्तानी पनि लगिसकेको छ।

स्थानीयबासीले सडक निर्माणको काम छिटो हुनुपर्ने माग गर्दै पटकपटक जिल्ला प्रशासन कार्यालय पर्वत र सडक डिभिजन कार्यालय बागलुङमा पुगेर ध्यानाकर्षण गराएका छन्। तर उनीहरूको ध्यानाकर्षणप्रति कसैको पनि ध्यान जान भने सकेन। निर्माण कम्पनीले सडक निर्माणमा विभिन्न बहानाबाजी गर्दै आएको छ भने पछिल्लो समय संघ वा प्रदेश कुन सरकारले उक्त सडकको जिम्मा लिने? भन्ने यकिन नहुँदा काम अगाडि बढ्न सकेको छैन।

गृह मन्त्रालयले कामको जिम्मा लिएर पनि काम पूरा नगरेका ठेकेदारहरूलाई कारबाही गर्ने भन्ने योजना ल्यायो, जिल्ला प्रशासन कार्यालयबाट त्यस्ता ठेकेदार र कम्पनीको सूची पनि मागिएको थियो। समयमै काम पूरा नगरेको ठेकेदार कम्पनीप्रति भने जिल्ला प्रशासन कार्यालयको नजर पर्न सकेन। गृहले सूची माग गरेका बेला प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललाई सम्पर्क गर्दा उनले काम पूरा नगरेका ठेकेदारहरूलाई समयमै काम सक्न भनिएको र गृहमा कसैको पनि सूची नपठाइएको बताएका थिए। 

तरकारी उत्पादनमा पकेट क्षेत्र मानिएको कुस्मा नगरपालिका १ पाङ र २ खुर्कोटका नागरिकलाई निकै छोटो पर्ने गरी निर्माण सुरु गरिएको सडकको ट्रयाक मात्र खोलिएका कारण पैदल यात्रा गर्नेहरूलाई झनै सास्ती भएको छ। साबिकको घोडेटो बाटो डोजर लगाएरभत्काएर त्यतिकै छोडिएका कारण पैदलयात्रीको बाटो समेत बन्द भएको छ।

बनेन ६ करोड १३ लाखको पुल

पर्वतको मोदी गाउँपालिका १ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका ८ जोड्ने भुरुङ्दीखोला माथिको निर्माणाधिन पुल झन्डै चार वर्षअघि निर्माण सुरु भए पनि अलपत्र रहेको छ। निर्माण सुरु भएको केही महिनामै ठेकेदारले काम छाडेर हिँडेपछि पुल अलपत्र परेको थियो। प्रतिनिधिसभाका सांसद पद्यम गिरीले समयमै काम नसकिएपछि ढिलै भए पनि काम सकाउन निर्माण कम्पनीसँग कुरा गरेपछि अहिले भने कास्कीको अन्नपूर्ण गाउँपालिकाको भागमा पुल निर्माणको लागि खाडल खन्ने काम सुरु भएको छ। 

समयमा पुल नबन्दा पर्वतको भुकताङ्लेका बासिन्दा वर्षायाममा यातायातको सुविधाबाट वञ्चित हुँदै आएका छन्। पर्वत र कास्कीको सिमानामा पर्ने रामदुवालीमा लामो समयदेखि भुकताङ्लेबासीले पक्की पुलको माग गर्दै आएका थिए। छ करोड १३ लाख रुपैयाँको लागतमा बन्न लागेको पुल चालु आर्थिक वर्ष ०७४/०७५ मा सम्पन्न गर्नुपर्ने भए पनि अझै धेरै काम बाँकी रहेको छ। पुलको एकातर्फको पिल्लरमाथि उठाइएको छ । सडक डिभिजन कार्यालय बागलुङमार्फत यो पुलको निर्माण जिम्मा पोखराका राजेन्द्र भण्डारीले लिएका थिए। भण्डारीले विभिन्न समस्याले पुल निर्माण रोकिएको बताए। 

मोदी गाउँपालिका अन्र्तगत भुक, ताङ्ले, लप्सीबोट लगायतका बासिन्दा सदरमुकाम कुस्मा, प्रदेश राजधानी पोखरा तथा नजिकको बजार बिरेठाँटी, नयाँपुल पुग्नका लागि भुरुङ्दीखोलामाथि बन्न लागेको यो पुल अत्यावश्यक छ। प्रतिनिधिसभा सदस्य पदम गिरीले रोकिएका योजनालाई तत्काल निर्माण सुरु गरी सम्पन्न गर्न आफ्नो मुख्य अभियान रहने बताएका छन्। उनले विभिन्न पुलको अवलोकन तथा अनुगमन गर्दै निर्माण व्यवसायीलाई छिटो सम्पन्न गर्न दबाब दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.