देवीदेवतालाई ढाँट्दाको परिणाम दु:खदायी

|

विष्णुकुमार आले

अर्घाखाँची :  गोरूसिंगे सन्धिखर्क सडक खण्डको सितगंगा र सन्धिखर्क नगरपालिकाको सीमाक्षेत्रको अग्ला पहाडको खोचमा  अवस्थित सुपादेउराली मन्दिर प्रदेश ५ को धार्मिक आस्थाको प्रमुखस्थल बन्दै गएको छ।  

मुलुकी ऐनअनुसार, वैशाखेपूर्णिमा अर्थात् बुद्जयन्तीका दिन बलिपूजा गर्न नपाइने भने पनि यसैदिन ठकुरी, कब्दार र खड्काको कुलपूजा पर्ने कारण उनीहरूलाई छुट दिएको मन्दिर व्यव्थापन समितिका अध्यक्ष प्रितम थापाले बताए। उक्त दिन कम्तीमा १ सय ५० देखि ३ सय बढी बोका चढाइन्छन्। सुरुका दिनहरूमा वर्षको १ पटक अर्थात् वैशाखे पूर्णिमाका दिन मात्रै पूजा गरिने यो स्थानमा २०४० सालमा स्थानीय बाबुराम रायमाझीले सामान्य मन्दिर निर्माण गरेपछि पूजा सुरु हुन थालेको हो।

त्यसपछि मन्दिर संरक्षणका लागि समिति बन्यो र दैनिक पूजाआजा सुरु हुन लाग्यो। परम् पूजनीय गुरु श्री नरनारायण बाबा आश्रम सेवा संस्थाको सहयोगमा ०६४ मङ्सिर ८ गते यो मन्दिर पुन र्निर्माणका लागि शिलान्यास भई ०६५ भदौ २३ गते प्राचीन शैलीमा ऐतिहासिक मन्दिर सम्पन्न भएको हो। परम् पुजनीय गुरु श्री नरनारायण बाबा आश्रम सेवा संस्थाले रु १ करोड २५ लाख र मन्दिरको तर्फबाट १५ लाख खर्च गरी मन्दिर निर्माण गरिएको हो। अहिले यस मन्दिरको महत्व झन बढ्दै गएपछि दर्शनार्थीको संख्या पनि बढ्दै गएको छ।

भारतदेखि आउँछन् भक्तजन

पछिल्लोपटक महिनाको ४ शनिबार अझ दर्शननार्थीहरूको घुइँचोले सुपा लाहुरे बजारदेखि नरपानी बजारसम्म सडकमा भक्तजनहरूको भीड हुनुका साथै गाडीहरूले भरिने गर्दछ। मन्दिरमा देशका विभिन्न जिल्लाबाट भक्तजनहरू आउने गर्दछन्। त्यति मात्र होइन भारतको हरियाणा, लखनउ, दिल्ली ,पन्जाबलगायत भारतको विभिन्न ठाउँबाट पनि भक्तजन आउने गर्दछन्। दैनिकजसो ५० हजारदेखि १ लाख ५० हजार बढी नगद आम्दानी हुने गरेको अध्यक्ष थापा बताउँछन्।  

वि.सं १९१६ मा बाइसे–चौबीसे राज्यअन्तर्गत खाँचीकोटका राजकुमार र बलरामपुरको राजकुमारीबीच विवाह सम्पन्न भएपछि सीतापुर मसानदेवी ठाउँमा विवाह भोजमा दुवैतर्फका मान्छेहरू जुटेका बेला खाँचीकोटका राजाले बलरामपुरकी राजकुमारीलाई झुक्याएर विवाह गरेको र दुलहीलाई जात नमिलेको भन्ने विवाद उत्पन्न भयो। विवादपछि दुलहीलाई डोलीमा बोकेर राजकुमारको घरतर्फ लिएर जाने क्रममा यो स्थानमा एउटा रगतको थोपा चुहिएको र के भयो भनी डोलेहरूले फर्केर हेर्दा दुलही मृत अवस्थामा भेटिएपछि खाँचीकोट राज्यमा रोगव्‍याधी व्यापक बन्दै गएको किवंन्दतीमा उल्लेख छ।

यसैक्रममा एकजना खनाल थरका बाहुन आएर धामीझाँक्री कवल्दा देवीको रूपमा राजकुमारी प्रकट भएको र रगतको थोपा चुहिएको स्थानमा देवीको पूजाआजा गरेपछि सम्पूर्ण रोगव्याध हट्ने विश्वास गरिन्छ। ठकुरी, कब्दार अनि खड्काले वैशाख पूर्णिमामा कुलपूजा र बलिदान सुरु गरेको स्थानीय बताउँछन्।

भेटीबाट विद्यालय सञ्‍चालन

यो सडकमा चल्ने सबै सवारीका गाडीहरू मन्दिरमा भेटी नचढाईकन अगाडि बढ्दैनन्, आफू अप्ठ्यारोमा परेको समय वा मनोकामना पूरा गर्नुछ भने यो मन्दिरलाई सम्झिएमा वा भाकल गरेमा पूरा हुने कुरामा जनविश्वास रहिआएको छ। नेपालका विभिन्न स्थानमा यो मन्दिरका शाखाहरू निर्माण गरिएको छ। मन्दिरमा उठेको भेटीबाट श्री आदर्शमाबी खाँचीकोट र शान्ति निमावि सीतापुर गरी दुईवटा विद्यालय सञ्चालन गरिएको छ। मन्दिर सञ्‍चालनका लागि दैनिक ८ देखि १० जना कर्मचारीलाई मासिक तलब दिएर राखिएको छ।

यो मन्दिरमा संकलन रकमबाट आर्थिक विपन्नता भएकालाई आर्थिक सहायता, छात्रवृत्ति, वृद्धहरूलाई सम्मान,सडक निर्माण,सीतापुर र खाँचीकोट गाविसलाई खानेपानी, बिजुली, टेलिफोन, स्वास्थ्यचौकीमा  सहयोगसमेत गरिएको अध्यक्ष थापाले बताए। बचत भएको रकम मन्दिरको खातामा राखिने गरिएको मन्दिर व्‍यवस्थापन समितिका उपाध्यक्ष गोवर्धन थापा बताउँछन्। सुपादेउराली मन्दिरभित्र नवदुर्गा, महाकाली, महालक्ष्मी, महासरस्वती, शिवजी,गणेश, पाञ्चायन देवता, सिद्ध, झाँक्रीलगायतका मूर्तिहरू छन्।

पहरामा टाँसिएको लाहुरेको चित्र

पहरामा टाँसिएको लाहुरेको चित्र र उसले बोकेको ब्याग छर्लंग देख्न सकिन्छ। यसको आफ्नै कथा छ। एकजना बाटो हिँड्ने युवकले ‘देवी म लाहुरे सेनामा भर्ती हुन पाऊँ, छुट्टीमा पहिलोपटक म घरमा आउँदा मैले भाकल गरेको चढाउनेछु,’ भनी भाकल गर्‍यो र ऊ भर्ती पनि भयो। केही समयपछि लाहुरे छुट्टीमा फर्कियो। लाहुरेले भाकल पूरा नगरी बाटो छलेर जान लाग्दा लाहुरे पहरामा टाँसिएको दृष्य अहिले पनि हामीले देख्न सक्ने स्थानीय बताउँछन्। यस मन्दिरमा दैनिक ३ दर्जनदेखि ८ दर्जन पाठा र पाठीको बलि चढाइन्छ भने  कम्तीमा १ सय जोडी परेवा यो मन्दिरमा दैनिक उढाउने गरेको मन्दिरका मूलपूजारी गिरिराज खनालले बताए।

केबलकारको आवश्यकता

औंशी, पूर्णिमा, श्राद्ध, श्रावण र माघ महिना, अष्ट तृतीया, जन्माष्टमी, रामनवमी र एकादशीमा यो मन्दिरमा बलिपूजा गरिन्न। सुपादेउराली मन्दिर र लाहुरे टाँसेको स्थानले मात्रै लोकप्रिय बनेको यो स्थानभन्दा करिब १ आधा घन्टा पैदल यात्रा गर्ने हो भने शिवजीले ३ पानेमा नुहाउने स्थान,बाघको रूप धारण गरी घाम ताप्ने गरेका शिवको मूर्तिहरू अनि शिवजीले होमन र यज्ञ गरेका स्थानहरू देख्न सकिन्छ।

निर्वाचनका बेला मन्दिरदेखि वारिपारि रहेका अग्लो चुचुरोमा केबलकार निर्माण गरिने नेताहरूले उद्घोष गरे पनि यसको गुरुयोजना तयार गरी प्रक्रिया अगाडि बढ्न सकेको छैन। केबलकार निर्माण गरि भक्तजनहरू केबलकार चढेर विभिन्न प्रसिद्ध क्षेत्रको अवलोकन गर्न पाउने व्यवस्था हुन सकेमा मन्दिरको महिमा अझ बढ्ने निश्चित छ।

देवीदेवतालाई ढाँट्दाको परिणाम दु:खदायी 

केबलकार निर्माण गर्न सकिन्छ तर इच्छाशक्ति हुनुपर्ने  मन्दिर सञ्‍चालन समितिका सचिव यादव घिमिरे बताउँछन्। सितगंगा र सन्धिखर्क नगरपालिकाको सीमा क्षेत्रमा सुपादेउराली मन्दिर रहेकाले मन्दिरमा भएको आयस्रोतको रकम आधा आधा नगर विकास र मन्दिर विकासमा लगाउन सितगंगा र सन्धिखर्क नगरपालिकाको ठूलो जिम्मेवारी हुनुपर्दछ। आफूले सोचेको कुरा पूरा भएपछि पहिलोपटक देउरालीमाईको दर्शन गर्न आएको पोखरा उपमहानगर पालीका वडानं ६ लेकसाईडबाट दर्शन गर्न आएकी हरिमाया थापा बताउँछिन्।

पहरामा टाँसिएको लाउरेको फोटो देख्दा आफू दंग परेको उनले बताइन्। उनी मात्र होइन दैलेख जिल्ला भीमेश्वर नगरपालिका २ का राजन श्रेष्ठलाई पनि पहरामा टाँसिएको लाउरेको चित्र देख्दा अचम्म लागेको बताए। उनी भन्छन्, 'देवीदेवतालाई कहिल्यै पनि ढाँट्नु हुँदैन।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.