१५ महिनामा सम्पन्न गर्ने काम १ महिना विलम्ब

|

पर्सा : पर्सा वन्यजन्तु आरक्ष क्षेत्रमा पेट्रालियम पदार्थ ल्याउने पाइप गाड्न रोकिएको काम अहिले धमाधम भइरहेको छ। जंगल क्षेत्रका रूख काट्न सरकारी निर्णय कुरेर बसेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन प्रोजेक्ट (परियोजना) कार्यालयले सरकारी निर्णय आएसँगै त्यो क्षेत्रमा पाइप गाड्ने काम युद्धस्तरमा गरिरहेको छ।

अबको २० दिनदेखि एक महिनाभित्र पाइप गाड्ने काम जंगल क्षेत्रमा सकिन्छ। नेपाल तर्फको ३६ दशमलब २ किलोमिटरमध्ये यो क्षेत्रमा मात्र अन्तिम काम बाँकी रहेको थियो। योबाहेक अरू ठाउँमा झण्डै दुई महिनाअगाडि नै काम सकिसकेको परियोजनाका एक्सपर्ट तथा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन प्रोजेक्ट कार्यालयका मेकानिकल इन्जिनियर शरदप्रसाद पौडेलले थाहा खबरलाई बताए।   

भारतको मोतिहारीदेखि सीधा नेपालको अमलेखगञ्जस्थित तेल भण्डारण केन्द्रसम्म पेट्रोलियम पदार्थ ल्याउन पाइप विच्छ्याउने (गाड्ने) ठाउँ ९ किलोमिटर जंगल क्षेत्रमा पर्थ्यो। सरकारी निर्णय कुर्दा केही विलम्ब भए पनि अब भने जम्मा साढे ५ किलो मिटर मात्र पाइप गाड्न बाँकी छ। नेपाल तर्फको कुल ३६ दशमलब २ किलोमिटरमा पाइप गाड्ने काम सक्न अब एक महिनाभन्दा बढी समय नलाग्ने उनले बताए। ३० दलमलब ७ किलोमिटर अर्थात् ८४ दशमलब ८० प्रतिशत पाइप बिछ्याइ सकिएको परियोजना कार्यालयले जनाएको छ।

वन क्षेत्रमा वातावरण प्रभाव मूल्यांकन (इआइए) ले स्वीकृत दिएर नेपाल सरकारको क्याविनेटबाट रूख काट्ने निर्णय भएपछि भने प्राविधिक कुरा मिलाएर काम थाल्दा केही विलम्ब भयो। नत्र निर्धारित समयभित्र नै सबै काम सकिने थियो। अमलेखगञ्ज भण्डारण केन्द्रसम्म पुर्‍याउँदा ९ किलोमिटरमा पर्सा वन्यजन्तु आरक्ष जंगल क्षेत्र पर्ने भएकोले त्यो ठाउँका रुख काट्ने कुरा अलि पेचिलो हुँदा मार्च महिनाभित्र सक्नु पर्ने काम थोरै समय बढेको परियोजना कार्यालयको दाबी छ।

अब १५ दशमलब १९ प्रतिशत मात्र बाँकी

नेपाल र भारत सरकारबीच भएको कागजी सम्झौतापछि ७ वटा सर्वे पूरा भई सुरु भएको जमिनमूनि पाइप गाड्ने काम नेपालतर्फ १५ दशमलब १९ प्रतिशत मात्र बाँकी छ। यो भनेको नेपाल तर्फको कुल पाइप गाड्ने भू–सतह ३६ दशमलब २ किलोमिटरमा साढे ५ किलोमिटर मात्र बाँकी हो। भारततर्फको ३२ दशमलब ७ किलोमिटरमा भने गएको १५ दिनअगाडि सकिएको सूचना मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन प्रोजेक्ट (परियोजना) कार्यालयलाई आएको इन्जिनियर पौडेलले बताए।

नेपालतर्फ सीमावर्ती क्षेत्र वीरगन्ज भंसार हुदै अमलेखगञ्ज भण्डारण केन्द्रसम्म पुर्‍याउन ९ किलोमिटरमा पर्सा वन्यजन्तु आरक्षको जंगल क्षेत्र पर्दा केही प्राविधिक पक्ष मिलानका लागि थोरै विलम्ब भएको उनको तर्क छ।

पाइपबाट तेल आउन थाले बन्द हड्तालले फरक नपर्ने

नेपाल-भारत दुवै देशका सरकारबीच सम्झौता भई पाइपबाट पेट्रोलियम पदार्थ आउन थालेपछि कुनै बन्द हड्ताल र अन्य अवरोधबाट केही असर नपर्ने दुवै देशको आंकलन छ। गत वर्षको पुस २५ गतेदेखि माटोको भू­बनोटसमेत परीक्षण गरी गत वर्ष बैशाख ६ गतेबाट नेपालतर्फ पाइप गाड्न थालिएको थियो।

भारतबाट नेपालको अमलेखगञ्जस्थित तेल भण्डारण केन्द्रसम्म सीधा पेट्रोलियम पदार्थ ल्याउँदा विभिन्न समयमा हुने बन्द-हड्ताल र बाटोको अन्य व्यवधानबाट कुनै असर नपर्ने परियोजना कार्यालयको पनि तर्क छ।

१५ महिनामा सम्पन्न गर्ने काम १ महिना विलम्ब  

मुलुकभर भइरहेको महत्वकांक्षी योजनामध्ये सबैभन्दा छिटो भइरहेको काम पनि निर्धारित समयभन्दा केही विलम्ब भएको छ। काम सुरु भएको १५ महिनाभित्र सम्पन्न गरिसक्नु पर्ने परियोजनालाई समयसीमा थियो। यो भनेको गएको मार्चसम्ममा काम सक्नु पर्ने थियो।

तर, गत वर्षको मंसिर महिनाबाट लक्षित ठाउँ पहिचान गरी काम सुरु भएअनुसार जमिनमूनि पाइप गाड्ने कामका लागि प्राविधिक र मेशिनसमेत इण्डियाबाटै ल्याएर निर्धारित समयमा सक्ने प्रयास भइरहँदा पनि सरकारी निर्णय कर्दा मात्र एक अहिनाजति ढिलो भएको आयोजना कार्यालयले जनाएको छ। यो कामका लागि भारतबाट २२ जना दक्ष प्राविधिक र नेपालबाट सहायक श्रमिकसमेत गरी कुल ३० जना प्राविधिक कर्मचारीबाट निरन्तर काम भइरहेको हो। पाइप गाड्न पाइप जोड्ने (वेल्डिङ) को काम भने गएको फागुन २३ गतेबाट नै सुरु भएको इन्जिनियर पौडेलले बताए।

इण्डियन आयल कर्पोरेशनको पूर्ण सहयोगमा मोतिहारीबाट रक्सौल र रक्सौलबाट वीरगन्ज भंसार नाका हुँदै बाराको अमलेखगञ्जसम्म नेपालको भूभागमा पनि पाइपबाट तेल दिन तयार भएपछि यो काम दुवै देशका सरकार बीच आपसी सहमति गरी काम थालिएको हो। इण्डियन आयल निगमले मोतिहारीबाट भारतकै अर्को ठाउँका लागि माष्टर प्लान बनाउँदा नेपालले पनि अनुरोध गरेअनुसार नेपालतर्फ पनि पाइपमार्फद तेल दिन इण्डियन कर्पोरेशन तयार भएपछि उसैको लगानीमा काम भएको उनको भनाइ छ। 

पहिलो फेजमा डिजल मात्र आउने

पहिलो फेजमा डिजेल मात्र ल्याउने तयारी गरी 5L⁄ 60– API ग्रेडको १ हजार ४०८ वटा फलामे पाइपहरू जमिनमूनि गाड्ने क्रम उत्तरार्धमा पुगेको छ। ८ फिट ३ इन्च गहिराइँसम्म पाइप गाडिरहेको छ। जमिनमूनि गाडिने पाइपको मार्गमा नदी, नाला र सडकमा समेत क्रसिङ गर्नुपर्ने ठाउँमा जमिनमूनि नै ड्रिल गरी पाइपहरू जोड्ने काम पनि भइसकेको छ। पेट्रोलियम पदार्थ भण्डारण गर्न अमलेखगञ्जको भण्डार स्थलका ठूला ४ वटा ट्याँकीको पनि रेडियोग्राफ, बटम टेष्टलगायत मर्मत कार्य सकिएको छ।

हाइड्रो टेष्टिङ्ग, पिजिङ, अप्टिकल फाइबर केवल लगाउने काम देखि प्रोसेसिङको काम पनि परियोजनाले नै गर्दैछ। यो सबै काम सकिएपछि भने डिष्प्याचिङ र रिसिभिङका लागि फेरि दुवै देशका सरोकारवालाहरूले तय गरेपछि तेल आउन थाल्छ। यसको लागि भण्डारण क्षमता, पाइपको सबै अवस्थाका बारे परीक्षणपश्चात् तेल आउँछ। अब भने पाइप बिछ्याइसकेपछि बाँकी काम विलम्ब नहुन सक्छ इन्जिनियर पौडेलले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.