|

काठमाडौं : २०७४ सालमा कवि नदिशको 'हाँगामा झुण्डिएका आत्मकथा' कविता कृति सार्वजनिक भयो। नेपाली कविता क्षेत्रमा उनको आगमन सुखद् रह्यो। उनको संग्रहमा छोटा तथा लामा कवितालाई आम पाठकले सकारात्मक प्रतिक्रिया दिए।

आफूले सिर्जना गरेका कविता पाठकले कमजोरीसहित मन पराइदिएको पक्षलाई लिएर उत्साहित भएको नदिश ताउँछन्। तर, आफ्ना कविताले नेपाली कवितामा कुन तहको प्रतिनिधित्व गर्छ भन्ने विषयमा नसोचे पनि आफूले सिर्जना गरेका कुनै पनि कवितामा आदर्शको खेती नगरेको बताउँछन्। जे देखियो र जे भोगियो त्यसैको अनुभव कविताको माध्यमबाट अभिव्यक्त गरेको उनको भनाइ छ।

चारित्रिक रूपमा एउटा जिन्दगी र कवितामा अर्को चरित्र देखाउने मान्छे आफ्नो जीवनबाट सन्तुष्ट नहुने उनको तर्क छ। 'आफू जे हो त्यही नै आफूले लेख्ने विधामा आउनुपर्छ,' भन्छन्, 'नत्र नलेख्दा पनि हुन्छ।' आफू इमान्दार बनेर लेख्दा समाज वा पाठकलाई प्रभाव जमाउन सक्ने उनको भनाइ छ।

कवितामा राजनीतिक होस् या सामाजिक मुद्दा होस् जबरजस्ती उठाउन मन लाग्दैन उनलाई। उनले भने, 'जस्तो देखिन्छ, उस्तै पोखिन्‍छ।'

नदिश छोटा कविता लेखनमा रूचि राख्छन्। यही नै उनको विशेषता हो। उनी भन्छन्, ' प्राविधिक विषय पढेको भएर पनि होला लामो कविता लेख्न सक्दिनँ।' लामो कवितामा कवि चिप्लिने सम्भावना बढी हुने गर्छ। लामो कविता लेख्नका लागि आफूले अझ धेरै मेहनत गर्नुपर्ने उनको ठम्याइ छ। 'लामो पनि सुन्दर पनि लेख्न कोसिस जारी छ,' उनले भने, 'अभ्यास गरिरहेको छु।' कुनै पनि विषयवस्तुहरूलाई  जतिसक्दो  छोटो बनाउन नै मन पर्छ उनलाई। पाठकलाई लामो र फितलो कविता पढ्ने समय पनि छैन। यसो भनिरहँदा लामो कविता लेख्ने सबै कविका कविता फितलो हुन्छ भन्ने पनि नभएको उनले स्मरण गराए।

पछिल्लो क्रममा छोटा कविता लेख्ने क्रम बढ्दो छ। यसको पहिलो कारण भनेको लामो कविताप्रतिको पाठकको वितृष्णा पनि हो कि भन्ने नदिशको बुझाइ छ। कविताको गहिराइ बुझ्दै जाँदा आफूले कविता कृति प्रकाशन गर्न हतार गरेको उनले अनुभव गरेका छन्। कृति प्रकाशनपछि आफ्ना कमजोरीहरू पत्ता लाग्दै गए।  कतिपय कविताहरू समयको कालक्रमसँगै खासै चमकदार नरहेको निश्कर्ष छ उनको। यद्यपि, पछुतो भने मानेका छैनन्।

नदिशले सुरूवाती दिनमा राजनीतिक विषयवस्तुलाई लेखे। कतिपयले राजनीतिक कवितालाई नारासमेत तर्क गरेका छन्। तर उनलाई यो उचित लाग्दैन। हरेकको आफ्नो आफ्नो दृष्टिकोण हो भन्ने बुझाइ छ उनको। जसलाई जुन विषयवस्तुले छुन्छ वा संवेदनशील हुन्छ, लेख्ने त्यही हो। कविता यही विषयवस्तुमा लेखिनुपर्छ भन्ने कुनै सीमा छैन। प्रेम, राजनीति, सामाजिक जुनसुकै विषयमा पनि लेख्न सकिन्छ। तर कवितामा हुनुपर्ने गुण छ कि छैन भन्ने मुख्य कुरा भएको नदिश बताउँछन्।

राजनीतिक कविता लेख्नु चानचुने कुरा पनि होइन। राजनीतिक कविता लेख्नु समाज, हाम्रो चेतनाको ज्ञान हुन जरूरी रहेको उनको बुझाइ छ। भन्छन्, 'कविताको कुनै सीमा छैन। कविले जुनसुकै विषयमा पनि लेख्न सक्छ। मात्र कविताको गुण पहिलो कुरा हो।' 

नदिश अमेरिकामा बसोबास गर्दै आएका छन्। त्यहाँ बसाइका क्रममा उनले आत्मसमीक्षा गर्न थाले। जहाँ जीवनजगतका विषयवस्तुले आफ्नो कवितामा स्थान पाएको बताउँछन् उनी। उनी कतिपय कवितामा विद्रोही देखिन्छन्। केहीमा शान्त।

शनिबार कवि नदिशकको मण्डला थिटयटरमा लाइभ म्युजिक एकल कविता वाचन हुँदैछ। उनले उक्त कार्यक्रममा  आफ्ना नयाँ  तथा पुराना कविता सुनाउने छन्। लाइभ म्युजिकसहित हुने उक्त एकल वाचनमा आफूले पृथक तरिकाले आफ्नो कविता वाचन गर्ने उनी बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.