|

जाजरकोट : नलगाड नगरपालिका ६ पोख्राका राजबहादुर कुसारी भेरी नगरपालिका १ कालेगाउँस्थित हिमालय माविको प्राविधिक धारअन्तर्गत कृषि जेटिए अध्ययन गरिरहेका छन्।

कुसारी नियमित कक्षामा सैद्धान्तिक कक्षा त लिन्छन् नै विद्यालयले गराउने प्रयोगात्मक कक्षामा पनि उनको सहभागिता हुन्छ। उनलाई यति कामले मात्र पुगेको छैन। विद्यालयको सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाका साथै उनी आफैं थप प्रयोगात्मक कार्य गर्दै आएका छन्। कुसारी बेमौसमी तरकारी उत्पादन गरेर छुट्टै व्यावहारिक कक्षामा पनि सहभागी भइरहेका छन्।

जुनिचाँदे गाउँपालिका ७ का रमबहादुर पुन प्राविधिक धारअन्तर्गत तीनवर्षे बाली विज्ञानको दोस्रो वर्षमा पढ्दै आएका छन्। उनी पनि पढ्ने मात्र नभएर दैनिक विद्यालयमा सैद्धान्तिक ज्ञानका साथै  प्रयोगात्मक कक्षामा नियमित सहभागी हुँदै आएका छन्। पुनले पनि दैनिक बिहान र वेलुका खेतबारीमै बसेर वेमौसमी तरकारी बाली उत्पादन समेत गर्दै आएका छन्। 

पुन र कुसारी मात्रै होइन उक्त विद्यालयको प्राविधिक धारका तीन दर्जन विद्यार्थी पढाइका साथसाथै व्यावसायिक व्यावहारिक अभ्यासमा व्यस्त छन्। विद्यालयको सैद्धान्तिक र प्रयोगात्मक कक्षापछिको फुर्सदको समय उनीहरूले कृषि कर्ममा लगाउन थालेका छन्।  कृषि जेटिए पहिलो वर्ष अध्यान गर्दै आएकी नलगाड नगरपालिका ८ हल्चौरकी करुणा केसी भनिन्,'पढ्दै सिक्दै काम गरिरहेका छौँ। हामी पढ्न भन्दा पनि सीप सिक्न आएका हाैं।' करुणाले थपिन्,‘खेतबारीमा काम गर्दै पढ्दै गरेमा राम्रो सँग बुझिनुका साथै व्यवहारमा समेत लागू हुने रहेछ।'  

शिव मावि कालेगाउँ त्रिभुवन मावि खलंगाको जग्गा र केही स्थानीयबासीका जग्गा भाडामा लिएर विद्यार्थीका लागि पढाइसँगै प्रयोगात्मक परीक्षासँगै आम्दानी गर्न थालेका छन्। उनीहरूले उत्पादन गरेको टमाटर, काउली, आलु र अन्य वेमौसमी तरकारी बाली बिक्री भइरहेको छ। आफूले उत्पादन गरेको तरकारी बिक्री गरेर विद्यार्थीले आम्दानी गर्नुका साथै विद्यालयलाई आम्दानी समेत भएको प्रधानाध्यापक तीलकबहादुर खत्रीले बताए। प्रधानाध्यापक खत्रीले भने,'हामीलाई बिभिन्न ठाउँबाट तरकारीको बीउ र अन्य औजारहरू समेत सहयोग भएको छ। सहयोगी हातहरू पढ्दै छन्।'

'प्रधानमन्त्री कृषि आधुनिकरण आयोजना, भेरी नगरपालिका कृषि शाखाले सहयोग गर्दा हामीलाइ काम गर्न सजिलो भएको छ' उनले भने,'आफूले जे पढ्यौ। त्यही काम गर्दै विद्यार्थी शिक्षा आर्जन गरिरहेका छन्। रमाउँदै पढ्दै र आम्दानी गर्दै गर्दा साच्चिकै जीवन उपयोगी सीप समेत आर्जन गरेका छन्।' 

प्राविधिक धारतर्फका विद्यार्थीले समूह बनाएर तरकारी खेती र कुखुरापालन समेत गरेका छन्। विद्यार्थीलाई उत्पादनमा जोड्न र सिकेको कुरा कार्यान्वयनका लागि हौसला प्रदान गर्न जग्गा भाडामा लिएर तरकारी खेती व्यवस्थापनको काम गरिदिएको प्रधानाध्यापक खत्रीले बताए। ऊर्जाशील समय र उमेर सही दिशामा लगाएर देशलाइ समृद्धिको आधार तयार गर्न यहाँका विद्यार्थीको महत्वपूर्ण भूमिका हुने भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताए। उनले भने,'सैद्धान्तिक ज्ञानका साथै व्यवहारिक ज्ञान दिने पहिलो उद्देश्यले विद्यार्थीलाई खेती गर्न प्रेरित गरी काम नगरी खाने भन्ने जमातलाई भारी ज्ञान दिने गतिलो माध्यम शिव मावि भएको छ। नगरपालिकाले यस कार्यलाई सधै सहयाेग गर्ने छ।'

हामी जति चलाएमान हुन्छाैं। त्यति प्रगतिका बाटाहरू खुल्ला हुनेछन्। हिजो एक जमाना थियो। काम नगर्ने व्यक्तिलाई मालिक भनिथ्यो। अहिले जसले बढी काम गर्छ उही नै मालिक हो। श्रमसँग मानिसको पद जोडिएको छ', नगरप्रमुख घर्तीले भने,'कालेगाउँले जाजरकोटको इज्जत राखेको छ। काम गर्नुहोस्। बजेटको व्यवस्था हामी गर्छौ।'

शुक्रबार नै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ५ लाख बराबरको बिभिन्न वस्तुहरू विद्यालयलाई उपलव्ध गराएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.