|

पर्वत : पर्वत र बागलुङको ऐतिहासिक धार्मिक स्थल कुस्मा नगरपालिका ५ मोदीवेणी दिब्यधाममा रहेको नृसिंह मन्दिरको ढोका तोडेर शालिग्राम शिला चोरी गरेका मुख्य अभियुक्त पक्राउ परेका छन्। गत फागुन ४ गते राति शिला चोरी गर्ने गिरोहका मुख्य योजनाकार धादिङको  साबिक नीलकण्ठ गाविस १० घर भई कुस्मा नगरपालिका ५ बस्ने वर्ष २५ वर्षीय अञ्जन बराइलीलाई पक्राय गरिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीले दिएको जानकारी अनुसार उनको खोजीमा लामो समयदेखि लागिपरेको पर्वत प्रहरीले खोजतलास गर्ने क्रममा काठमाडौँ महानगरपालिका ३ महाराजगन्जबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय पर्वतवाट खटिएको प्रहरीको विशेष टोलीले उनलाई वैशाख २ गते राती नियन्त्रणमा लिएको हो।

बराइलीलाई शुक्रवार जिल्ला अदालत पर्वतमा उपस्थित गराइएकोमा थुनछेक आदेशले पुर्पक्षको लागी जिल्ला कारागार पर्वत चलान गरिएको छ। चोरीमा संलग्न अन्य ३ जना कसम पुनमगर, सुमन गुरुङ र लेख बहादुर नेपालीलाई प्रहरीले यसअगाडि नै नियन्त्रणमा लिएर सार्वजनिक गरेको थियो।

पक्राउ परेका बराइली यसअगाडि पनि लागु औषध मुद्दामा फरार रहँदै आएका व्यक्ति हुन्। उनलाई ०७५ माघ २९ गते जिल्ला अदालत पर्वतले २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना गर्ने पैmसला सुनाएको थियो। त्यस लगत्तै बराइली फरार रहँदै आएका थिए । 

गोप्य सूचनाका आधारमा कसम पुन चोरीमा संलग्न रहेको थाहा पाएपछि प्रहरीले गत फागुन २६ गते उनको कोठामा छापा मार्दा बिस्तारामा लुकाई राखेको अवस्थामा एक थान शालिग्राम शिला बराममद भएपछि उनलाई प्रहरीले सोही दिन नियन्त्रणमा लिएको थियो। पुनकै बयानको आधारमा प्रहरीले अरू दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको हो।

उनीहरूले बयानका क्रममा फागुन ५ गते राती १ बजेको समयमा नृसिंह मन्दिरको ताला काटेर शालिग्राम चोरी गरेको र जङ्गलमा लुकाएको बताएका थिए। सोही आधारमा प्रहरीले कुस्मा नगरपालिका ४ मा रहेको कालीगण्डकी छमर्के सामुदायिक बनको जंगलमा ३६ थान शालिग्राम शिला लुकाएको अवस्थामा बरामद गरेको थियो। उनीहरूले शालिग्राम शिला सहित दान पेटीकामा रहेको ४ हजार रुपैयाँ र शंख पनि चोरी गरेका थिए। 

मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २४२ अनुसार सार्वजनिक स्थल देवालय वा धार्मिक स्थलहरूमा चोरी गर्नेलाई २ देखि ७ वर्षसम्म कैद, २० देखि ७० हजार रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्ने प्रावधान राखिएको छ। 

नृसिंह मन्दिर धार्मिक तथा पर्यटकीय विकास समितिका उपाध्यक्ष केशवदास वैरागीका अनुसार चोरी भएका शालिग्राम झन्डै ७ सय वर्ष पुराना रहेको अनुमान गरिएको छ। उनका अनुसार शालिग्राम शिला एउटाकै मूल्य पर्छ भन्ने यकिन छैन। तर मुस्ताङको मुक्तिनाथमा शालिग्राम बिक्री गर्ने व्यवसायीहरूले एउटा शिलालाई १० हजार रुपैयाँ सम्म बिक्री गर्ने गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.