|

नवलपरासी : पश्चिम नवलपरासीको सीमावर्ती बजार सँगै जोडिएको महेशपुर भन्सार छोटी भन्सारबाट स्तरोन्नतिसँगै राजस्‍व उल्लेख्य वृद्धि भएको छ। छोटी भन्सारको रूपमा रहँदा गत वर्ष आठ करोड राजश्व संकलन गर्ने गरेकोमा यसपटक मूलभन्सारमा परिणत भएपछि ९ महिनामै करिब १० करोड राजश्व संकलन  भएको छ। 

भन्सार कार्यालयले निकासी पैठारीबाट साउन महिनायता नौ करोड ६७ लाख राजश्व संकलन गरेको हो। पछिल्लो दुई महिना फागुन र चैत्र महिनामा मात्र भन्सार कार्यालयले दुई करोड ९८ लाख रुपैयाँ राजश्व संकलन गर्न सफल भएको महेशपुर भन्सार कार्यालयले जानकारी गराएको छ।

मूलभन्सारमा स्तरउन्नति भएयता कोइला, भुस, लत्ता कपडा, गहुँ र खाद्यान्न लगायतका सामानहरूको आयात तथा निर्यात हुने गरेको छ। यसअघि छोटी भन्सारको रूपमा रहँदा यो कार्यालय भैरहवा भन्सार कार्यालयमातहत रहेर सञ्चालनमा रहेको थियो। चालु आर्थिक वर्षमा कार्यालयले करिब १५ करोड राजश्व संकलन गर्ने लक्ष लिएको छ।

मूलभन्सारमा परिणत भए पनि पर्याप्त पूर्वाधारको अभावमा अझै सोचेजति राजश्व संकलन हुन नसकेको भन्सारका कर्मचारीहरूले बताउने गर्दछन्। साँघुरो सडक र गोदामघरको व्यवस्था नहुँदा महेशपुर नाकाबाट मालसामान आयात निर्यात गर्न आफूहरूलाई अझै पनि कठिनाइ हुने गरेको व्यापारीहरूको गुनासो रहेको छ। भन्सार कार्यालयमा क्वारेन्टाइन र चेकपोस्टको समेत अभाव रहेको छ।

महेशपुर भन्सार भारतको कलकत्ता बन्दरगाहबाट सबैभन्दा कम दूरीमा पर्ने नेपालको एक मात्र नाका हो। आवश्यक सडक पूर्वाधार, गोदाम घर, क्वारेन्टाइन, चेकपोस्ट लगायका पूर्वाधार निर्माण गर्न सके यो नाका व्यापारीहरूको पहिलो रोजाईकन नाका समेत बन्ने स्वयं व्‍यापारीहरूलेनै बताउने गरेका छन्। अहिले पनि ठूला व्‍यवसायीहरूले भैरहवा भन्सार कार्यालयमार्फत नै मालसामान आयात तथा निर्यात गर्दै आइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.