क्वारेन्टाइन कार्यालयमा तालाबन्दी

|

धनगढी : उच्च अदालतको निर्देशन कार्यान्वयन नभएको भन्दै व्यापारीहरू आन्दोलित भएका छन्। शनिबार दिनभर छलफल चले पनि क्वारेन्टाइन कार्यालयले अदालतको आदेश कार्यान्वयनमा आनाकानी गरेपछि दाना उद्योगीहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले त्रिनगर नाकामा रहेको क्वारेन्टाइनको चेकपोस्टमा तालाबन्दी गरेका छन्। उच्च अदालतको आदेश कार्यान्यन नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन्।

पशु क्वारेन्टाइनले चैत २० गतेदेखि दाना उद्योगीहरूका कच्चा पदार्थ बोकेका गाडीहरू आयातमा रोक लगाएपछि व्यापारीहरू न्यायका लागि उच्च अदालत दिपायल पुगेका थिए। अदालतले पनि व्यापारीका पक्षमा आदेश जारी गर्‍यो। अदालतको आदेश पछि पनि क्वारेन्टाइनले कच्चा पदार्थ नछोडेपछि व्यापारीहरू आक्रोशित भएका थिए।

विगत १७ दिनदेखि कैलाली भन्सार कार्यालयमा १४ वटा कच्चा पदार्थ लोड गरिएका गाडीहरू थन्किएका छन्। ती गाडीमा रहेका सामग्रीहरू बिग्रने अवस्थामा रहेका छन्। क्वारेन्टाइनका कर्मचारी भने स्वस्थताको प्रमाणपत्र नभएसम्म आयात हुन नदिने अडानमा छन्। कच्चा पदार्थ नहुँदा किसानहरूलाई समस्या भएको व्यापारीहरू बताउँछन्।

अदालतको आदेश समेत नमानेपछि त्रिनगर नाकामा रहेको क्वारेन्टाइनको चेक पोस्टमा तालाबन्दी गरिएको हो। नेपालको क्वारेन्टाइनले भारतीय क्वारेन्टाइनको स्वस्थताको प्रमाणपत्र भए मात्रै गाडी छोड्ने अडान लिएपछि व्यवसायीहरुले उच्च अदालतमा रिट दायर गरेका थिए। अदालतले तत्काल गाडी छोड्न अन्तरिम आदेश दिइसकेको छ। तर आदेश दिएको ४ दिनसम्म पनि कार्यान्वयन नभए पछि व्यापारीहरू आन्दोलित भएका हुन्।

१७ दिनसम्म लाखौँको नोक्सानी बेहोरेका व्यापारीहरू अदालतको आदेशपछि पनि क्वारेन्टाइनका कर्मचारीले अटेरी गरिरहेको बताउँछन्। कैलाली उद्योग वाणिज्य संघले अदालतको आदेश कार्यान्वयन हुनुपर्ने भन्दै आन्दोलनको घोषणा गरेको हो। आन्दोलनको पहिलो चरणअन्तर्गत शनिबार क्वारेन्टाइनको चेकपोस्टमा तालाबन्दी गरिएको हो। अन्य आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए। 

४ दिनसम्म पनि उच्च अदालतको आदेश नमानेपछि अपहेलना मुद्दा र १७ दिनसम्म गाडी थन्किँदा भएको क्षतिसहित क्वारेन्टाइनविरुद्ध मुद्दा हाल्ने निर्णय भएको उनले बताए। कच्चा पदार्थ आयातमा रोक लगाइँदा कैलालीमा सञ्चालित दाना उद्योगहरु संकटमा परेका छन्। कुखुरा पालक किसानहरु दाना नपाउँदा समस्यामा छन्। पोल्ट्री व्यवसायमा गरिएको ५ अर्ब बढी लगानी डुब्ने खतरा बढेको छ।

सरकारले लगानी भित्र्याउन अथक प्रयास गरिरहँदा यहाँ स्वदेशी लगानीमा सञ्चालन भइरहेका ठूला उद्योगहरू भने संघटमा परेका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.