|

हेटौंडा : प्रदेश-३ का मुख्यमन्त्री डोरमणि पौडेलले केन्द्र सरकारले संघीयतालाई आत्मासात गर्न नसकेको आरोप लगाएका छन्।

संघीय सरकारको अर्थ समितिको आयोजनामा आइतबार हेटौंडामा आयोजना गरेको आब २०७६/७७ को पूर्वबजेट छलफल कार्यक्रममा बोल्दै पौडेलले केन्द्र सरकारबाट प्राप्त गर्नुपर्ने संवैधानिक अधिकारसमेत प्रदेश र स्थानीय सरकारले प्राप्त गर्न नसकेको गुनासो गरेका हुन्। उनले संघीयतालाई सफल बनाउका लागि तीन तहको सरकारबीच समन्वय आवश्यक रहेकोमा जोड दिएका छन्।

 संघीय सरकारले प्रदेश सरकारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्ने बताएका छन्। नीतिगत स्पष्टता नभएका कारण धेरै क्षेत्रमा समस्या भइरहेको उनको भनाइ थियो। बजेट छुट्याउनका लागि भन्दा पनि समृद्धिको यात्रा पूरा गर्नका लागि काम हुनुपर्नेमा उनको जोड थियो।

बजेट बनाउँदा तीन तहको सरकारबीच समन्वय नहुँदा एउटै योजनामा तीनै तहको बजेट थुप्रिने गरेको उनले स्मरण गरे। बजेट बनाउने बेला प्रदेशका मन्त्रालयहरुमा सचिवको सरुवा हुँदा समस्या भएको उनले बताए। अब प्रदेश-३ सरकार योजना बैंक बनाएर मात्र काम गर्ने तयारीमा रहेको उनले बताए। हरेकका योजना खल्तीबाट हाल्ने प्रथाको अन्त्य गर्नका लागि आफूहरू लागिपरेको मुख्यमन्त्री पौडेलले बताए।

कार्यक्रममा संघीय अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, प्रदेश-३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुङ्गेल, प्रदेश सांसद मुनु सिग्देल, जुनेली श्रेष्ठ, प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाल, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मीना लामा, हेटौंडा ४ का वडाअध्यक्ष नवीन सिग्देललगायत सरोकारवालाहरूले आफ्नो धारणा राखेका थिए।

कार्यक्रममा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, विभिनन क्षेत्रका कर्मचारी, उद्योगी, व्यवसायीलगायतको सहभागिता रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.