|

चितवन : जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढीमा राष्ट्रिय झण्डा फहराइएको छ।

नेपाल एकीकरणको इतिहाससँग जोडिएको ऐतिहासिकस्थल उपरदाङगढीमा चन्द्रसूर्य अंकित राष्ट्रिय झण्डा फहराइएको हो। समुद्री सतहबाट एक हजार २७५ मिटर उचाइमा रहेको यस गढीमा चितवन उद्योग संघको पहलमा आल्मुनियम पोल, सोलार प्यानलसहितको राष्ट्रिय झण्डा गाडिएको छ।

९.५ मिटर अग्लो ग्याल्भनाइज उक्त पोलमा दुईवटा २०० वाटको सोलार प्यानल, एक हजार एच, १२ भोल्डको ब्याट्री जडान गरिएको संघका अध्यक्ष भेषराज दुवाडीले बताए। संघका प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेलसहित प्राविधिक टोलीको प्रत्यक्ष निगरानीमा सोमवार जडान गरिएको हो। यसअघि २०७५ पुस १४ गते संघका अध्यक्ष दुवाडी, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत लगायतको उपस्थितिमा उपरदाङगढी (किल्ला) भित्र राष्ट्रिय झण्डाको झन्डोताेलन गरिएको थियो। 
चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने यस ऐतिहासिक गढी एउटा महत्वपूर्ण पर्यटकीय स्थलका रुपमा विकसित हुँदै गएको अवस्थामा फहराइएको राष्ट्रिय झण्डाले थप आकर्षण बढाएको छ। यस क्षेत्रमा पछिल्लो समय कच्ची सडक प्रयोग गरी दैनिक आन्तरिक तथा विदेशी पर्यटकको घुइँचो लाग्ने गरेको छ। 

पर्यटकलाई बस्न खानका लागी आधा दर्जन होम स्टे पनि खुलेका छन। त्यहाँ पुग्नलाई पक्की सडक, खानेपानी, स्वास्थ्य, सुरक्षा लगायत अन्य पर्यटकीय पूर्वाधार बन्न नसक्दा सम्भावना भएर पनि ओझेलमा परेको सरोकारवाला पक्षको गुनासो छ। स्थानीय सरकारले सो क्षेत्रलाई प्रमुख पर्यटकीय स्थलका रुपमा विकास गर्न बजेट विनियोजन गरी काम गरिरहेको बताएको छ। 

यस्तो छ उपरदाङढीको इतिहास

नेपाल एकीकरणपछि सामरिक दृष्टिकोणले ‘अग्लो ठाउँ सुरक्षित हुने’ भन्दै पृथ्वीनारायण शाहका नाति तथा उपरदाङढी क्षेत्रका तत्कालीन प्रशासक शत्रुभञ्जन शाहले विसं १८५७ मा गढीको स्थापना गरेको जानकारहरू बताउँछन्। १९६० सालसम्म सोही किल्लालाई चितवनको सदरमुकामका रूपमा पनि प्रयोग गरिएको थियो।चारैतिर भिरालो जमिन र बीचमा रहेको थुम्को गढीको प्रमुख विशेषता हो। यो गढी ६३९ वर्ग मिटर र समुद्री सतहबाट एकहजार २७५ मिटर उचाइमा रहेको छ। चौघेरामा रहेको ढुंगाले बनेको गढीभित्र प्रवेश गर्ने एक मात्र ढोका रहेको छ। यसमा लगाइएको ढुंगाको पर्खाल ६ मिटर अग्लो र ३ मिटर चौडा रहेको छ।

किल्लाभित्र कोतघर, पानी जम्मा गर्नका लागि बनाइएको इनार र चौतर्फी सुरक्षा घेराका लागि बनाइएका ९ ओटा प्वाल छन्। उक्त प्वाल दुस्मनलाई तोप हान्न बनाइएको जानकारको भनाई छ। उपरदाङगढी चितवनको पुरानो सदरमुकाम पनि हो। उपरदाङगढी चितवनमा भए पनि यो नाम देशकै इतिहाससँग जोडिएको छ।

नेपालको एकीकरणसँग सम्बन्ध जोडिएको यस क्षेत्रको प्रचार-प्रसार गर्नसके आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना रहेको सरोकारवालाको भनाई छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.