|

काठमाडौं :  सांगीतिक पलेँटीसँग परिचित श्रोताहरूले यसपाली फरक स्वादको कार्यक्रम हेर्न पाउने भएका छन्। नेपाली छन्द कविता लयात्मक माधुर्य र लालित्य बोकेको विशेष शैलीको साहित्यिक विधा हो। कुनै बखत छन्द विधा नेपाली साहित्यको मेरुदण्ड नै मानिन्थ्यो तर अहिले यो विधा सीमित लयप्रेमीहरूबीच मात्र साँघुरिएर रहेको छ।

प्रर्याप्त रुपमा प्रचार हुन बाँकी नेपाली छन्द कवितामा अनेकौं भाकाहरूले भरिएको सुगन्धको खानी हो। बसन्त ऋतुको मनमोहक वातावरणमा तिनै सुगन्धित भाकाहरूका साथ पलेँटी प्रस्तुत हुने भएको छ। छन्द कविता, वाचन परम्पराको माध्यमले पुस्तान्तरण हुँदै जानु पर्ने साहित्यिक विधा हो। पुस्तकका पानामा मात्र सीमित राखेर छन्दको सौन्दर्य खुल्दैन। त्यसैले यो विधालाई भाका दिएर गाउँदै प्रसारित गर्ने परम्परालाई विकसित गर्नु आवस्यक छ। पलेँटी शृंखला त्यही नेपाली मौलिक गायन परम्पराको अभिलेख राख्न सधैँ उत्साहका साथ क्रियाशील रहेको छ।

छन्द-पलेँटीलाई नेपाली साहित्यका अग्रज कविका कविताहरूको उत्सवका रुपमा मनाइने छ; जसमा सोमनाथ सिग्ध्याल, लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे लगायतका सुप्रसिद्ध कविहरूका रचना समावेश हुनेछन्।

छन्द परम्परा नेपालमा मात्र प्रचलित शैली होइन। छापाखाना अथवा प्रिन्टिङ प्रेसको शुरूवात हुनुभन्दा पहिले संसारभरिका ग्रन्थहरू गाउन मिल्ने भाकामै लेखिन्थेँ। किनभने धुनमा बाँधिएका ग्रन्थहरू सम्झनामा लामो समय राख्न सहज मानिन्थ्यो। गाथा-गायनदेखि छन्द कवितासम्मका श्रुतिपरम्पराले पुरातन मानव परम्पराको इतिहासलाई जोगाउन मद्दत गरेको पाइन्छ। कथा र संदेशलाई गीत अथवा भाकामा समेटेर भन्नु पर्ने कारणले ती रचनाहरू छरिता र चुनिँदा हुनु जरुरी हुन्थ्यो।

त्यही घनत्वका कारणले नेपाली छन्द कविताहरू साहित्यिक हिसाबले विशेष र समृद्ध छन्। तर लामो समयदेखि हामीले नेपाली छन्द परम्परातर्फ त्यति ध्यान पुर्‍याएका छैनौं। यो परम्पराको व्यापकतालाई बुझ्नका निम्ति यसपालीको पलेँटी नमुना पलेँटी बन्न सक्छ। साहित्यमा क्रियाशील भूषिता वशिष्ठले स्वेच्छाले तयार परिरहेको छन्दको अभिलेखलाई सामाजिक संजालमा वाचन गरेको सुने पछि उनै भुषितामार्फत पलेंटीमा छन्द प्रस्तुत गर्ने सोच सुरु भएको हो।

भूषिताको बाल्यकालदेखिकै छन्द मोहको निरन्तरता थियो त्यो। बाल्यकालमा भूषितासँग उनका अविभावक कविताबाटै आफ्नो कुरा अभिव्यक्त गर्थे। आमालाई त नैतिक शिक्षा नै कविताका हरफबाट दिने बानी परेको थियो। ‘असल बानी’ बारे छन्दमै सुन्नु पर्थ्यो। कठोर कुरालाई पनि कति लालित्यपूर्ण तरिकाले भन्न सकिँदो रहेछ भन्ने कुरा उमेर चढ्दै गएपछि भूषितालाई झन् स्पष्ट हुँदै गयो। लामो अन्तरालपछि जब वयस्क उमेरमा कठोरताहरूले घेर्न थाले; उनी फेरि छन्दका तिनै लालित्यपूर्ण धुनहरूतर्फ फर्किइन्। अँग्रेजी साहित्यकी जिज्ञासु विद्यार्थी भूषिता अहिले छन्द कविता भाकाहरूबाट मात्र होइन यसभित्रको साहित्यिक र दार्शनिक पक्षसँग पनि मोहित छिन्।

'छन्द कविता मात्रिक अथवा मेट्रिक कविता हो' भूषिता भन्छिन् ‘जुन विधाले साधारणतया प्राज्ञिकता भन्दा उत्साह र उमंगलाई पछ्याउँछ’अँग्रेजीमा रहेका आयंबिक र डायक्टल मिटर जस्तै नेपालीमा पनि गति, ताल र लयकारीको उतार चढाव बोकेका विभिन्न मात्रा र छन्द रहेका छन्। नेपाली छन्द कविताको परम्परामा सयौं प्रकारका मात्रा अथवा मीटर रहेका छन्,' भूषिता भन्छिन। 'उदाहरणको लागि पञ्चचामर छन्द अंग्रेजी साहित्य परम्परामा रहेको आयंबिक अक्टामिटरलाई लिन सकिन्छ।'

‘छन्द कवितासँग सांगीतिक सहकार्य गर्ने अवसर जुरेकोमा खुशी छु। ‘संगीतकार आभासले भने। ‘छन्दसँगको सामान्य चिनारीको विगतभन्दा यसपाली भिन्दै अनुभूति भइरहेको छ। यो मेरालागि नौलो अनुभव हो’ आभासको थप टिप्पणी थियो। छन्द पलेँटीको संयोग छन्द दिवससँग पनि जोडिन पुगेको छ। हिजो वैशाख ८ गते छन्द कविताको उत्सव, राष्ट्रिय छन्द दिवस पनि थियो। छन्द पलेँटीको प्रस्तुति यही अप्रिल महिनाको २६, २७, २८ तारिख साँझ कालिकास्थानस्थित नेपालयको साविककै कार्यक्रम स्थल ‘आर’ शालामा हुने छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.