|

विराटनगर : वृहत विराट क्षेत्र विकाससम्बन्धी विधेयकमार्फत स्थायी राजधानीको विवाद समाधान गर्ने निष्कर्ष निकालेको प्रदेश सरकार सोही विधेयकको कारण संकटमा पर्ने देखिएको छ।

प्रदेश १ को अस्थायी राजधानी विराटनगरलाई स्थायी बनाउँदा इटहरी, धरान, धनकुटा रिसाउने र विराटनगरबाट राजधानी सार्दा संकटपर्ने बुझेरै प्रदेशका मुख्यमन्त्रीको योजनामा उक्त विधेयक आइतबार संसदमा पेश भएको थियो। तर विधेयक ल्याउनु अघि यसको उद्देश्य, कारणबारे आफ्नै सांसदरूसँग छलफल नगर्दा अन्यौल बन्नुपरेको भन्दै मुख्यमन्त्री ती सांसदको तारो बनेका छन्। 

प्रदेशको राजधानी प्रयोजनको लागि तयार पारिएको अनुमान गरिएको बिधेयकमा त्यसबारे उल्लेख नभएकोले त्यसको औचित्य र विधेयक ल्याउनुको नियतमाथि पनि सांसदहरुले प्रश्न उठाएका छन्। आइतबारको बैठकमा भाग लिएका ८ जना सांसदहरुमध्ये ७ जनाले विधेयकको उद्देश्यमाथि नै प्रश्न गरे। सरकारले नियोजित उद्देश्य पूरा गर्न तयारीबिना नै विधेयक ल्याएको भन्दै उनीहरूले दजनौं प्रश्नहरु अगाडि सारेका छन्। त्यस्तै सोमबारको बैठकमा बोलेका १५ सांसदहरूले पनि अघिल्लो दिनको जस्तै विभिन्न पक्ष नमिलेको भन्दै प्रश्न उठाए।

सुनसरीका ७ र मोरङका ५ समेत १२ स्थानीय तहलाई समेटेर वृहत विराट क्षेत्र विकासको अवधारणा अघि सार्दै सरकारले त्यसलाई सम्वोधन गर्न विधेयक संसदमा दर्ता गराएको थियो। विधेयकले विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका, ग्रामथान गाउँपालिका, बुढिगंगा गाउँपालिका, सुन्दरहरैचा नगरपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, गढी गाउँपालिका, इनरुवा नगरपालिका, दुहवी नगरपालिका र बर्जु गाउँपालिकालाई वृहत विराट क्षेत्र विकास अवधारणामा समेटेको छ। 

सरकारले ल्याएको विधेयकले सांसदहरूलाई नै अन्याेलता सिर्जना गरेको छ। राजधानी इटहरी, धरान वा धनकुटा हुनुपर्ने माग गरिरहेका सांसदलाई वृहत विराट क्षेत्रको नाममा विराटनगरमै राजधानी राख्ने षड्यन्त्र सरकारले गरेको आशंका गरेका छन् भने विराटनगर राजधानी हुनुपर्छ भन्ने सांसदहरुलाई अनेक बहानामा राजधानी सार्ने षड्यन्त्र सुरु भएको हो कि भन्ने आशंका छ। स्रोतका अनुसार सरकारले राजधानी विराटनर, इटहरी, धरान वा धनकुटा नभनी ‘वृहत विराट क्षेत्र’लाई नै राजधानी तोकेर जाँदा विवाद साम्य हुने सोचेको छ। तर उक्त क्षेत्रमा पर्ने १२ स्थानीय तहमध्ये कहा चाहिँ राजधानी हुने हो भन्ने स्पष्ट नहुँदासम्म विधेयकको समर्थन गर्न नसकिने मुडमा सांसदहरु छन्।

प्रतिपक्षी दल नेपाली कांग्रेसले त यो विधेयक फिर्ताको माग गरेको छ। ‘विधेयकको मकसद के हो?’ सत्तारुढ दलकै सांसद एकराज कार्कीले प्रदेशसभामा आइतबार प्रश्न गर्नुभएको थियो, ‘राजधानी राख्ने मक्सद हो वा विकास गर्ने ? यदि विकास गर्ने उद्देश्य हो भने यो पञ्चायती तरिका भयो, जहाँ विकास छ त्यहिँ थप्ने, राजधानी बनाउने हो भने सिधै प्रस्ताव ल्याउनु पर्छ।’ यस्तै विधेयकको विषयमा सैद्धान्तिक छलफल भइरहँदा बढी चर्चा राजधानीको भएको छ। जसका कारण पनि विधेयक केन्द्रबिन्दुमा परेको छ। सत्तारुढ दलका सांसद बलबाहादुर साम्सुहाङले राजधानी तोक्नकै लागि अस्पष्ट ढंगले विधेयक ल्याउनुको कुनै औचित्य नहुने बताए।

सांसद लछुमन तिवारीले बोल्नु नहुने विषय नबोली विधेयकमार्फत कार्यान्वयन गर्ने उद्देश्यले आएको भन्दै राजधानी विराट क्षेत्रलाई नै तोकिन सक्ने संकेत गरे। विधेयकमा वृहत विराट क्षेत्र विकास समिति निर्माण गर्ने उल्लेख गरिएको छ। तर उक्त समितिको काम कर्तव्य र अधिकार के के हो भन्ने विषयमा भने उल्लेख छैन र विधेयकमा ‘वृहत विराट विकास क्षेत्र समितिको काम, कर्तव्य र अधिकार प्रदेश सरकारले प्रदेश राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिए बमोजिम हुने छ’ भन्ने उल्लेख छ।

कांग्रेसमा विवाद

प्रमुख प्रतिपक्षी दलका सांसदको मत पनि बाझिएको छ। कांग्रेस संसदीय दलका सचेतक सूयर्माराज राईले विधेयक षड्यन्त्र स्वरुप आएको बताए। राजधानीको टुंगो लगाउनकै लागि विधेयक आएको भन्दै यति धेरै षड्यन्त्र गर्नु नपर्ने र विधेयकलाई समर्थन गर्न नसकिने उनले बताए। यद्यपि कांग्रेसकै सांसद शिवनारायण गनगाईले भने वृहत विराट क्षेत्र विकासको अवधारणा सही भएको टिप्पणी गरे। 

राजधानी कि विराटनगर की धनकुटा

प्रदेशसभामा बोल्दै संघीय समाजवादी फोरम संसदीय दलका नेता जयराम यादवले भने वृहत विराट क्षेत्रमा रंगेली नगरपालिका र जहदा गाउँपालिका पनि समेट्नुपर्नेमा जोड दिए। राजधानी तोक्नका लागि ल्याइएको विधेयक हो कि भन्ने प्रश्न गर्दै उनले आफ्नो दल राजधानी विराटनगर तोक्नु पर्नेमा स्पष्ट रहेको तर अन्यत्र सार्ने हो भने धनकुटा राम्राे हुने पनि बताए।

प्रदेशसभाको सोमबारको बैठकमा सांसदहरू बसन्तीदेवी यादव, बिमल कार्की, सावित्रा रेग्मी, गुलेफुन खातुन्, मो. ताहिर मिया, राजकुमार ओझा, सुनिता चौधरीलगायतले उक्त विधेयकको सैद्धान्तिक छलफलमा सहभागी भएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.