फरार अभियुक्त पक्राउ गर्न प्रहरीको उदासिनता

|

पोखरा : गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्याल धरौटीमा रिहा भएका छन। प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका अर्याल सोमबार वकिलसहित अदालत पुगेर १७ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन।

विद्यार्थीसँग लाग्ने भन्दा बढी रकम असुलेपछि अर्यालसहितका सञ्चालकविरुद्ध मुद्धा दर्ता भएको थियो। अर्याल धरौटीमा छुटेसँगै आठ जना छुटेका छन। गण्डकी मेडिकल कलेजका विद्यार्थीहरूले ठगीको आरोपमा अर्यालसहित ११ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। विद्यार्थीहरूको जाहेरीका आधारमा कास्की प्रहरीले दुई जनालाई पक्राउसमेत गरेको थियो। पक्राउ परेकाहरू गत चैत १८ गते नै जनही १७ लाख रुपैयाँ बुझाएर रिहा भएका थिए। 

अर्याललगायतले ५३ करोड रुपैयाँ ठगी गरेको आरोप लगाउँदै विद्यार्थीहरूले जिल्ला प्रहरी कार्यालय र सम्पत्ति शुद्धिकरण विभागमा ११ जना सञ्चालकविरुद्ध उजुरी दिएका थिए।

पक्राउ पुर्जी जारी भए पनि कास्की प्रहरीले खुमा अर्याललाई पक्राउ गर्न कुनै तदारुकता भने देखाएन। ‘यो मुद्धा अदालतले हेरेको छ, अदालतले तोकेको समयमा उपस्थित नभए प्रहरीले पक्राउ गर्छ,’ कास्की प्रहरी प्रमुख एसपी ओम रानाले भनेका थिए।

पोखरा उच्च अदालतले भने गत फागुन ३० गते अध्यक्ष अर्याल लगायतका व्यक्तिले दायर गरेको निषेधाज्ञायुक्त रिटमा अन्तरिम आदेश दिन नमिल्ने आदेश दिएको थियो।

अदालतले फरार रहेका अन्यलाई पक्राउको बाटो खोलिदिएको थियो। अहिलेसम्म कास्की प्रहरीले अन्य कसैलाई पनि पक्राउ गरेको छैन। फरार सूचीमा रहेकाहरू वकिलसँगै अदालत जाँदै धरौटी बुझाएर रिहा हुने भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.