|

संखुवासभा : जिल्लाका ६ वटा स्थानीय तह अति नै दुर्गममा परेका छन्। १० तहमध्ये ६ वटा स्थानीय तहलाई सरकारले अति नै दुर्गममा वर्गीकरण गरेको जनाएको हो। 

सरकारले चिचिला गाउँपालिका, पाँचखपन नगरपालिका, भोटखोला गाउँपालिका, मकालु गाउँपालिका, सभापोखरी गाउँपालिका र सिलिचोङ गाउँपालिकालाई अति नै दुर्गममा वर्गीकरण गरिएको हो।

सरकारको वर्गीकरणमा दुर्गममा दुई स्थानीय तह परेको छ। मादी र धर्मदेवी नगरपालिकालाई दुर्गममा राखेको छ भने खाँदबारी नगरपालिका र चैनपुर नगरपालिका मध्यम वर्गमा वर्गीकरण गरेको छ। 

राज्य पुनःसंरचनापछि पहिलो पटक स्थानीय तहको प्रशासनिक वर्गीकरण भएको हो। विभिन्न सूचकलाई आधार मानेर प्रशासनिक वर्गीकरणको प्रारम्भिक खाका तयार गरेको हो। प्रारम्भिक प्रतिवेदन तयार पारेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राय सुझाव समेत माग जनाएको छ। 

स्थानीय तहको राय सुझावलाई समेत समेटेर परिमार्जन सहित सरकारले अन्तिम प्रतिवेदन तयार हुने बताइएको छ। स्थानीय तहको यातायातको सुविधा, प्रदेश राजधानीदेखिको दूरी, जिल्ला सदरमुकामदेखिको दूरी, स्थानीय तहमा उपलब्ध शिक्षा, स्वास्थ्य सेवा, दूरसञ्चारको सेवा, विद्युत सेवाको पहुँच र नियमितता, मानव विकास सूचकांक, भौगोलिक अवस्थिति र स्थानीय तहको स्तरलाई आधार मानेर विवरण तयार बनाइएको हो। 

स्थानीय तह कार्यान्वयनमा आएपछि नाम, सीमा, संरचना हेरफेर भएकाले नयाँ वर्गीकरण गर्न लागिएको हो। देशभरका सबै स्थानीय तहलाई चार वर्गमा बाँडिएको छ। अति नै दुर्गमलाई क, दुर्गमलाई ख, मध्यम ग र सुगमलाई घ वर्गमा राखिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.