|

इलाम : वरिष्ठ संगीतकार तथा गायक मदन दिपबिमको निधनले नेपाली सांगीतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको सांगीतिक क्षेत्रका अग्रजहरूले बताएका छन्। अमेरिकाको सानफ्रान्सिस्कोमा रहँदै आएका दिपबिमको गत सोमबार राति ७० वर्षको उमेरमा उनको निधन भएको हो। हृदयघात भएपछि उनी गत महिना अस्पताल भर्ना भएका थिए। उनी केही वर्षदेखि कान्छी छोरी गायिका ममता दिपबिमसँग अमेरिकामा बस्दै आएका थिए।

इलाममा जन्मिएका मदनले कृष्णहरि बरालको शब्द र नरेन्द्र प्यासीको स्वरमा रहेको ‘के भूल भयो प्रिया...’, लाक्पा शेर्पाको स्वर रहेको ‘झस्केर दुख्छ यो मुटु मेरो...’, कुन्ती मोक्तानको स्वर रहेको ‘भन्छन् कोही जिन्दगी यो...’, (गीतकार), ममता दिपबिमको स्वरमा रहेका ‘सुरिलो रुख सल्लै हो...’ लगायत दजर्नौं लोक तथा कर्णप्रिय गीतमा संगीत भरेका छन्। 

दिपबिमको निधनप्रति नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य कोमल निरौलाले नेपाली गीत संगीतको क्षेत्रमा अपूरणीय क्षति भएको बताए। प्राज्ञ निरौलाले भने, ‘बाल्यकालदेखिको साथीको निधनले स्तब्ध छु।’ निरौलाका अनुसार दिपबिमले धेरै गीतमा संगीत संयोजन गर्नुका साथै गीत लेख्ने र गाएका छन्। साथै, उनी कुशल नृत्यकारसमेत हुन्।

वरिष्ठ गीतकार दिनेश अधिकारीले दिपबिमको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले दिपबिमको निधनसँगै नेपाली सांगीतिक क्षेत्रको एउटा नक्षत्र घटेको बताए। यस्तै, सङ्गीतकार टीका भण्डारीले एउटा मूर्धन्य संगीतकार देशले गुमाउनु परेको बताएका छन्।

अमेरिकामै बस्दै आएका गीतकार ज्ञानेन्द्र गदालले संगीतकार दिपबिमको निधनले नेपाली गीत संगीत क्षेत्रमा अपूरणीय क्षति भएको बताएका छन्। आफनो फेसबुक वालमा समवेदना व्यक्त गर्दै उनले दिपबिमको निधन भए पनि उनका सिर्जन नेपालीका मनमुटुमा रहिरहने उल्लेख गरेका छन्। यस्तै, पत्रकार महासंघका पूर्वसभापति विष्णु निष्ठुरीले सामाजिक संजालमा श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली आधुनिक र लोक संगीतका सुपरिचित गायक, संगीतकार मदन दिपबिमको निधनबाट देशले एक प्रतिभा गुमाएको उल्लेख गरेका छन्।

२००५ सालमा इलाम नगरपालिका–७ मा जन्मिएका दिपबिमले जीवनका सुरुवाती दिनमा इलाममा शिक्षण पेशामा आबद्ध भएका थिए। त्यसपछि उनले विशेष प्रहरी र रेडियो नेपालमा रही सेवा गरे। 

दिपबिमको दाहसंस्कार अमेरिकामै गरिने परिवारजनले बताएका छन्। 

मदन दिपबिमको संगीत र स्वरका केही गीतः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.