निर्यात बढ्न नसक्नुका कारण के?

|

काठमाडौं :  सरकारले निर्यात प्रवर्द्धनका लागि तयार पारेको नेपाल व्यापार एकीकृत रणनीति (एनटिआइएस) को सूचीमै रहेका वस्तुहरूको निर्यातमा कमी देखिएको छ। व्यापार घाटालाई कम गर्ने र निर्यात व्यापारमा बढावा दिने उद्देश्‍यसहित व्यपार रणनीतिमा राखिएका वस्तुलाई विशेष छुटको व्यवस्था गरिए पनि त्यसको प्रत्यक्ष प्रभाव पर्न सकेको देखिँदैन।

चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा एनटिआइएसमा परेका नौ वस्तुको निर्यात २४ अर्ब २२ करोड रुपैयाँको भएको छ। जबकी गत वर्षको सोही अवधिको तुलनामा २४ अर्ब आठ करोड रुपैयाँको निर्यात भएको थियो। यो तथ्यांकले व्यापार रणनीतिमा परेका वस्तुको निर्यात रकम वृद्धिदर ०.६ प्रतिशत मात्रै हो। यो रकम पनि डलरको मूल्यमा आएको वृद्धिको कारण बढी देखिए पनि संख्यात्मक रुपमा निर्यात घटेको देखिएको छ।

रकमको हिसावले नौ मध्ये चार वस्तुको निर्यात उल्लेख्य घटेको छ। तर, निर्यात बढेका पाँच वस्तुमध्ये एक वस्तुको मात्रै निर्यात उल्लेख्य बढेको देखिएको छ। औषधिजन्य सामग्रीको निर्यात ४३ प्रतिशतले बढे पनि अन्य वस्तुको निर्यात उल्लेख्य छैन।

छालाजन्य सामग्रीको निर्यात गत वर्षको तुलनामा ४६, अलैँचीको निर्यात ३८, जुत्ताचप्पलको निर्यात २४ र अदुवाको निर्यात १८ प्रतिशतले घटेको छ। गत वर्षको सोही अवधिमा ६० करोड छ लाख रुपैयाँको निर्यात भएकोमा चालु आर्थिक वर्षमा ३२ करोड १० लाख रुपैयाँको छालाजन्य सामग्री निर्यात भएको छ।

अलैँचीको निर्यात गत वर्षको सोही अवधिमा तीन अर्ब ५९ करोड ६२ लाख रुपैयाँ निर्यात भएकोमा चालु आर्थिक वर्षको आठ महिनामा दुई अर्ब २२ करोड ३२ लाख रुपैयाँको निर्यात भएको छ।

जुत्ताको निर्यात गत वर्षको साउनदेखि फागुनमहिनासम्म ९९ करोड ३३ लाख रुपैयाँको निर्यात भएकोमा चालु आर्थिक वर्षको यो अवधिमा ७४ करोड ७५ लाख रुपैयाँ निर्यात भएको छ। यो २४.७ प्रतिशले कमी हो।

त्यस्तै, गत आर्थिक वर्षको आठ महिनामा भएको अदुवाको निर्यातभन्दा चालु आर्थिक वर्षमा १८ प्रतिशतले कमी आएको छ। अघिल्लो वर्ष ४५ करोड ६९ लाख रुपैयाँको अदुवा निर्यात भएकोमा चालु वर्षमा ३७ करोड २२ लाख रुपैयाँको मात्रै निर्यात भएको छ।

एनटिएसमा परेकाबाहेकका निर्यातजन्य सामग्रीको निर्यात पनि अस्वभाविक घटेको छ। गत वर्षको आठ महिनामा ४० करोड १६ लाख रुपैयाँको यस्तो वस्तुको निर्यात भएकोमा चालु आर्थिक वर्षमा १७ करोड २० लाख रुपैयाँ मात्रै खर्च भएको छ। जुन गत वर्षको तुलनामा ५७ प्रतिशत कमी हुन आउँछ।

निर्यात बढ्न नसक्नुका कारण के?

सरकारले निर्यात प्रवर्द्धनलाई प्रमुख प्राथमिकता दिए पनि निर्यातमा भने सुधार आउन सकेको छैन। व्यापार तथा निकासी प्रवर्द्धन बोर्डका अधिकारी नै यस विषयमा आश्चार्यमा छन्। ‘निर्यातलाई सहुलियत सरकारले दिइनैरहेको छ, कतिपय सुधार गर्दै पनि छ,’ व्यापार तथा निकासी प्रवर्द्धन बोर्डका प्रमुख कार्यकारी निर्देशक शरदविक्रम राणा भन्छन्, ‘सरकारले होस् वा निजी क्षेत्रले नै तर गरिएको लगानीको प्रतिफल कति भयो भन्ने खोजी आवश्‍यक छ।’

धेरै उत्पादन र गुणस्तरमा सुधारको आवश्‍यकता रहेको प्रवर्द्धन बोर्डका अधिकारीहरू बताउँछन्। तर व्यवसायीहरू प्रतिस्पर्धामा समस्या रहेको उल्लेख गरेका छन्।  अलैँची व्यवसायी संघका अध्यक्ष दीपक नेपालले मूल्य अनपेक्षित कमी आएको कारण निर्यात घटेको तर्क गर्छन्। उनले छिमेकी बजारको मूल्य लागतमा निर्यात गर्न समस्या भएको ती किसनाले बराबरको सहुलियत नेपालीले नपाएको दाबी गर्छन्।

अदुवा व्यवसायीले पनि मुख्य समस्या प्रतिस्पर्धालाई नै देखेका छन्। आन्तरिक बजारमा निकासी कर बढी तिर्ने परेको, भारत सरकारले भारतीय किसानलाई बढी सहुलियत दिँदा प्रतिष्पर्धा गर्न समस्या भएको र भन्सारमा ल्याबटेस्टलगायतका काम गर्दा लागत बढी भएको कारण निर्यात घटेको अदुवा उत्पादक संघका अध्यक्ष नरेन्द्र खड्काले बताए। 'करेनटाइनको कारण लागत बढी भएको छ,'उनले भने, 'भारतीय बजारमा प्रतिष्पर्धा पनि गर्न सकिएको छैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.