|

दाङ : दुई व्यक्तिको हत्याको आरोप लागेका एक व्यक्तिलाई प्रहरीले २२ वर्षपछि पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका ७ जबरपुरका लवध्वज शाही र ध्रुवध्वज शाहीलाई कर्तव्य गरी हत्या गरेका सोही ठाउँका ४६ वर्षीय देशु चौधरीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।

चौधरी घरमै लुकीछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले बताए। चौधरीले शाहीद्वयलाई २०५४ साल असोज २५ गते साँझ बाटोमा हिँडिरहेको बखत कर्तव्य गरी हत्या गरेको अदालतले ठहर गरेको छ।

भुपेन्द्रध्वज शाहीको जाहेरीको आधारमा दाङ देउखुरी जिल्ला अदालतले २०६६ साल जेठ २० गते चौधरीलाई दुईजनाको हत्यामा कसुरदार ठहर गर्दै २० वर्ष कैद फैसला सुनाएको थियो। त्यसयता चौधरी फरार रहँदै आएका थिए। प्रतिवादी चौधरीलाई मंगलबार नै प्रहरीले अदालतमा पेश गरी अदालतको आदेशमा कारागार चलान गरिएको जिल्ला प्रहरी प्रवक्ता शाहले बताए। त्यसैगरी दाङको घोराहीमा चोरी गरेको सुनसहित एक जनालाई प्रहरी नियन्त्रणमा लिएको छ।

घोराही उपमहानगरपालिका १५ निवासी हिमा रावतको जाहेरीका आधारमा घोराही १४ ट्राफिक पुल्चोकका सद्धाम हुसेनलाई एक तोला  ४०० ग्राम गलाएको सुन, सिक्री, औँठी, मोबाइल, ट्याब एक/एक थान, ११ हजार नगद र १४ वटा रिचार्ज कार्डसहित प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका हुसेनलाई दाङ देउखुरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डिएसपी शाहले बताए। साथै हुसेनबाट सुन खरिद गर्ने सुन पसलका सञ्चालकमाथि पनि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। त्यसैगरी दाङमा प्रहरीले जवरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ गरेका छन्। देउखुरीको राप्ती गाउँपालिका वडा २ की ११ वर्षीया बालिकालाई घोराही उपमहानगरपालिका १५ का ४४ वर्षीय ऋषिराम आचार्यले जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।

आचार्यले २०७५ असोजदेखि फाल्गुन महिनासम्म विभिन्न मितिमा जवरजस्ती करणी गरेको भनी बालिकाकी दिदीले सोमबार प्रहरीमा दिएको जाहेरीका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीले आचार्यलाई जवरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी दाङ देउखुरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.