तरकारी खेतीबाटै मासिक ५० हजार

|

ओखलढुंगा :  मानेभञ्ज्याङ गाउँपालिका-४ केत्तुकेका किसान एकराज राईले कतारको वैदेशिक रोजगारीबाट फर्केपछि गाउँमै व्‍यावसायिक टमाटर खेती थाले। तीन वर्षदेखि निरन्तर तरकारी खेतीमा रमाइरहेका छन् उनी। कामको खोजी गर्दै विदेशमा भौतारिने यहाँका युवाले स्वदेशमा नै कृषि उद्यम गरे जीवन धान्न सकिने उनी बताउँछन्।

 आफ्नो अनुभव सुनाउँदै माटोमा पसिना बगाए बारीमा पनि पैसा फलाउन सकिने उनको अनुभव छ। तरकारी खेती गरेर राम्रो कमाइले राई सन्तुष्ट छन्। राईले आफ्नो थोरै जमिनमा तरकारी खेती गरेर मासिक एकलाख कमाइ गरिरहेको उनले बताए। पछिल्लो समय उनले तरकारी खेती मात्र हैन कुखुरा र बाख्रा पालनसमेत सुरु गरेका छन्। आफू कृषि व्यवसायी बनेपछि घरपरिवार पनि सुखले चलेको राईले बताए।

यसरी व्यावसायिक रूपमा तरकारी खेती गर्दा पनि आफूले सरकारी सहयोग नपाएको बताउँदै सिँचाइको समस्याका कारण समस्या हुने उनको भनाइ छ। कृषिका लागि सरकारका ठूलाठूला योजना बने पनि आफूले तरकारीखेती गर्नका लागि धेरैपटक सरकारी कार्यालयसँग तालिमको प्रास्ताव राख्दा पनि कतैबाट यो सम्भव नभएको गुनासो उनले गरे।

मौसम परिवर्तनसँगै वर्षाको बेला किरा लाग्ने र धेरै टमाटर सडेर जाने गरेको छ। उनले भने, 'हामीजस्ता धेरै कृषकले यसको व्यवस्थापन गर्न सकिरहेका छैनन्, जसले गर्दा बारीमा तरकारी सड्दा लाखौँको हानिनोक्सानी बेहोर्नुपरेको छ।'

त्यसैले आफूजस्तै तरकारी खेतीमा उत्साहित कृषकलाई यसबारे केही तालिमको आवश्यकता रहेको उनको भनाइ छ। मिहिनेत गर्‍यो भने पैसा कमाउन केही समय नलाग्ने केत्तुकेका किसानको भनाइ छ। तरकारी खेतीका साथै कुखुरापालन, बंगुरपालन गर्‍यो भने मासिक तीन लाख रुपैयाँसम्म कमाउन सकिने कृषकहरू बताउँछन्। 

तरकारी खेतीबाटै मासिक ५० हजार

यस्तै, काठमाडौं अध्ययन गर्दागर्दै पुख्यौली पेसा कृषिको भूत जागेर गाउँ फर्केका मानेभञ्ज्याङ गाउँपालिका-४ केत्तुकेकै नारायण राई आफूसँग गाउँमा रहेको तीन रोपनी बाँझो जमिनमा तरकारी खेती गरेर राम्रो कमाइ हुन थालेपछि अहिले आफूलाई घर चलाउन मुस्किल नभएको बताउँछन्।

अन्य कामभन्दा परम्परागत कृषिबाट घरको सामान्य गुजाराबाहेक अन्य केही कमाइ गर्न नसकेका राईले अहिले घरमा आएर गाउँमा रहेको बाँझो जमिनमा तरकारी खेती गर्दा मासिक पचास हजार रुपियाँसम्म कमाइ भएको बताए। अहिले तरकारी खेतीबाट भएको कमाइले बालबच्चा पढाउन र घरखर्च गर्नमा पनि सहज भएको राईको भनाइ छ। पछिल्लो समय युवाहरू विदेशिने क्रम बढेपछि आफ्नै भूमिमा केही गर्नुपर्छ भनेर लागेका किसानहरू बाँझो रहन थालेको जमिनमा बन्दा, काउली, मूला, रायो, सिमी, टमाटरलगायत मौसमी तथा बेमौसमी तरकारी खेती गरेर घरमै राम्रो कमाइ गर्न थालेपछि घरपरिवार चलाउन मुस्किल नभएको बताउँछन्।

दुबईबाट फर्केर व्यावसायिक तरकारी खेती

यस्तै केत्तुकेकै अर्का निर्मल कार्की वैदेशिक रोजगारीमा दुबईमा तीन वर्ष र कतारमा एक वर्ष बसेर नेपाल फर्के। उनी अहिले दुःख गरे आफ्नै माटोमा केही गर्न सकिन्छ भनेर व्यावसयिक कृषि पेसामा लागेका छन्। दुई वर्षदेखि निरन्तर कृषिमा लागेका कार्की माटोमा सुन फल्ने बताउँछन्। खाडीमा गएर १८ घण्टा पसिना बगाउनुभन्दा त्यो पसिना आफ्नो माटोमा बगाए सुन फलाउन सकिने उनले बताए। 

आफ्नो भएको जमिनले तीन महिना खान नपुग्ने कार्कीको परिवार यतिबेला जिवीकोपार्जनका लागि सहज भएको कार्की परिवारको भोगाइ छ। दुई वर्षको बीचमा आफूले माटोमै संघर्ष गरेर वार्षिक तीन लाख बचाउन सकेको कार्कीले बताए। कार्कीले तीनवटा टनेलमा टमाटर खेती गरेर प्रतिटनेल आफ्नो परिश्रम कटाएर ५० हजार बचाउन सफल भएको बताए। कार्कीले टनेलमा टमटरको साथमा बन्दा, काउली,लगाएतका तरकारी लगाइरहेका छन्। तरकारीको साथमा कार्कीले १५ स्थानीय बाख्रा र ब्रोइलर जातको कुखुरा पनि पालेका छन्। नेपालमा रोजगारीको अवसर नदेखी वैदेशिक रोजगारीका लागि दौडिने युवाहरूलाई पसिना बगाए नेपालमा कमाई प्रशस्त भएको बताउँछन् उनी। नेपालमै केही गर्न र वैदेशिक रोजगारीका लागि नजानसमेत अग्रह गर्दछन् उनी।

पछिल्लो समय जिल्लामा व्यावसायिक खेती गर्ने किसानहरूको संख्या बढे पनि बजार नहुँदा उत्पादन भएका तरकारी कुहिएर जाँदा आफूहरु घाटामा पर्नुपरेको किसानहरूको दुखेसो छ। स्थानीय सरकारले गाउँमा कृषिमा लाग्ने युवाहरूलाई केही उद्यम कार्यक्रम ल्याउनुको साटो सडकमा मात्र बजेट खर्च गरी डोजर मालिक र गाउँका अगुवा कार्यकर्तालाई पाल्ने काम गरेको किसानहरूको आरोप छ। राज्यले कृषिमा लगानी गर्ने कुरा सञ्‍चारमाध्यममा आइरहे पनि पाउने अनुदानसमेत आफ्ना आसेपासेहरुलाई मात्रै प्रदान गरीएको यहाँका किसानहरुको भनाइ छ।     

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.