|

दाङ : आफ्ना मागका विषयमा कुनै वास्ता नदेखाएको भन्दै विद्यार्थीले राप्ती बबई क्याम्पसका क्याम्पस प्रमुखलाई कार्य कक्षभित्रै ताला लगाएर थुनेको छन्। मंगलबार बिहान ९ बजेतिर अनेरास्ववियुले क्याम्पस प्रमुख युवराज रावत (प्रकाश)लाई कार्यकक्षमै ताला लगाएर थुनेका हुन्।

साढे ९ बजेतिर ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको प्रहरीले ताला फोडेर क्याम्पस प्रमुखलाई बाहिर निकालेको थियो। विगतका वर्षदेखिका मागमा सुनुवाई गर्नका लागि २४ घण्टे अल्टिमेटम दिएको भए पनि कुनै सुनुवाई नभएपछि आफूहरूले क्याम्पस प्रमुख युवराज रावतलाई थुन्न बाध्य भएको अनेरास्ववियु दाङका अध्यक्ष वीरबल खड्काले बताए।

‘हामीले बिगतदेखि मागहरूलाई सम्बोधन गरिदिन माग गर्दै २४ घण्टे अल्टिमेटम दिएका थियौँ’ उनले भने‘ तर २४ घण्टासम्म पनि आफ्ना मागमा कुनै सनुवाई नगरेपछि हामीले क्याम्पस प्रमुखलाई हुल्न बाध्य भएका हौँ।’ अनेरास्वीयू र अखिल क्रान्तिकारीले यस्तो कदम अघि बढाएको हो।

नियमित पठनपाठन हुनुपर्ने, कक्षा कोठामा प्रध्यापकले मोबाइल प्रयोग गर्न नपाइने, खानेपानी र शौचालयको व्यवस्था गर्नुपर्ने, दुईवटा शैक्षिक संस्थामा पढाउन नपाइने लगायतका माग राखेपनि सुनुवाई नभएपछि आफूहरूले यस्तो आन्दोलनको शुरुवात गरेको उनले बताए।

यता राप्ती बबई क्याम्पसका प्रमुख रावतका अनुसार विद्यार्थीको माग केही पूरा भएको र केही पूरा हुँदै जाने बताए। उनीहरूको मागमा राजनीतिक सहमतिमा पूरा गर्नुपर्ने भन्ने माग पनि छ। त्यसको अर्थ सहायक क्याम्पस प्रमुख नेकपाको हुनुपर्ने भन्ने माग उनीहरूले गरेको क्याम्पस प्रमुख रावतले बताए।

‘उहाँहरूको उद्देश्य भनेको जोरजबरजस्ती गर्ने भन्ने हो, तर म क्याम्पसको नीति, विधि र विधानविपरीत जान सक्दैनँ’ प्रमुख रावतले भने। रावत  क्याम्पस प्रमुख भएको महिना दिन पनि पुगेको छैन। आफू क्याम्पस प्रमुखको रूपमा आएदेखि नै सुधारको कामहरू गर्दै आएको र शैक्षिक सुधारलगायतका जायज मागहरू पूरा गर्न कै लागि आफू लागि पर्नेसमेत बताए। क्याम्पस प्रमुख रावतले ताला लगाउँदैमा र थुन्दैमा आफू विचलित नहुनेसमेत बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.