|

सिन्धुपाल्चोक : भूकम्प गएको बिहीबार चार वर्ष पूरा भयो। गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट अति प्रभावित १४ जिल्लाजस्तै सिन्धुपाल्चोकमा समेत ठूलो जनधनको क्षति पुर्‍यो। लामो समय समस्यामा गुज्रिएका सिन्धुपाल्चोकका भूकम्पपीडितहरुको दिनचर्या अहिले लयमा फर्किँदै छ। भूकम्पले निमेषमै ढलेका भोतिक संरचनाहरु उठेका छन्। 

स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिले पुनर्निर्माणलाई पहिलो प्राथामिकतामा राखेकाले एक वर्षभित्र सिन्धुपाल्चोकको पुनर्निर्माण तीव्र गतिमा भयो। ‘हाम्रो पहिलो आधार जनता हुन्,’ चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले भने, ‘जनतालाई सुरक्षित गर्नु हाम्रो कतव्र्य भएकाले हामीहरुले पहिलो प्राथामिकताको साथ हेरेका हौं।’ नगरपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, पूर्वाधारको व्यवस्थालाई तीव्रता दिएको नगरप्रमुख तामाङको भनाइ छ। 

सिन्धुपाल्चोकमा निजी आवासतर्फ ८८ हजार २४९ ले अनुदान सम्झौता गरेका थिए। जसमध्ये ८५ हजार १७२ जनाले पहिलो किस्ता लिएको जिल्ला कार्यान्वयन आयोजना इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का प्रमुख जयप्रकाश गुप्ताले जनाए। उनका अनुसार ७९ हजार ७४१ लाभग्राहीले दोस्रो र ७३ हजार २७० लाभग्राहीले तेस्रो किस्ता बापतको रकम लिएका छन्। ६७ वटा गुम्बा मर्मतका लागि काम सुरु गर्न लागिएको छ।

७३ हजार नयाँ घर

भूकम्पबाट ध्वस्त भएकामध्ये ७३ हजार २७० लाभग्राहीले नयाँ घर बनाएका छन्। 

भूकम्पमा सिन्धुपाल्चोकमा तीन हजार ५७० जनाले ज्यान गुमाए। जिल्लामा रहेका ६६ हजार ४४८ घरघुरिमध्ये ६२ हजार १४५ घर तथा निजी भवन ध्वस्त भएका थिए। यस्तै, ५४७ विद्यालय, ७५ स्वास्थ्यचौकी, १९५ किमी सडक, १३ पुल र ६९१ खानेपानी आयोजना पूर्णरुपमा क्षति भएको जिल्ला दैवी प्रकोप उद्धार समितिको तथ्यांकमा उल्लेख छ। भूकम्पले भत्काएका मठमन्दिर, गुम्बा, पार्टीपौवालगायका सांस्कृतिक सम्पदाहरु अझै उठ्न सकेको छैन। 

अझै छ समस्या

अनुदानबाट बञ्चित भएकाहरु सिन्धुपाल्चोकमा अझै धेरै छन्। उनीहरु दैनिकजसो नगर र गाउँपालिका कार्यालय पुग्ने गरेका छन्। तर, आफ्ना गुनासो प्राधिकरणले सुनुवाइ नगरेको उनीहरुको भनाइ छ। 

पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको जिम्मा स्थानीय सरकारलाई नै लगाउने घोषण गर्‍यो। त्यसमा १२ वटा स्थानीय तहमध्ये नौ तहले सहमति जनाए। हेलम्बु, पाँचपोखरीथांपाल र इन्द्रावती गाउँपालिकाले वास्तविक पीडितको गुनासो सम्बोधन नभई पुनर्निर्माणको जिम्मा नलिने सम्झौतापत्रमा हस्ताक्षर गरेनन्। 

खर्चको लेखाजोखा छैन

भूकम्पपछि सिन्धुपाल्चोक जिल्लामा राहत, उद्धार र पुनर्निर्माणमा सहयोग पुर्‍याउन भन्दै धेरै गैरसरकारी संस्था प्रवेश गरे। तर, ती संघ संस्थाले कति खर्च गरे भन्ने चार वर्षसम्म कुनै निकायसँग तथ्यांक छैन। 

पीडितको नाममा संघसंस्थाले आर्थिक ब्रह्महलुट मच्चाएको पीडितको गुनासो छ। स्थानीय सरकार आएपछि संघसंस्थाको कार्यमा केही लगाम लागेको छ। तर, अवस्था सुधार आउन सकेको छैन। 

भूकम्पपछि आकस्मिक राहतको नाममा मात्र संघसंस्थाले चार अर्ब रुपैयाँ खर्च गरेको प्रशासनसँग डाटा छ। त्यसपछिको खर्च भयो विवरणको तथ्यांक छैन। सुरुकै अवस्थामा तत्कालीन प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले पीडितको नाममा ४६ अर्ब खर्च भएको डाटा देखाएका थिए। चौतर्फी आलोचनापछि उकत रकम चार अर्बमा सीमित पारिएको थियो। 

यस्तै, संघ संस्थाको आर्थिक हिसाब सार्वजनिक गर्ने दुवाडीपटिका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले प्रतिवद्धता गरेका थिए। तर, उनले पनि खर्च विवरण बुझाउन सकेनन्। गतसाता प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेकी गोमादेवी चेम्जोङलले खर्चबारे थप खोज गर्ने बताएकी छन्।

विद्यालय निर्माण अन्तिम चरणमा

जिल्लामा रहेका ५५७ विद्यालयमध्ये भूकम्पले ५२८ सामुदायिक विद्यालयका भवन पूर्णरुपमा क्षति पुर्‍याएको थियो। शैक्षिक सुधारका लागि विद्यालय मर्ज गरेपछि क्षतिग्रस्त विद्यालय संख्या ५१४ भएको जिल्ला आयोजना कार्यान्वय इकाइका प्रमुख कृष्ण सुवेदीले जनाए। 

भूकम्पले विद्यालयका करिब पाँच हजार कक्षा कोठा क्षतिग्रस्त भएका थिए। उक्त भवनहरुको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.