|

रसुवा : रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ पुरानो लयमा फर्किएको छ। बिनासकारी भूकम्प गएको चार वर्षमा बगरमा परिणत जिल्लाको पर्यटकीय क्षेत्र लाङटाङ पुरानै लयमा फर्किएको हो। 

लाङटाङवासीको लगनशीलता, परिश्रम र खटाई तथा विभिन्न संघ संस्थाको सहयोगमा लाङटाङ पुरानै लयमा देखिन थालेको छ। मानवबस्तीविहीन भएको नेपालको तेस्रो गन्तव्यको रूपमा परिचित लाङटाङमा पुननिर्माण तथा मानिसहरूको दैनिकी परिवर्तन भएसँगै पुरानै अवस्थामा देखिन थालेको गोसाइँकुण्ड गाउँपालिका ४ लाङटाङका वडाध्यक्ष सुब्बा लामाले बताए। उनले भने ‘घरबास नै उठिबास गराउने गरि २०७२ वैशाख १२ गतेकोे भुकम्पबाट यो ठाउँ धेरै आतंकित बनेको थियो तर अहिले यहाँका मानिसहरुको दैनिकि परिवर्तन हुन थालेसँगै यो ठाउँ पुरानो अवस्थामा पुगेको छ।’

पर्यटनका लागि नेपालकै तेस्रो गन्तव्य भए पनि भूकम्पको घाउ बिर्साउएर पहिलेको अवस्थामा ल्याउनका लागि लाङटाङवासी लागि परेका छन्। भूकम्पले लाङटाङ गाँउका सबै होटल तथा घरहरु ध्वस्त देख्दा भग्नावशेषलाई कसरी पन्छाउने भन्ने चिन्ताले पिरोलिएका लाङटाङबासिहरु पर्यटकको आगमन बढेसँगै पुननिर्माणमा जुट्दा लाङटाङ पुरानै अवस्थामा पुगेको हो। स्थानीय नोर्चुङ तामाङले भने ‘कुरुप भएको हाम्रो लाङटाङ अहिले त पुरानो अवस्थामा फर्कदै गएको छ, घरबास नै उठिबास बनाएको भुकम्पको गहिरो घाउँ अझैपनि बिर्सन त सकेका छैनौ तैपनि लाङटाङको सौन्दर्य अहिले पहिले जस्तै देखिन थालेको छ, त्यसैले पनि भुकम्पलाई बिर्सने प्रयास गरि अघि बढेका छौँ।’ 

पदमार्गको सुधार ठाँउठाँउमा होटलहरु निर्माण तथा आवश्यक पर्यटकीय पूर्वाधार निमार्णले स्वदेशी तथा विदेशी पर्यटकहरूको आवागमन बढदै गएको लाङटाङका होटल व्यवसायीले बताएका छन्। भूकम्पलाई बिर्सिएर ध्वस्त पर्यटकीय संरचना तथा होटलहरू पुरानै अवस्थामा ल्याउन लागिपरेको होटल व्यवसायी तामाङले बताए। 

त्यस्तै अहिले लाङटाङवासी पहिलाकै पेसा र व्यवसायमा लागिरहेको स्थानीय ङेरुप तामाङले बताए। उनले भने ‘यहाँको पेशा भनेको होटल र पशुपालन हो, पहिलाको जस्तै सबैजना आ–आफनो व्यवसायमा फर्किसकेका छन्।’  बगरमा परिणत भएको लाङटाङमा अहिले ९५ प्रतिशत पुननिर्माण सम्पन्न भईसकेको राष्ट्रिय पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाई रसुवाले जनाएको छ। लाङटाङमा १२५ घरधुरी रहेको छ। पुननिर्माण गरिएकामध्ये ८५ प्रतिशतले पर्यटक लक्षित होटल व्यवसाय संचालनमा गरेका छन्। जसले गर्दा लाङटाङ पुगेका पर्यटकलाई बसोबासका लागि कुनैपनि समस्या रहेको छैन। 

त्यस्तै भूकम्पपछि लाङटाङमा नभएका प्रहरी चौकी र स्वास्थ्य चौकीसमेत संचालनमा आइसकेको छ भने क्याजिङमा १ सय १० किलोवाटको लघुजलविद्युत् आयोजनासमेत निर्माण भइसकेको छ जसका कारण  लाङटाङ गाउँ अहिले साँझको समयमा झिलिमिली देखिन थालेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.