|

इलाम : कुनै समय नेपालको पूर्वी क्षेत्र नेपाली फुटबलको आधार किल्ला थियो। ६० को दशकमा राष्ट्रिय टोलीका अधिकांश खेलाडी साविकको पूर्वका १६ जिल्लाका हुने गर्थे। राष्ट्रिय टोलीमा मात्र होइन, शहीद स्मारक लिगमा यस क्षेत्रका खेलाडी नभएको कुनै पनि टोली हुँदैन थियो।

तत्कालीन समयमा विभिन्न क्लबको गोलपोस्ट सम्हालेका मीन बस्नेत भन्छन्, ‘शहीद स्मारक लिग त पूर्वका खेलाडीले नै धानेका थिए भन्दा पनि फरक पर्दैन। धेरै खेलाडी हामी पूर्वकै थिए।’ पछिल्लो समय पनि यस क्षेत्रका कर्ण लिम्बु, योगेश गुरुङ, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, सुमन सुवेदी, भरत खवास सक्रियतापूर्वक खेलिरहेका छन्।

राष्ट्रिय स्तरको फुटबलमा बलियो उपस्थिति जनाउँदै आएका खेलाडी भएको तत्कालीन पूर्वाञ्चल अर्थात् अहिले प्रदेश १ फुटबल टिम राष्ट्रिय खेलकुदको इतिहासमा भने सधैं कमजोर नै रहेको छ। २०३८ सालदेखि सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिता तत्कालीन समयमा अञ्चल स्तरीय हुथ्न्यो। २०५५ सालमा नेपालगञ्जमा भएको चौथो राष्ट्रिय खेलकुदमा अञ्चललाई परिमार्जन गरेर विकास क्षेत्रको अवधारणअनुसार खेलाउन थालियो।

त्यस यता भएका चार वटा संस्करणमध्ये साविकको पूर्वाञ्चल टिम ( हाल प्रदेश १) को नतिजा पाँचौ राष्ट्रिय खेलकुदबाहेक अन्यमा सम्झनालायक छैन। यही क्षेत्रमा पर्ने धरानका राजुकाजी शाक्य र झापाका हरि खडकाले राष्ट्रिय टोलीको नेतृत्व गरिसकेका छन्। मोरङका भरत खवास उपकप्तानको रुपमा अहिले पनि राष्ट्रिय टिममा छन्।

२०६५ सालमा काठमाडौंमा भएको पाँचौ राष्ट्रिय खेलकुदमा पूर्वाञ्चल टिमले विभागीय टोली सशस्त्र प्रहरीको एपिएफलाई हराउँदै फुटबलमा स्वर्ण पदक जितेको थियो। त्यसयताका तीन वटै राष्ट्रिय खेलकुदमा पूर्वको टिमलाई सेमिफाइनल पुग्नै मुस्किल देखियो। स्वर्ण जित्दाका कप्तान सुरेन्द्र तामाङ अहिले पूर्वको फुटबल तुलनात्मक खस्केको स्वीर्काछन्। उनी भन्छन्, ‘अहिले पूर्वको फुटबल राजनीतिमा रुमल्लिएको छ। खेलाडी प्रोत्साहनभन्दा पनि पकड जमाउने धेयका कारण पछि परेको हो।’ लामो समयसम्म क्लोज क्याम्प नहुँदा र राष्ट्रिय खेलाडी टिममा सहभागी नहुँदा यस क्षेत्रको फुटबलले राष्ट्रिय खेलकुदमा निराशाजनक प्रदर्शन गरेको उनको बुझाइ छ।

पाँचौ खेलकुदमा पूर्वाञ्चलको कप्तान तामाङ छैटौं खेलकुदमा देखा परेनन्। देखा नपर्नुको कारण खोल्दै उनले भने, ‘छैटौं राष्ट्रिय खेलकुदमा मलाई टिममा नै बोलाइएन।’ सुरेन्द्रको नेतृत्वमा स्वर्ण जित्दाको फाइनलमा एक मात्र गोल बुद्ध चेम्जोङले गरेका थिए। बुद्ध अहिले पनि थ्रीस्टार क्लबबाट व्यवसायिक फुटबल खेलिरहेका छन्। तर, उनलाई प्रदेश १ को टिममा समेटिएको छैन।

राष्ट्रिय टिमका भरपर्दा डिफेन्डर अनन्त तामाङ झापा झिलझिलेका हुन्। एन्फाका उत्पादन उनी हालसम्म कुनै पनि राष्ट्रिय खेलकुदमा सहभागी भएका छैनन्। ‘मलाई कसैले कलअप नै गरेको छैन। प्रदेश टिमबाट खेल्नुपर्छ भनेर कसैले भनेनन्,’ अनन्तले भने, ‘आफनै प्रदेशको टिमबाट खेल्ने रहर थियो।’

शहीद स्मारक ए डिभिजन प्रतियोगितामा खेल्ने प्रदेश १ अन्तर्गत झापाका कर्ण लिम्बु, योगेश गुरुङ, दिलेन लोक्ताम, एन्जल गुरुङ, दिनेश थापा मगर हुन्। उनीहरुले गत पुसमा सम्पन्न ए डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेको जगजाहेर छ। यस्तै, इलामका छिरिङ गुरुङ, मोरङका नीरज बस्नेत, रजिन धिमालको प्रदर्शन पनि सम्झनलायक छ। तर, आठौं राष्ट्रिय खेलकुदमा उनीहरु प्रदेश १ को टिममा समावेश थिएनन्।

छनौटमा राष्ट्रिय खेलाडी सहभागी हुँदैनन्

झापा जिल्ला फुटबल संघका अध्यक्ष तथा पूर्वप्रशिक्षक भगिरथ आले ‘मामा’ राष्ट्रिय खेलकुदका लागि हुने छनौटमा राष्ट्रिय स्तरका खेलाडीहरु सहभागी नहुने गरेको बताउँछन्। ‘राष्ट्रिय खेलाडी भन्दैमा एकैचोटी टिममा हाल्ने कुरा हुँदैन। जिल्ला हुँदै प्रदेश टिममा पुग्नुपर्‍यो। आफ्नो कौशल देखाएर स्थान बनाउन सक्नुपर्छ,’ उनले भने, ‘एकैचोटी सिनियरलाई हाल्दा पनि टिम बलियो हुने होइन। जुनियरसँग कम्बिनेसन मिलाउन सक्नुपर्छ।’

गाउँगाउँमा स्तरीय खेलाडी भए पनि राष्ट्रिय खेलकुद परिषदभित्रको राजनीतिले खेलाडीहरुमा फुटबलप्रतिको आकर्षण घट्दै गएको आलेको भनाइ छ। राष्ट्रिय खेलकुदमा सहभागी भएर पदक प्राप्त गर्दा गौरव गर्न सक्ने वातावरण नहुँदा आर्कषण घट्दै गएको आलेको तर्क छ। पूर्वराष्ट्रिय खेलाडी तथा झापा–११ का प्रशिक्षक प्रवेश कटुबालको तर्क पनि आलेसँग मिल्न जान्छ। उनी पनि राष्ट्रिय स्तरका खेलाडीहरु छनोट प्रक्रियामा सहभागी नहुँदा प्रदेश १ को टिम कमजोर बनेको बताउँछन्। उनले भने, ‘गोल्डकपको हकमा भन्ने हो भने पूर्वका टिम बलिया छन् तर राष्ट्रिय खेलकुदमा सधैं कमजोर हुनुको मुख्य कारण प्रदेश टोलीमा राष्ट्रिय खेलाडीको कमी नै हो,’

यता पाँचौ राष्ट्रिय खेलकुदमा गोलपोष्ट सम्हालेका मीन बस्नेत छनोटमा सहभागी हुनेले मात्र टिमबाट खेल्ने परिपाटी प्रदेश १ एकमा रहेको दाबी गर्दछन्। उनले भने, ‘सिनियर छनोटमा आउँदैनन्। हाम्रो पालामा पनि आठ जना राष्ट्रिय खेलाडी पूर्वकै थिए तर टिममा अटाएनन्। सिनियर र जुनियरको कम्बिनेसनले पदक जितेका थियौं।’

सातौँ राष्ट्रिय खेलकुदको पुरुष फुटबलमा पश्चिमाञ्चलविरुद्ध जित निकाले पनि समूहको अन्तिममा रह्यो पुर्वाञ्चल टिम। आठौँ राष्ट्रिय खेलकुदमा प्रदेश १ को महिला तथा पुरुष दुवै टिमले सेमिफाइनलमा स्थान बनाउन सकेनन्।

महिला टिमको पनि अवस्था उस्तै

नेपाली महिला फुटबलमा पूर्वका धेरै खेलाडीहरु छन्। गत चैतमा सम्पन्न पाँचौ साफमा नेपालको नियमित सेटमा गोलरक्षकसहित पाँच जना प्रदेश १ का स्थायी बासिन्दा थिए। तर आठाँै राष्ट्रिय खेलकुदमा उनीहरु तीन वटा विभागीय टिमबाट खेले।

व्यवसायिकता र भविष्यको सुनिश्चितताका लागी महिला फुटबलरको आकर्षण विभागीय टिम हो। छैटौँ राष्ट्रिय खेलकुदमा साविकको पूर्वाञ्चल टिम चौथो हुँदा गोलपोष्ट इलामकी एञ्जिला सुब्बाले सम्हालेकी थिइन्। उनको खेलबाट प्रभावित भएपछि एपिएफले आफ्नो टिममा अनुबन्ध गर्‍यो। सशस्त्र प्रहरीको जवान पदमा कार्यरत सुब्बाले २०७१ सालबाट निरन्तर एपिएफ टिमको गोलपोष्ट सम्हाल्दै आएकी छिन्।

छैटौँ राष्ट्रिय खेलकुदमा पूर्वाञ्चलबाटै खेलेकी मोरङ पथरी शनिश्चरे–१ की दीपा न्यौपानेले साताँै र आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिमबाट खेलिन्।  प्रदेश टिमबाट खेल्ने रहर हुँदा हुँदै पनि रोजीरोटीका कारण विभागीय टिम रोज्नु परेको उनको भनाइ छ। ‘प्रदेशकै टिमबाट खेल्ने रहर नभएको कहाँ हो र?, उनले प्रष्टीकरण दिँदै भनिन्, ‘जीवन धान्न विभागीय टिम नै रोज्नुपर्छ।’

राष्ट्रिय खेलकुदमा प्रदेशको टोलीमाथि विभागीय क्लब हावी हुँदै गइरहेको छ। राष्ट्रिय टोलीकी डिफेन्डर हीराकुमारी भुजेल प्रदेश टिममा भविष्य नरहेको बताउँछिन्। ‘विभागबाट खेल्दा नियमित अभ्यास र खेल सामग्री पर्याप्त हुन्छ,’ उनले भनिन्, ‘प्रदेश टिमबाट केही न केही। राष्ट्रिय गेम खेलिस भन्दा खेले भन्नुपर्ने अवस्था छ  अहिले।’ प्रदेशको खेलकुद क्षेत्रमा व्यवसायिकताको खाँचो रहेको उनको सुझाव छ। उदयपुर कटारी नगरपालिका–५ की स्थायी बासिन्दा उनी छैटौँ राष्ट्रिय खेलकुदमा मध्यमाञ्चल टिमबाट खेलेकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.