|

भक्तपुर : भूकम्प इन्जिनियरिङ र विपद्पछिको पुननर्निर्माण योजनाबारे तीनदिने दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन भक्तपुरमा बिहीबारदेखि सुरु भएको छ। ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङले आयोजना गरेको सो सम्मेलनमा छिमेकी मुलुक चीन, भारतलगायत जापान, बेलायत, दक्षिण कोरियाका १२ जना विज्ञहरुको प्रस्तुति रहनेछ।

सम्मेलनमा करिब १६ जना विदेशी प्राध्यापक, अनुसन्धानकर्ता, शोधकर्ताहरूको सहभागिता रहेको छ। नेपाल र अन्य मुलुकमा बसी अनुसन्धान र शोधकार्य गरिरहेका नेपाली प्राध्यापक र शोधकर्ताहरूका ५० वटा शोधपत्र प्रस्तुति रहने सम्मेलनमा २५० जनाको सहभागिता रहने आयोजकले जनाएको छ।

सम्मेलनमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी श्रेष्ठ (जोशी)ले ‘भक्तपुर नगरको मूर्त र अमूर्त सम्पदाको पुनर्जीवन’ शीर्षकमा भक्तपुर नगरपालिकाले गर्दै आएको कला–संस्कृति संरक्षण र सम्पदा पुनर्निर्माणको कार्यहरूको बारेमा प्रस्तुतीकरण दिनेछन्। पुल्चोक क्याम्पस, त्रिभुवन विश्वविद्यालयका संरचना विज्ञ प्राडा. प्रेमनाथ मास्केले ‘भूकम्पपछिको पुनर्निर्माणमा परम्परागत गारोवाला संरचना’ विषयमा प्रमुख वक्ताका रुपमा प्रस्तुति दिनेछन्।

त्यसैगरी पुल्चोक क्याम्पसका अर्का प्राडा. सुदर्शनराज तिवारीले ‘शहरी सम्पदा क्षेत्रको संरक्षणका चुनौती’, टोक्यो इन्स्टिच्युट अफ टेक्नोलोजी, जापानका प्राडा. सुसुमु कोनोले ‘आर सी भवनको लचिलोपना– जापानी प्रयास र संघर्ष’ विषयमा प्रस्तुति दिनेछन्।

भूकम्प र विपद पछिको पुनः निर्माण योजनाका विषयमा आफ्नो अनुसन्धानको उपलब्धि र अनुभवहरु प्रस्तुत गर्न र छलफल गर्न इच्छुक विभिन्न देशका अनुसन्धानकर्ता, प्राज्ञ र पेशाकर्मीहरुलाई एक स्थानमा ल्याउने डबली तयार गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको बताइएको छ।

सम्मेलनको पहिलो र दोस्रो दिनमा ६ वटा सत्रमा समानान्तर तीन वटा सेमिनार हल गरी भूकम्प इन्जिनियरिङ र विपद् पछिको पुनःनिर्माण योजनासंग सम्बन्धित विभिन्न विषयहरुमा ६२ वटा कार्यपत्रहरु प्रस्तुत गरिनेछ।

सम्मेलनमा सहभागी विदेशी र विशिष्ट पाहुनाहरुलाई भक्तपुर नगरमा भइरहेको पुनर्निर्माणको स्थलगत अवलोकन गराउने कार्यक्रम सम्मेलनको तेस्रो दिनका लागि राखिएको छ। सम्मेलनको अन्तिम दिन वैशाख १४ गते साँझ कलेज प्रांगणमा परम्परागत भैल प्याखं र सांस्कृतिक प्रस्तुतिसँगै सहभागीहरुलाई विदाई गरिनेछ।

सम्मेलनको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सम्मेलनबाट प्राप्त प्राविधिक परामर्श र निचोडलाई संघीय सरकार, प्रादेशिक सरकारहरू र स्थानीय तहका सरकारहरूलाई सम्बन्धित विषयमा जोखिम न्यूनीकरण गर्न ऐन–कानुनहरूको तर्जुमा गर्न कलेजहरूमार्फत ती सल्लाहबारे अवगत गराउनुपर्ने बताए। समाजलाई भूकम्पको जोखिमबाट कसरी न्यूनीकरण गर्ने भन्नेबारे सम्मेलनमा देशी र विदेशी प्राविधिकहरूले आ–आफ्नो अनुभव, ज्ञान र जानकारीको आदान–प्रदान गर्नुपर्नेमा उनको जोड थियो।

अध्यक्ष बिजुक्छेँले भवन निर्माणका ऐन–कानुन र आचारसंहितालाई बेवास्ता गर्दा २०७२ सालको भूकम्प र पराकम्पनले धेरै धनजनको क्षति बेहोर्नुपरेको र अब त्यसबाट शिक्षा लिएर निर्माण संहिताअनुसार भवन निर्माण र समय–समयमा मर्मत सम्भार गर्दै जानुपर्ने बताए। उनले भने, ‘चार वर्षपछि पनि भूकम्पको पराकम्पनले समाजलाई तर्साउँदै छ, हाम्रो देश भूकम्पीय क्षेत्रमा परेको हुनाले यसबाट हामी मुक्त हुन नसक्नेबारे सबै जानकार छौं।’

प्रतिनिधिसभाका सांसद प्रेम सुवालले काठमाडौं उपत्यकामा करोडौं जनसंख्या बसाउने सरकारको नीतिकै कारण थप क्षति र विपद्को सिर्जना हुने बताउँदैं खुला क्षेत्र र सार्वजनिक सम्पदामा भएको अतिक्रमण र अनियमितता तुरुन्त रोक्नु पर्नेमा जोड दिए। 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०७२ सालको भूकम्पबाट ७ लाख ६२ हजार ६०४ घर पूर्ण क्षति भएकोमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार ३ लाख ८२ हजार ६०० घरको पुनर्निर्माण सम्पन्न भइसकेको र भूकम्प गएको ४ वर्ष बितिसक्दा पनि लाखौं घरहरू पुनर्निर्माण गर्न बाँकी रहेको बताए। 

प्रमुख प्रजापतिले भक्तपुर नपाले १७ वटा मन्दिर, ३४ वटा पाटी, ४ वटा द्यो छेँ, ३ वटा प्रवेशद्वार, ५ वटा ढुंगेधारा र अन्य ५ वटा गरी ८३ वटा सम्पदाहरूको पुनर्निर्माण र जीर्णोद्धार सम्पन्न गरिसकेको र ३२ वटा सम्पदाहरू निर्माणाधीन अवस्थामा रहेको जानकारी गराए। उनले मौलिक शैलीलाई जोगाउन जनताको सक्रिय सहयोग विना सम्भव नहुने बताउँदै भने, ‘नगरपालिकाले पुरानो नगर क्षेत्रमा नक्सा नियमानुसार र परम्परागत शैलीमा घर निर्माण गर्ने घरधनीहरूलाई मोहडामा लाग्ने काठ, इँटा र झिंगतीमा ३५ प्रतिशत अनुदान दिँदै आएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.