|

सोलुखुम्बु : सगरमाथा आधार शिविरदेखि क्याम्प -३ सम्मको बाटो खुलेको छ। पर्वतारोहण संचालक संघका अध्यक्ष डम्बर पराजुलीका अनुसार बिहीबारदेखि क्याम्प -३ सम्मको बाटो खुलेको हो।

आधार शिविरदेखि क्याम्प २ सम्मको बाटो सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी) का आइसफल डक्टरले बनाउँछन् भने त्यस भन्दामाथि पर्वतारोहण संचालक संघको टोलीले बनाउँने गर्छ। 'आठ जनाको टोलीले बिहीबार क्याम्प तीन सम्मको बाटो बनाइसकेका छन्' संघका अध्यक्ष पराजुलीले भने,'केही दिनमै क्याम्प चार हुँदै चुचुरो सम्मको बाटो बनाउने काम सुरु हुन्छ।' 

चैतको अन्तिम साता एसपीसीसीबाट खटिएका १० जना आइसफल डक्टरको टोलीले हिम खाल्डा, हिम नदीमा भर्‍याङ राख्ने र डोरी टाङ्ने काम सकेपछि क्याम्प तीनतर्फको बाटो बनाउने काम सुरु भएको थियो। 'बाटो खुलाउनको लागि मौसम प्रतिकूल हुनुपर्छ। त्यसमाथि पनि डोरी, स्नोवार लगायतको करिब ७० भारी भन्दा बढी सामानसहित जानुपर्छ' अध्यक्ष पराजुलीले भने, 'सामान्य तय विगत वर्षलाई हेर्दा मेको १२ देखि १८ सम्ममा शिखर चढ्ने वातावरण बनिसक्छ।'

यो सिजनमा ८०० बढीले हिमालको आरोण गर्ने 

देशको २७ हिमाल आरोहणका लागि ८२० आरोहीले आरोहण अनुमति पाएका छन्। पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार बिहीबारसम्म विश्वको सर्वोच्च शिखर सगरमाथा सहितका हिमालको शिखर चुम्न ९८ समूहबाट अनुमति पाएका हुन्। आरोहण दलमा सबैभन्दा बढी सगरमाथा क्षेत्र आउने आरोही रहेको पर्वतारोहण शाखाका नायव सुब्बा रामेश्वर निरौलाले जानकारी दिए। उनका अनुसार सगरमाथा आरोहणका लागि ३८ समूहका ३७५ जनाले अनुमति पाएका छन्। यो गतवर्षको तुलनामा ११ जनाको संख्या बढी छ। 

सगरमाथानजिकै रहेको लोत्से हिमाल आरोहणका लागि १० समूहका ९२ जनाले अनुमति लिएका छन् भने नुप्त्से हिमाल आरोहणका लागि ३ समूहका ३७ जना, आमादब्लमका लागि ५ समूहका ४९ जना, कंचनजंगा हिमाल आरोहणका लागि ६ समूहका ३४ जना, मकालुका लागि ४ समूहका ५३ जना, अन्नपूर्णका लागि ३ समूहका २३ जनासहित अन्य २७ हिमाल आरोहणका लागि ८२० आरोहीले अनुमति पाएको विभागले जनाएको छ। 

४०० नौ आरोही आधार शिविरमा

आरोहण अनुमति लिने मध्ये विश्वको सर्वोच्च शिखर सगरमाथासहित ३ वटा हिमाल आरोहणका लागि अधिकांश आरोही आधार शिविर पुगेका छन्। बिहीबारसम्म ३९ समूहका ४०९ आरोही नाम्चेबाट उकालो चढेको सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी) नाम्चेको तथ्यांकमा उल्लेख छ। सगरमाथा आरोहणका लागि अनुमति पाउने ३८ समुहका ३७५ जना मध्ये ३३ समूहका ३४२ जना नाम्चेबाट उकालो चढेका छन् भने अधिकांश आधार शिविरमा पुगेर बसेका छन्।

जसमा सगरमाथाको उचाई मापन गर्ने एकसहित तीन समूहका ११ जना नेपाली टोली रहेका छन्। गत वर्ष यही सिजनमा चार नेपालीसहित ३८ आरोही दलका ३६४ आरोहीले आरोहण अनुमति लिएका थिए। 

केही आरोही नाम्चेबाट उकालो चढ्दै

एसपीसीसीका कार्यक्रम अधिकृत कपिन्द्र राईका अनुसार बिहीबारको दिन १ समुहका १० जनाको टोली नाम्चेबाट आधार शिविर प्रस्थान गरेको छ। अधिकृत राईले भने, 'आरोही हामी कहाँ आउने दर्ता गर्ने र उकालो चढ्ने क्रम जारी छ।' नाम्चेबाट पाँच क्याम्पमा आधार शिविर पुग्न सकिन्छ। सगरमाथा आरोही किताब सिं तामाङका अनुसार नाम्चेबाट तेङ्बोचे, दिङ्बुचे,लबुचे र गोरप्सेप मा क्याम्प बस्दै आधार शिविर पुगिन्छ।

सगरमाथानजिकै रहेको लोत्से हिमाल आरोहणका लागि १० समूहका ९२ जनाले अनुमति लिएकोमा ५ समूहका ५३ जना र नुप्त्से हिमाल आरोहणका लागि ३ समूहका ३७ जनाले आरोहण अनुमति लिएको भए पनि १ समूहका १२ जना चाहिँ आधार शिविरतर्फ प्रस्थान गरेका छन्। आधारशिविर पुग्ने आरोही अहिले क्याम्प १, २ पुग्ने पुनः आधार शिविर झर्दै उचाई पचाउने लगाएतको आवश्यक तयारी गरिरहेका छन्। 

आरोहणका लागि के कति कहाँ खर्च? 

हिमाल आरोहीबाट सरकारले रु.४८ करोड ७३ लाख ८ हजार १९२ राजश्व संकलन गरेको छ। सगरमाथा आरोहीबाट मात्रै ४३ करोड ६२ लाख ३० हजार ९१२ राजश्व संकलन गरेको छ। हिमाल आरोहीबाट सरकारले सिजन अनुसार फरक-फरक सलामी दस्तुर लिने गरेको छ। बिदेशी सगरमाथा आरोहीबाट नेपाल सरकारले ११ हजार डलर र नेपाली आरोहीबाट प्रतिव्यक्ति ७५ हजार लिने गर्छ।

विदेशी आरोहीले खुम्बुआइसफल रुड फि बापत ६०० अमेरिकन डलर सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी) लाई बुझाउँछन्। सोही रकमबाट एसपीसीसीले सगरमाथा आधार शिविरदेखि क्याम्प दुईसम्मको बाटो खोल्ने काम गर्छ। यस्तै क्याम्प -३ देखि चुचुरो सम्मको बाटो खुलाउनको लागि पर्वतारोहण संचालक संघले ३० हजार लिन्छ। 

आरोहणका लागि विभिन्न कम्पनीमार्फत जाने व्यवस्था रहेको छ। जसको लागि एक आरोहीले ३५ लाखदेखि एक करोडसम्म कम्पनीलाई बुझाउने गरेको पर्वतारोहण संचालक संघका अध्यक्ष डम्बर पराजुलीले बताए। 'जसले जति शुल्क बुझाउँछ, त्यति नै बढी सविधा पाउँछ' पराजुलीले भने,'अक्सिजनदेखि खाने, बस्ने, उनीहरूको सहयोगीको व्यवस्थापन लगायतको सबै त्यसैभित्र पर्छ।' यस्तै खुम्बु पासाङल्हामु गाउँपालिकाले प्रवेश शुल्कबापत प्रति पर्यटक २ हजार लिने गर्छ। यस अघि नेपाल सरकारको अनुमति पाएको नेपाल पर्यटन वोर्ड र टानले वितरण गर्ने टिम्स कार्ड निषेध गर्दै गाउँपालिका आफैँले पर्यटकबाट शुल्क लिँदै आएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.