मुद्दा - राजद्रोह, आगजनी, राष्ट्रहित प्रतिकूल कार्य

|

धनगढी : शुक्रबार बिहान ६:३० बजे कैलालीको धनगढी उपमहानगरपालिका ४ बसपार्कबाट प्रहरीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका सेती ब्युरो सचिव भगतसिं भनिने डबलबहादुर शाहलाई पक्राउ गर्‍यो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वाटर कैलालीबाट खटिएको टोलीले चेक जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको थियो। पूर्वसभासद समेत रहेका शाह विरुद्ध प्रहरीले राजद्रोह मुद्दा दर्ता गरेको छ। 

शाह विरुद्ध कैलाली जिल्ला अदालतमा ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले बिहानै शाहलाई पक्राउ गरे पनि यसलाई पुष्टि भने गरेको थिएन। पक्राउ गरेको ११ घण्टा पछि प्रहरीले उनीसहित अन्यलाई पनि पक्राउ गरेको जनाएको छ।

को– को परे पक्राउ, कसलाई कस्तो मुद्दा?

प्रहरीले चैत्र ११ गते विप्लव समूहका युथ रेडफोर्स जिल्ला संयोजक    २८ वर्षीय रुपेश देवकरलाई पक्राउ गरेको थियो। देवकरलाई प्रहरीले आपराधिक उपद्रव गरी आगो लगाएको सम्बन्धी मुद्दा चलाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

त्यसै गरी चैत्र १७ गते जिल्ला सदस्य जगत आउँजी लाई प्रहरीले पक्राउ नियन्त्रणमा लियो। उनीविरुद्ध पनि आपराधिक उपद्रव गरी आगजनीको मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ। 

चैत्र २३ गते जिल्ला सचिवालय सदस्य ध्रुव सन्ज्याललाई कैलाली लम्की चुहा नगरपालिका १ बाट पक्राउ गरेको थियो। उनी जिम्माजमानीमा छुटेका छन्। चैत्र २७ गते किसान संघ जिल्ला अध्यक्ष ५५ वर्षीय उदयराम थापालाई कैलाली बर्दगोरिया गाउँपालिका ३ बाट पक्राउ गरी राजद्रोह, आपराधिक षडयन्त्र, राष्ट्र हित प्रतिकुल कार्य, सङ्गठित अपराध शीर्षकमा मुद्दा दर्ता गरेको छ। सोही दिन बर्दगोरियाबाट जनसरकार प्रमुख    अमर बमलाई पक्राउ गरेको थियो। उनलाई पनि राजद्रोह, आपराधिक षडयन्त्र, राष्ट्र हित प्रतिकुल कार्य, सङ्गठित अपराध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

सोही दिन कैलाली गोदावरी नगरपालिका ५ गेटा नहरटोलबाट ३५ वर्षीया सीता देउकरलाई पक्राउ गरेको थियो। उनलाई जिम्मा जमानीमा छोडिएको भए पनि मुद्दा चालु रहेको छ। 

२८ गते घोडाघोडी नगरपालिका ३ जुरपानीबाट इन्द्रबहादुर बमलाई प्रहरीले पक्राउ गरेको थियो। बमलाई राजद्रोह, आपराधिक षडयन्त्र, राष्ट्र हित प्रतिकुल कार्य, सङ्गठित अपराध शीर्षकमा मुद्दा दर्ता गरेको छ। 
वैशाख ८ गते कृष्णबहादुर शाहीलाई पक्राउ गरी सार्वजनिक हितसमेत विरुद्धको कसुर अपराध अन्तर्गत अभद्र व्यवहार मुद्दा शीर्षकमा थप अनुसन्धान भइरहेको जनाएको छ। ८ गते नै अखिल नेपाल क्रान्तिकारी महिला संघकी केन्द्रीय अध्यक्ष बन्धुकुमारी चन्दलाई सार्वजनिक हित विरुद्धको कसुर अपराध अन्तर्गत अभद्र व्यवहार अभियोगमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सोही दिन लालबहादुर बिसीलाई प्रहरीले पक्राउ गरी आपराधिक उपद्रव  र आगजनी लगायतका कसुरमा अनुसन्धान गरिरहेको छ। 

विप्लवका कार्यकर्ता पुष्पराज न्यौपानेलाई बैशाख ९ गते पक्राउ गरी सार्वजनिक हित तथा नैतिकता विरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। १० गते दानबहादुर फडेरालाई पक्राउ गरिएको थियो। उनलाई आपराधिक उपद्रव गरी आगो लगाएको मुद्दा    थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

शुक्रबार बिहान मात्रै प्रहरीले पक्राउ गरेका डबलबहादुर शाह विरुद्ध राजद्रोह मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

शुक्रबार थप दुई जना पक्राउ

शुक्रबार नै प्रहरीले कैलालीको टीकापुरस्थित एकता शिविरबाट विप्लवलका एरिया नम्बर ८ का दुई जना सदस्यलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३४ वर्षीय दीपेन्द्र रसाइली र ३३ वर्षीय पूर्णबहादुर खड्का रहेको स्रोतले बताएको छ। कैलाली प्रहरीले भने यसको आधिकारिक जानकारी दिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.