|

पर्वत : कवि भूपी शेरचनको जन्म गाउँ मुस्ताङको टुकुचे राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरले विस्थापित हुने खतरा बढेको छ।

भूपीको पुर्ख्यौली थलो टुकुचेमा गाउँका २८ वटा घर कोरिडोरमा परेपछि विस्थापनको खतरामा परेको हो। ऐतिहासिक गाउँ सडकका कारण विस्थापनमा पर्ने भएपछि टुकुचेवासीले यसको विरोध गरेका छन्। कवि शेरचनको पुर्ख्यौली गाउँ नेपाली साहित्यिक इतिहासका लागि महत्त्वपूर्ण भएकाले त्यसलाई विकासको नाममा विस्थापन गर्न नहुने स्थानीयवासीले ‘गाउँ बचाउ अभियान’ समेत चलाएका छन्।

कोरिडोर सडकलाई पुनः सर्भे गरेर गाउँ जोगाउने गरी सडक निर्माण गर्न अनुरोध गरिएको स्थानीय पथबहादुर थकालीले बताए। टुकुचेको वस्तीभित्रबाट सडक लगेमा थाक टुकुचेको पहिचान लोप हुने खतरा रहेको उनको भनाइ छ। 

राष्ट्रिय गौरवको आयोजना जिल्ला र गाउँमा पर्नु स्वागतयोग्य भए पनि इतिहासलाई मेटाएर निर्माणका काम अघि बढाउनु गलत हुने स्थानीयको भनाइ छ। सडक निर्माण गरेर पनि वस्ती संरक्षणका लागि दुई वटा विकल्प भएकाले पहिले गरिएको सर्भेलाई परिवर्तन गरेर नयाँ गर्नुपर्ने थासाङ–१ अध्यक्ष रत्नप्रसाद ज्वाहारचनले बताए।

‘टुकुचे गाउँ सडक बिस्तारका कारण सङ्कटमा परेकाले बस्ती बचाउ अभियानमा सबै पक्ष लाग्नुपर्ने बेला आएको छ,’ उनले भने, ‘मुस्ताङको इतिहास बोकेको टुकुचेको गाउँलाई विस्थापित नगर्ने गरी सडक निर्माण गर्ने विकल्प हुँदाहुँदै इतिहास नामेट गरी सडक बिस्तार गर्नु ठिक होइन।’

सर्भे हुन अगावै टुकुचेको बस्तीभन्दा पछाडिबाट सडक खन्न प्रक्रिया अघि बढाइएको भए पनि डिभिजन सडक कार्यालय बाग्लुङमा प्रक्रिया ढिलाइ हुँदा बस्ती विस्थापित हुन अवस्था आएको गाउँवासीको गुनासो छ। डिभिजन कार्यालयका इन्जिनियर जगत प्रजापतिले भने सडक बिस्तारका कारण गाउँलाई पर्न सक्ने असरप्रति आफूहरू गम्भीर रहेको बताए।

मन्त्रालय र विभागको निर्णयले मात्र सडकको सर्भे हेरफेर हुनसक्ने उल्लेख गर्दै उनले डिजाइन परिवर्तन गर्दा सुरक्षित सडक र लागत रिपोर्ट पेस गर्नुपर्ने प्रष्ट्याए। टुकुचेमा बस्तीभित्र वा बाहिरबाट लैजाने भन्ने बारे कोरिडोरले थप अध्ययन थालेको पनि इन्जिनियर प्रजापतिको भनाइ छ।

मुस्ताङबाट निर्वाचित प्रदेशसभा सदस्य महेन्द्रबहादुर थकालीले पनि कोरिडोर सडक बिस्तार महत्त्वपूर्ण भए पनि सडक बिस्तारका क्रममा ऐतिहासिक सम्पदा र बस्ती संरक्षणमा ध्यान दिइनुपर्ने बताउँछन्।  ‘कालिगण्डकी कोरिडोरको राष्ट्रिय गौरवको आयोजनाले मुस्ताङलगायत प्रदेशको समृद्धि हासिल हुन सक्छ,’ उनले भने, ‘तर समृद्धिको खोजीमा सांस्कृतिक र ऐतिहासिक ठाउँ र वस्तुलाई मेटाउनु राम्रो होइन, हरेक कुराको विकल्प हुन्छ, यसको पनि विकल्प छ।’ आर्थिक र प्राविधिक हिसाबले सडक परिवर्तन गर्न अप्ठ्यारो नभए त्यसको विकल्पमा जान कुनै कठिनाइ नहुने सांसद थकालीको भनाइ छ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले सडकका कारण नेपालको ऐतिहासिक गाउँ नै खतरामा पर्ने भएमा त्यसको विकल्प खोज्नुपर्ने बताउँछन्। बस्तीबाहिरबाट सडक लैजाँदा बस्ती संरक्षण हुनुका साथै कवि शेरचनको जन्मथलोको संरक्षणमा सजिलो हुने र नदी कटानको जोखिमबाट पनि सडक सुरक्षित रहने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.