हिजो सरकार मात्रै फेरिन्थे अहिले प्रणाली नै फेरियो

|

कञ्चनपुर : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले जनप्रतिनिधि र जनता विचको विश्वासको धागो चुडिन दिन नहुने बताएका छन्। आइतबार बेदकोट नगरपालिकाको चौथो नगरसभा तथा नवनिर्मित भवन समुद्घाटन गर्दै मन्त्री पोख्रेलले जनप्रतिनिधि जनताको साझा सम्पत्ति भएकाले जनताले स्वामित्वको दाबी गर्नु स्वाभाविक भएको बताए।

 ‘जनताका प्रतिनिधि भएपछि जनताको मन जित्ने कार्य गर्नुपर्ने हुन्छ’ उनले भने। समृद्ध नेपाली, सुखी नेपालीको नारा देशलाई धनी बनाउन र जनतालाई सुखसहेल बनाउनका लागि सरकारले अघि सारेको उनले बताए। देशलाई धनि बनाउन पाँच कुराको आवश्यकत पर्ने चर्चा गर्दै उनले कृषिलाई व्यवस्थित गरी भू उपयोग नीतिमा परिवर्तन गर्नु आबश्यक भएको उनले बताए।

उनले भने, ‘कुन ठाउँमा कस्तो किसिमको खेती गर्न सकिन्छ। कुन ठाउँलाई आवासका लागि प्रयोग गर्न सकिन्छ। यसबारे भू नीतिमा व्यवस्था गरिनुपर्दछ।’ जलस्रोतलाई व्यवस्थित गरी भण्डारण गरी कृषिसँगै वातावरण संरक्षण गर्न सकिने उनले बताए।

हिजो सरकार मात्रै फेरिन्थे अहिले प्रणाली नै फेरियो

पर्यटन प्रवर्द्धन गर्ने अधिकार संविधानतः स्थानीय सरकारलाई प्रदान गरिएकाले विज्ञको सल्लाहमा योजना बनाई स्रोतपरिचालन गरी कार्य अगाडि बढाउन सकिने मन्त्री पोख्रेलले बताए। ‘यसका लागि जनपरिचालन गरेर पनि गर्न सकिन्छ।’ उनले भने, ‘हिजोका दिनमा सरकार मात्रै फेरिन्थे। अहिले प्रणालीनै फेरिएकाले कानुन निर्माण, संरचना निर्माणमा पहिलो वर्ष बित्यो। समृद्ध नेपाली, सुखी नेपालीको जग बसेकाले दोश्रो बर्ष देखि विकास निर्माण कार्य तिव्रगतिमा अगाडी बढाउने सरकारको योजना छ’ उनले भने।

ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा कार्यक्रमअन्‍तर्गतको भत्ताको रकम सरकाले चालू आवदेखि बढाउँदै लैजाने उनले बताए। गत वर्ष एक लाख १० हजार ज्‍येष्ठ नागरिकको स्वास्थ्य बिमा गरियो उनले भने, ‘दोस्रो वर्षदेखि भत्ताको रकम बढछ। ज्येष्ठ नागरिकलाई रु पाँच हजार भत्ताको रकम प्रदान गर्ने हाम्रो प्रतिबद्धता हो। त्यो पूरा गर्छौं।’ दुईतिहाइको सरकारले चुनावमा जे प्रतिबद्धता गरेको छ। सरकारको नीतिमा जे भनिएको छ। त्यो पूरा गरेरै छाडने उनको भनाइ थियो।  

अहिलेसम्म भारतसँग मात्रै हाम्रो सडक मार्गमा कनेक्टभिटी रहेको छ। अब चीनसँगसमेत सडक कनेक्टिभिटीसँग जोडिँदै छौँ। त्यसका लागि राष्ट्रिपतिले चिनियाँ समकक्षीसँग आज सम्झौता पत्रमा हस्ताक्षर गर्दैछन्। दुवै देश संगको सडक सञ्जालमा जोडिएपछि समृद्धिको ढोका खुल्ने मन्त्री पोख्रेलले बताए। कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको कार्य अगाडि बढाउने, दैजी जोगबुढा सडकको कार्य अगाडि बढाउने, महाकाली अञ्चल अस्पतालमा चिकित्सकको व्यवस्था गर्ने, विश्वविद्यालयमा विधि र प्रकृया सम्मत पदाधिकारीको नियुक्ती गर्ने कार्य र सुख्खा बन्दरगाह निर्माणको कार्य अगाडी बढानका लागि सरकार प्रतिबद्ध रहेको उनले बताए।

जनताले चुनेका जनप्रतिनिधिले जनताको अपेक्षा अनुसार कार्य गर्नु पर्ने उल्लेख गर्दै उनले जनप्रतिनिधिले निष्ठा र इमान्दारीपूर्वक कार्य नगरे निष्कने बेला मुखमा कालोपोतेर निष्कनु पर्ला उनले भने। प्रतिनिधि सभाका सांसद नर बहादुर धामीले अव्यवस्थीत बसोवासी, निकुञ्ज विस्थापित समस्या समाधानका लागि पटक पटक संसदमा आवाज उठाएको बताए।

पूर्वमन्त्री जयदेव जोशीले सरकारबाट जनताले जुन प्रतिफलको आशा गरेका थिए त्यो नपाएको बताए। भ्रष्ट्राचार बढदै गएकोमा चिन्ता व्यक्त गर्दै उनले खुला रुपमा भ्रष्ट्राचारलाई प्रश्रय दिने हो भने यसको मापदण्ड तोकिनुपर्ने बताए। सुदूरपश्चिम प्रदेशसभा सदस्य लाल बहादुर खडकाले छेला औद्योगिक क्षेत्रको कार्य अगाडी बढाउनका लागि पहल गरिदिन रक्षा मन्त्री पोख्रेल संग आग्रह गरे।

कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्ट, पूवं सांसद नन्द सिंह सार्कि, नेकपाका केन्द्रीय सदस्य राजेन्द्र रावल र नेपाली कांग्रेसका जिल्ला सभापती हरि बोहरा लगायतले सम्बोधन गरेका थिए।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.