|

धनगढी : सुदूरपश्चिम प्रदेशमा तत्कालीन एमालेका ३ अध्यक्षले सचिव पद अस्वीकार गरेका छन्। तत्कालीन एमालेका डडेल्धुरा, बझाङ र दार्चुला जिल्लाका अध्यक्षहरूले आफूहरूको मर्यादाविपरीद पद दिएको भन्दै शपथ ग्रहण वहिष्कार गरेका हुन्।

डडेल्धुरामा सचिवको जिम्मेवारी पाएका तारादत्त जोशी, बझाङमा सचिवको जिम्मेवारी पाएका दिलबहादुर सिंह र दार्चुला सचिवको जिम्मेवारी पाएका रामदत्त जोशीले आइतबारको शपथग्रहण बहिष्कार गरेका हुन्।

आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशमा इन्चार्ज भीम रावलले शपथ ग्रहण गराउँदा बझाङ र दार्चुलामा सचिव शपथ ग्रहण समारोहमै उपस्थित भएनन् भने डडेल्धुरामा सचिव धनगढीको एक होटेलमा बसे पनि शपथग्रहण स्थलमा पुगेनन्।

धनगढीको एक होटेलमै भेटिएका जोशीले भने, ‘१० वर्षदेखि तत्कालीन एमालेको जिल्ला कमिटीमा नेतृत्व गरिरहेको छु अब उपल्लो तहमा पुग्ने बेला फेरि आफूलाई सचिवको जिम्मेवारी दिएपछि कसरी स्वीकार गर्न सकिन्छ र?’

उनले आफूले सचिवमा नबस्ने उद्देश्यले शपथग्रहणमा नगएको बताए। ‘प्रदेश कमिटी सदस्य छु अरू केही भूमिका पाए लिन तयार छु तर सचिव हुँदिन’ उनले फेरिद दोहोर्‍याए।

विगत १० वर्षदेखि एमालेको जिल्ला कमिटीको नेतृत्व रहेको जोशी पछिल्लो ६ वर्षदेखि अध्यक्षका रूपमा रहेका थिए । उनी २०७० सालको दोस्रो संविधान सभामा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन लडेर पराजित भएका थिए। एमाले र माओवादीको एकतापछि प्रदेश सभामा लडेका जोशी कांग्रेसकै जिल्ला सभापति कर्ण मलसँग पराजित भएका थिए।

बझाङमा सचिवको जिम्मेवारी पाएका दिलबहादुर सिंहको गुनासो पनि जोशीको भन्दा फरक छैन। उनले आत्मसम्मानमा चोट पुगेकाले सचिव स्वीकार गर्न नसक्ने बताए। छ वर्षसम्म पार्टीको अध्यक्ष खाएर फेरि सचिवमा फर्किएर आउन मेरो नैतिकताले दिँदैन उनले भने, 'प्रदेश कमिटीको सदस्य पनि छु। सचिवालयमा राख्लान्, त्यहाँ पनि नराखे प्रदेश कमिटीबाट पनि राजीनामा दिन्छु।'

उनले आफूमाथि अन्याय भएको बताए। तीनै तहको निर्वाचनमा ठूलो भूमिका खेलेको व्यक्तिलाई भूमिकाविहीन बनाएकोमा असन्तुष्टि व्यक्ति गर्दै शपथग्रहणमा सहभागी नभएको बताए।  

निकै रस्साकस्सीका बिच नयाँ कार्यविधि निर्माण गरिए अध्यक्ष र सचिव चयन गरिएको थियो। दार्चुलामा सचिवको जिम्मेवारी पाएका रामदत्त जोशी पनि शपथग्रहणमा उपस्थित भएनन्।  आइतबार दिनभर उनको मोबाइल आफ थियो। तीन जिल्लामा ३ सचिवले शपथ ग्रहण नगरे पनि अन्यले भने गरेका थिए।

नेकपाले पार्टी एकता भएको एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो। सुदूरपश्चिम प्रदेशमा ५ जिल्लामा तत्कालीन एमालेले अध्यक्ष पाएको छ भने ४ जिल्लामा तत्कालीन माओवादीले अध्यक्ष पाएको छ। त्यसमध्ये ४ जिल्लामा तत्कालीन एमालेले सचिव पाएका छन् भने ५ जिल्लामा तत्कालीन माओवादीले सचिव पाएका हुन्। ४ जिल्लामा सचिव पाएको मध्ये ३ जिल्लामा सचिवहरूले शपथग्रहण बहिष्कार गरेका हुन्।

उनीहरूको असन्तुष्टिबारे सुदूरपश्चिम प्रदेशका इन्चार्ज तथा स्थायी समिति सदस्य भीम रावलले आफूलाई पूर्ण जानकारी नरहेको बताए।

‘जो कमरेडहरू अनुपस्थित हुनुभएको छ उहाँहरूलाई के पर्‍यो भनेर हामी बुझ्दै छौँ’ रावलले भने, ‘असन्तुष्ट रहेको भन्ने खबर गलत हो हामी बुझ्दै छौँ।’ धनगढीमै रहेर पनि शपथग्रहणमा उपस्थित नरहेको भन्ने विषयमा रावलले आफूहरूलाई जानकारी नरहेको बताए। उनले भने ‘खै धनगढीमा को हुनुहुन्छ हामीलाई जानकारी भएन।’

रावलले कुनै पद खाली भए पनि समस्या नहुने बताए। ‘११ महिनापछि त यती पूर्ति भयो कुनै ठाउँमा खालि भयो भन्दैमा केही समस्या पर्दैन’ रावलले भने, ‘हामी त्यो प्रक्रियाबाट गइहाल्छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.