बिरामी आफैँले जेनेरेटर लगेपछि मात्रै एक्सरे गर्दिन्छन् चिकित्सक

|

डोल्पा : डोल्पा सदरमुकाम दुनैमा रहेको एक मात्र जिल्ला अस्पतालमा विद्युतको भरपर्दो व्यवस्था नहुँदा उपचारमा समस्या हुने गरेको छ। अस्पतालमा भरपर्दो विद्युतको सुविधा नहुँदा सामान्य एक्सरे, भिडियो एक्सरे लगायतका काम गर्न पनि समस्या हुने गरेको अस्पतालका डाक्टर हिमविक्रम शाहीले बताए।

दुनैमा रहेको जैरिगाड जलविद्युत् लामो समयदेखि अवरुद्ध हुनुका साथै अस्पतालमा भरपर्दो वैकल्पिक विद्युत् नहुँदा दैनिक बिरामीको उपचारमा समस्या उत्पन्न भएको शाहीले जानकारी दिए।

अस्पतालमा विद्युतको भरपर्दो सुविधा नभएकै कारण आजभोलि उपचारका लागि बिरामी आफैँले जेनेरेटर बोकेर ल्याउने गरेका छन्। भिडिया एक्सरे मेसिन चल्ने विद्युत् नहुँदा रोग पहिचानका लागि बिरामी आफैँले जेनेरेटर बोकेर उपचार गराउन आउनुपर्ने बाध्यता छ। उपचारका लागि आउने बिरामी र उनीहरूका आफन्त आफैँले जेनेरेटरको व्यवस्था गरेपछि मात्रै अस्पतालले एक्सरे गर्ने गरेको छ।

जेनेरेटरको व्‍यवस्थापन गर्न नसक्ने बिरामीले एक्सरे गराउन पाउँदैनन्। उपचारको आसमा तीन चार दिनसम्म हिँडेर जिल्लाका विभिन्न बस्तीहरूबाट आएका सर्वसाधारण त्यसै फर्किनुपर्ने समस्या छ।

अस्पतालको नजिकै रहेको बजारबाट प्रतिघण्टा पाँच सय रुपैयाँ तिरेर जेनेरेटर ल्याउने गरेको स्थानीय ५५ वर्षीया मंगली रोकायाले बताइन्। गाउँको सिंहदरबारको रूपमा रहेको स्थानीय सरकार र अस्पताल व्यवस्थापन समितिले बेवास्ताका कारण दुर्गमका नागरिकले दु:ख पाइरहेको रोकायको भनाइ छ।

अस्पतालमा एक्सरे गर्न आउने सम्पूर्ण बिरामीहरूले भाडामा जेनेरेटर लगेर उपचार गराउँदै आएको लामो समय बितिसक्दासमेत सम्बन्धित निकायलाई चासो नभएको सरोकारवालाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.