|

सिन्धुली : सिन्धुलीको हरिहरपुरगढी गाउपालिकाका अध्यक्ष कार्साङ लामाले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राजीनामा माग्दै धम्की दिने गरेको बताएका छन्। 

शनिवार हरिहरपुरगढी किल्लामा नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य तथा पूर्वकृषि मन्त्री हरिबोल गजुरेल, जिल्ला अध्यक्ष तथा प्रदेश सांसद लेखनाथ दाहाल राजन, सचिव प्रदीप कटुवाल लगायत नेताहरु सहभागी कार्यक्रममै विप्लवका नेताले विभिन्न मागसहित धम्की दिने गरेको बताएका हुन्।

अध्यक्ष लामाले विप्लवका कार्यकर्ताले बाटो ढुकेर मार्ने योजना समेत बनाएको भन्दै पार्टीसँग जीउ धनको सुरक्षा माग गरे। ‘विप्लवका कार्यकर्ताले मलाई मार्न पटक पटक बाटो ढुके’, उनले भने,  ‘मलाई टार्गेट गरेर हिँडेका छन्, समस्या समाधानका लागि पार्टीले भूमिका खेल्नुपर्यो।’  

अध्यक्ष लामाले संस्थागत रुपमा धम्काउने गरेकाले पार्टीले समस्या समाधान गरिदिनुपर्ने जिल्ला नेतृत्वसँग माग गरे। उनले पार्टीकै मान्छेले विप्लवका कार्यकर्ताको संरक्षण गरिरहेको पनि दाबी गरे। 

उनले कांग्रेसले पनि विप्लवका कार्यकर्तालाई साथ दिने गरेको आरोप लगाउँदै घटना हुनुअगावै समस्या सम्बोधन गर्नुपर्नेमा नेताहरुको ध्यानाकर्षण गराए।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य हरिबोल गजुरेलले विप्लवसँग नडराई प्रतिवाद गर्न अध्यक्ष लामालाई आग्रह गरे। ‘विप्लवको डर नमान्नुस्, मारे मार्छन्। तपाई सहिद हुनुहुन्छ तर विप्लव त सिद्धिन्छ’, उनले भने, ‘त्यसकारण विप्लवसँग नडराई प्रतिवाद गर्नुस्, तपाईँ नडराएपछि ऊ आफैँ डराउँछ।’ 

उनले छलफल बोलाएर माग सम्बोधनको पहल गर्नुपर्ने बताउँदै बिनाकारण मार्ने, धम्काउने, राजीनामा मागेमा कडा प्रतिवाद गर्न पनि निर्देशन दिए। नेकपामा जिल्ला अध्यक्ष लेखनाथ दाहाल राजनले विप्लवको डर नगरी निर्भिकताका साथ जिम्मेवारी पुरा गर्न भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.