|

जनकपुरधाम : दाइजो नल्याएको रिसमा पतिले मट्टितेल खन्याएर आगो लगाइएकी निर्मला यादवको उपचारका क्रममा मृत्यु भएको छ । धनुषाको शहिददनगर नगरपालिका १ चिरैया टोलनिवासी परिवारले निर्मलालाई दाइजो ल्याउन दबाब दिएका थिए ।

मागेजति दाइजो नल्याएको रिसमा २३ वर्षीय पति मुकेशकुमार गोइतले २१ वर्षीया निर्मलाको शरिरमा मट्टितेल खन्याएर आगो लगाइदिएका थिए । आगोले जलेर गम्भीर घाइते निर्मलाको कीर्तिपुरस्थित अस्पतालमा ज्यान गएको हो । 

दाइजोको विवादमा पतिले आगो लगाएको १२ दिनपछि उपचारका क्रममा निर्मला यादवको यादवको काठमाडौंमा निधन भएको हो । शहिदनगर नरपालिका निवासी झरी गोइतका २३ वर्षीय छोरा मुकेशले गत वैशाख ५ गते कोठा थुनेर आगो लगाएका थिए । 

ढोका थुनी आगो लगाएपछि चिच्याएको सुनेर छिमेकीहरुले ढोका फोडी निर्मललाको शरीरको आगो निभाएका थिए । तत्कालै निर्मलाको उद्धार गरिए पनि छाती र पेटसम्म करिब ३५ प्रतिशत भाग जलेको थियो । सुरुमा उनको जनकपुर अञ्चल अस्पतालमा उपचारपछि काठमाडौं रेफर गरिएको थियो ।

धनुषाकै कमला नगरपालिका वडा नं. ५ लक्कड टोलकी निर्मलाको मुकेशलाई ४ लाख रुपैयाँ भन्दा बढी दाइजो दिएर बिहे गरिएको थियो । बिहेको १० महिनामै मुकेशले निर्मलालाई आगो लगाए । निर्मलाका दाजु राकेश यादवका अनुसार मागेजति दाइजो दिएर पनि ज्वाइँले बहिनीमाथि आगो लगाए ।  

इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक चन्द्रभुषण यादवका अनुसार दाइजो दिएर विवाह भए पनि निर्मलालाई यातना दिएको खुलेको छ । निर्मलाका पति मुकेश लागूपदार्थ र मादक पदार्थको कुलतमा फसेको खुलेको छ । पत्नीलाई आगो लगाएर फरार मुकेश अझै पक्राउ परेका छैनन् । 

माइती पक्षले छोरीको क्रुरतापूर्वक ज्यान लिने पति मुकेश गोइत, ससुरा झरी गोइत यादव र सासुमाथि कारबाही माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका छन् । गत वैशाखमा १२ गते घरायसी विवादमा पतिले मट्टितेल खन्याएर जलाइएकी सिरहाको कल्याणपुर  नगरपालिका निवासी २१ वर्षीया कञ्चनको भोलीपल्ट मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.