विचार

‘माँ कसम अब् कभी नहीँ खेलेँगे’
SHARES

सन् २००४ को नवौँ साफ खेलकुदमा इस्लामाबाद यात्रा संस्मरण

बैशाख १९, २०७६

    अमेरिकासहित गठबन्धन मुलुकले अफगानिस्तानमाथि आक्रमण गर्दा ठुल्‍ठूला चोट बोक्ने लाखौं होलान्। तर, मनको कुनै कुनामा त्यो आक्रमणले चसक्क बिझाएकामध्ये म पनि एक हुँ। हुन त, कालान्तरमा त्यो काँडाको बिझाइ मात्र हुनपुग्यो।

    अचम्म कै हुने रहेछन्, आफूले सोचेको र कल्पना गरेभन्दा फरकको बाटोमा दुनियाँ हिँड्दा। कहाँ अमेरिका र ओसमाबिन लादेनको शत्रुता अनि कहाँ म। तर, मानिसको जीवनमा कहिलेकाहीँ कल्पनै नगरेको साइनाले पनि केही फरक पार्दोरहेछ। अमेरिकाले त्यो आक्रमण नगरेको भए म २००१ मा नै पाकिस्तानको राजधानी इस्लामावाद पुगेको हुन्थेँ। नवौँ दक्षिण एसियाली (साफ) खेलकुदमा भाग लिन।

    हतारमै तयारी गर्नुपरेको थियो। त्यसबेला इस्लामावाद जान। हतार–हतार पासपोर्ट बनाइयो। भीसा लगाइयो। तर, त्यही बेला ओसामाबिन लादेनको फौजले अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरलाई ध्वस्त मात्र बनाएनन्। हजारौं निर्दोषको पनि ज्यान लिए। अमेरिका र उसका सहयोगी मुलुकहरू तत्काल ‘एक्सन’मा आउनु नै थियो, आइ पनि हाले। मलाई भने अमेरिकाले हामी इस्लामाबाद पुगेपछि मात्र तालिवानविरुद्ध अभियान चलाओस् भन्ने लागिरहेको थियो, मनमनै। धेरै वर्षपछि विदेश घुम्ने मौका पाइएको थियो, खेर नजाओस् भन्ने चाहना हुनु स्वाभाविकै थियो। मसँगै जान कम्मर कसेकाहरू पनि यस्तै सोच्थे होलान्, सायद। कसैले मुख भने खोलेनन्। कहाँ सुन्थ्यो र, अमेरिका जस्तो शक्तिशाली मुलुकले मेरो मनको कुरो। अफगानिस्तानमा आक्रमण गरिछाड्यो। अनि हाम्रो दौडधूपमा पनि पूर्णविराम लागीहाल्यो।

    हामी पाकिस्तान उड्नुभन्दा एकाध दिनअघि मात्रै त्यो आयोजना रद्द भएको खबर आएको थियो। उफ्रो उफ्रो, थच्यो, भनेझैँ भयो। पाकिस्तानले फेरि २००३ का लागि त्यो आयोजना गर्ने बतायो। तर, भारत र भुटानले खेल्न अस्वीकार गरेकै कारण २००४ मा मात्रै साफ खेलको नवौं आयोजना हुनसक्यो। २००१ मा आयोजना भएको भए राजधानी दैनिकको प्रतिनिधि बनेर म त्यता जान्थेँ। तर, सन् २००४ मा त म च्यानल नेपाल टेलिभिजनमा पुगिसकेको थिएँ। 

    सन् २००४ मा पाकिस्तानको राजधानीमा नवौँ साफ खेलकुद हुने पक्कापक्की भएपछि नेपालबाट जाने टोलीको अन्तिम सूची पनि तयार भइसकेको रहेछ। तर, म त्यसबेला ममीको स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्ली गएको थिएँ। फर्केर आउँदा त जाने जतिको सूची तयार भइसकेछ। त्यसमाथि नेपाली खेल क्षेत्रलाई नै आफ्नो जकडमा राख्न सफल नेपाल खेलकुद पत्रकार मञ्चको सदस्य पनि थिइन्।

    राजधानीबाट झैं च्यानल नेपालमा रहँदा विदेश जान सजिलो थिएन। एक त कार्यालयको सहयोग नपाइने दोस्रो सहकर्मी साथीभाइहरू नै निकै ठूला हृदयका। म विदेश जान्छु भन्यो कि अस्ट्रेलियाको जंगलमा लाग्ने आगोझैं विशाल आगो उनीहरूको मनमा सल्किहाल्दो रहेछ। हुन पनि त्यसबेला पत्रकारले विदेश जाने मौका नै अति कम पाउँथे। उनीहरूलाई लाग्दो रहेछ, अवसर आउँदा सबैजना पालैपालो मिलाएर जानुपर्छ नि भन्ने। सरकारी सञ्‍चारमाध्यममा झैँ। तर, उनीहरू सधैँ बिर्संदा रहेछन्, ती सबै भ्रमण गर्ने अवसर मैले व्यक्तिगत सम्बन्धका आधारमा पाएको हुँ भन्ने। त्यसैले सन् २००६ मा दोहा एसियाडबाट मैले पठाएको समाचार यहाँ ‘बाइकट’ गरेछन्। राजीनामा दिन मलाई पनि सजिलो भयो, खुरुक्क दिएँ। सम्पादक योगेश उपाध्यायले पनि सजिलै स्वीकृत गरिदिए।

    त्यसअघि, २००४ मा साफ खेलकुदमा सहभागी भएर आउँदा मेरो जागिर खाने प्रपञ्च नै मिलाइसकेका रहेछन्। मलाई विस्तारैविस्तारै च्यानल नेपालको मुख्यद्वारबाहिर राख्नै प्रपञ्चले अन्ति रूप पाउन अझै केही प्रक्रिया बाँकी नै रहेछ, म काठमाडौं फर्कंदासम्म। धन्न जोगाएँ आफूलाई। तानाशाहभन्दा माहिर थिए, मेरा आफ्ना परम मित्रहरू। ढाडपछाडि ‘कू’ गर्न साह्रै माहिर। अनि अगाडि मख्खन दलेर कुरा गर्न पनि त्यति नै माहिर। मेरो अगाडि कसैले पनि म हुँ तेरोविरोधी भनेर आउने हिम्मत गरेनन्। धन्य, नत्र आजसम्म त्यो परम विरोधी मित्रलाई धारे हात लगाएर गाली गरिरहने तागत मसँग हुँदैन्थ्यो होला। कसैलाई गाली गर्नुपर्ने महापापबाट पनि बचेँ। वा भगवानले बचाए।

    त्यसैले कहिलेकाहीँ लाग्छ, काँडासँग घेरिएर आफ्नो कोमलतालाई बचाइराख्न गुलाफलाई जति कठिन हुन्छ। हो त्यति नै कठिन हुन्छ बचराहरूलाई चिलको नजरबाट जोगाएर आकाशमा उड्नसक्ने बनाउन माउ चराहरूलाई। अनि त्यही बचराहरू जब चरा बनेर स्वतन्त्र आकाशमा उड्ने सपनामा पखेटा हाल्छन्, उनीहरूलाई पनि सजिलो हुँदै, त्यही गिद्धे नजरवाला चिलसँग जोगिएर रहन। अनि साधुका भेषमा सिकारको खोजी गर्दै हिँड्ने स्याललाई चिन्न। त्यत्तिकै त रचिएका पनि छैनन् होलान्, हाम्रा पञ्चतन्त्रका कथा।

    सन् २००४ मा पाकिस्तानको राजधानीमा नवौँ साफ खेलकुद हुने पक्कापक्की भएपछि नेपालबाट जाने टोलीको अन्तिम सूची पनि तयार भइसकेको रहेछ। तर, म त्यसबेला ममीको स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्ली गएको थिएँ। फर्केर आउँदा त जाने जतिको सूची तयार भइसकेछ। त्यसमाथि नेपाली खेल क्षेत्रलाई नै आफ्नो जकडमा राख्न सफल नेपाल खेलकुद पत्रकार मञ्चको सदस्य पनि थिइन्। त्यसबेला स्वर्गीय ईश्वरमान सिंहले नेतृत्व गर्ने नेपाल दक्षिण एसियाली खेलकुद पत्रकार संघको सचिव थिएँ, म। अनि त्यही संघको पहलमा खुलेको दक्षिण एसियाली खेलकुद पत्रकार महासंघको कोषाध्यक्ष पनि।

    म नेपाल फर्कंदा इश्वरमानदाइ बिचल्लीमा रहेछन्। चित्त दुखाए। मञ्चले हामीलाई जानबाट रोक्यो भनेर। मलाई थाहा थियो, नेपालमा जति वटा अन्तिम सूची तयार भएपनि स्वार्थअनुरुप परिवर्तन गर्न सकिन्छ भन्ने। म जुन संस्थामा रहेपनि सबैसँग नजिक नै थिएँ र छुँ। मञ्चका साथीहरूले पनि कहिल्यै खुलेर मेरो विरोध गरेनन्। बरु मैले नै सधैं उनीहरूको कार्यशैलीको विरोध गरेँ। विरोध कसलाई पाच्य हुन्छ र? उनीहरूलाई पनि हुँदैन थियो। काठमाडौं आए लगत्तै मैले राष्ट्रिय खेलकुद परिषद्का तत्कालिन सदस्यसचिव किशोरबहादुर सिंहलाई भेटेँ। उनी सधैँ मप्रति सकारात्मक थिए भन्ने लाग्छ। प्रमाणित गरिदिए।

    रकम कम भए इस्लामाबादमै लिने आश्वासन

    त्यसैले सन् २००१ मा रोकिएको मेरो इस्लामाबाद यात्रालाई निरन्तरता दिन कुनै कठिनाइ भएन। बरु रकम कम भए इस्लामाबादमा पनि लिनु है भन्ने आश्वासन पो पाइएको थियो। त्यसैले साथमा इश्वरमानदाइलाई पनि लिएरै गइयो। त्यो पनि बस र ट्रेन चढाएर बाघा सीमा कटाउँदै।

    हामीभन्दा अगाडि एक बथान पत्रकार त्यसैगरी पाकिस्तान हिँडिसकेका थिए। हाम्रो यात्रामा भने मात्र ५ जना पत्रकार अनि बाँकी सबै खेलाडी र अफिसियल मात्र। हामीलाई नेतृत्व गरेका थिए, परिषद्कै कोषाध्यक्ष जीएन दाइ शर्माले। त्रिपुरेश्वरबाट बस चढ्नुअगाडि नै परिषद्ले मसहित ईश्वरमान दाइ, क्षितिज अरुण श्रेष्ठ र निमेष अधिकारीको रेलको टिकटसमेत तयार पारिदिइसकेको थियो। बसमा चढ्दा त कुमार राउतलाई पनि देखेँ। पत्रकार भए पनि निकै मसिनोसँग बोल्ने कुमार बाहिरबाट हेर्दा जति सोझा देखिन्छन्, मनबाट त्यति नै बाठा। त्यही यात्रामा थाहा पाएँ।

    मलाई भेट्नेबित्तिकै उसको एउटै आग्रह रह्यो। ‘दाइ मेरो रेलको टिकट छैन, मिलाइदिनुपर्छ है!’ मैले कोसिस गरौंला भनेँ। हाम्रो यात्राको रुट थियो। बसबाट काठमाडौं–भैरहवा अनि त्यहाँबाट भाडाको सवारीमा गोरखपुर अनि गोरखपुरबाट शहिद एक्सप्रेसमा अमृतसर। अनि फेरि बाघा सीमा काटेपछि बसमा इस्लामाबाद। हामीसँगै गएका कति खेलाडीले त इस्लामाबाद पुगेकै भोलिपल्ट प्रतिस्पर्धा गर्नुपर्ने थियो। साह्रै कठिनाइका साथ मुलुकको इज्जत धानेका थिए। खेलाडीहरूले पदक जितेर।

    त्यही बेला मुग्लिङ–नारायणगढ सडकखण्ड निकै जिर्ण थियो। हामी नै लगभग ४–५ घण्टा जाममा फसेका थियौं। समय कटाउन तास पनि खेलियो, बसभित्रै। जीएन दाइ मलाई अलि जान्ने बुझ्ने ठान्थे। खै आफ्नै बारेमा मलाई भने धेरै थाहा थिएन। उनी जे निर्णय गर्दा पनि पहिले मसँगै सल्लाह गर्थे। इस्लामाबाद नपुगेसम्म।

    पहिलो रात भैरहवामा बस्नुपर्ने भयो। त्यसबेला पनि कुमार रेलको टिकटकै पछाडि लागीरहेको थियो। ‘दाइ मिल्छ नि हैन?’ भन्दै। त्यही बेला जीएन दाइले हाम्रो समूहमा एउटा टिकट बढी रहेको जानकारी दिए, मलाई। मैले क्यान्सिल नगर्न बरु त्यही टिकटबाट कुमारलाई लैजान प्रस्ताव गरेँ, उनले सहजै स्विकार गरे। मैले कुमारलाई भनिदिएँ। तर, उ आफ्नै नामको टिकटमा जाने अड्डी कसेर बस्यो।

    म कुमाइ बाहुन, मभन्दा बाठो रहेछ नेवारको छोरो क्षितिजअरुण श्रेष्ठ। उनले ‘आइडिया’ दियो। ‘कुमारलाई भनौं, तेरो नाममा टिकट ट्रान्सफर भयो अनि त्यसले दिने पैसा हाम्रा लागि बाटो खर्च भइहाल्छ।’ कुमारको ट्याउँट्याउँबाट बच्न भए पनि मैले पनि हुन्छ भनिदिएँ। उसले पत्यायो पनि।

    क्षितिजअरुण यति बाठो कि विचरा त्यो सोझो पत्रकार कुमारलाई अर्को कुरामा पनि मुर्ख बनाएछ। ‘हेर् कुमार! इन्डियामा चोर निकै लाग्छन्, पैसा लुकाएर राख्नसक्नुपर्छ।’

    उसले सोधेछ, ‘कसरी दाइ?’

    ‘एउटा काम गर्। तँ मेरो क्यामेराको ब्याग बोकिदे, म तेरो पैसा बोकिदिन्छु।’

    विचरा कुमारले इस्लामाबादसम्म त्यो गह्रुँगो झोला बोक्यो। क्षितिजले हलुको पैसा बोकिदियो। हामी भने क्षितिजको बठ्याइँमा मुस्कुराइ मात्रै रह्यौं।

    गोरखपुर रेलवे स्टेसनमा केही घण्टाको ‘डिले’ पछि शहिद एक्सप्रेस आयो, चढियो, हिंडियो। त्यो ट्रेन पहिले पनि एक पटक चढीसकेको हुनाले मलाई मलाई थाहा थियो, नाम मात्रको एक्सप्रेस हो भन्ने। नत्र लोकल बसभन्दा केही कम थिएन, त्यो रेल।

    गोरखपुरबाट बिहानतिर रेल चढेको हामी भोलिपल्ट बिहान उठ्दा पंजाबको कुनै स्टेसनमा रोकिएको थियो। बाहिर कुनै विशेष पर्व मनाइरहिएको रहेछ। निमेषले वरिपरी हेर्‍यो अनि मलाई भन्यो, ‘दाइ, यहाँ त सबै सरदार हुँदा रहेछन्।’ उनले फेटा बाँधेकाहरूतिर औंल्याउँदै मलाई भन्यो। मलाई दिनभरी मुस्कुराउने बहाना मिलिहाल्यो। उसको भनाइलाई शायद मैले गलतढंगले मनमनै व्याख्या गरेँ होला भन्ने लाग्छ, अहिले। शायद उसले जीवनमा पहिलो पटक फेटा बाँधेकाहरूको त्यति ठूलो बथान देखेको हुनुपर्छ। अनि मैले पनि।

    लाहोर हुँदै लागियो इस्लामाबादतिर

    बिहानैतिर अमृतसर पुगियो अनि रेलवे स्टेसनबाटै सीधै बाघा सीमातिर। त्यहाँ नेपालबाट आएका पत्रकार र खेलाडीको टोली भनेर विशेष आतिथ्य दिए, पाकिस्तानी अधिकारीहरूले। एसी भएको कोठामा राखे। पासपोर्टमा भीसा लगाइदिए। अनि हामीसँगै पैसा उठाएर खानाको प्रबन्ध पनि मिलाइ दिए। खानामा थियो, मात्र रोटी र दाल। एउटै रोटी यति ठूलो कि दोस्रो हेर्नै मन नलाग्ने। अनि हामी त्यहाँबाट हिंड्यौं। हरियालीको शहर लाहोर हुँदै इस्लामाबादतिर।

    त्यही बेला पाकिस्तानका विशाल राजमार्गले मन लोभ्याएको थियो। आफ्नै मुलुकमा पनि कसो एकदिन यस्तै बाटा नबन्लान् त? अनि हामी पनि आफ्नै भूमिमा त्यसरी नै सररर कसो नगुड्लाउँ त? भनेर। तर, त्यो यात्राको डेढ दसक बितिसक्दा पनि अहँ अहिलेसम्म हेर्न पाइएको छैन, त्यस्ता व्यवस्थित सडक। बस्, हेर्न पाइएका छन् त, अस्थिपञ्जर मात्र बाँकी भएका बाटाहरू।

    चल्तापुर्जा र गफ दिन माहिर नेपालीका बारेमा कुरा हुँदा सधैं झापालीको नाम अगाडि आउँछ। हाम्रा प्रधानमन्त्री केपी ओलीले यो भनाइलाई यथार्थमा टुंगाइदिएका छन्। तर, ओली ‘पपुलर’ हुनुअगावै हामी धेरैलाई थाहा थियो, झापाली कस्ता हुन्छन् भन्ने। पत्रकार पुरुपोत्तम कट्टेल ‘पुरु’ आजकाल एएफसीमा काम गर्छन्। प्रधानमन्त्री ओलीसँग तुलना गर्ने हो भने उनी ओलीभन्दा एक कदम अगाडि नै पर्छन् होला।

    इस्लामाबाद पुग्दा रात परिसकेको सकेको थियो। खेलाडी र अफिसियललाई बासको व्यवस्था थियो। हामी पत्रकारले भने होटलको व्यवस्था आफैं गनुपथ्र्यो। इश्वरमानदाइले अरु पत्रकार बसेको होटलको ठेगाना खोजे। अनि हामी पनि त्यतैतिर लाग्यौं। दुर्भाग्य अरु नेपाली पत्रकार बसेको होटलमा एउटै कोठा पनि खाली रहेनछ। होटलको मेनेजरले अर्को होटलमा कोठा व्यवस्था गरिदिने बतायो। तर, महंगो पर्ने बतायो। हुन्छ भन्नै पर्‍यो, भनियो। त्यही बेला मैले क्षितिज र निमेषलाई इशारा गरेँ अनि नजिकै रहेको अर्को होटलमा गएँ। त्यहाँ एउटै कोठा खाली रहेछ, त्यो पनि ५ वटा बेड भएको। हामीले चाहे जस्तो कोठा पायौं। कोठा पनि चिटिक्क परेको एसी सहित कै थियो। दाम थियो, अर्को होटलवालाले भनेकोभन्दा आधा। त्यो पनि एकजनाको मात्र होइन पूरा कोठाको।

    हामीले त्यही होटलमा बस्ने निधो गर्‍यौं, बस्यौं। अर्को होटलवालाले हामीलाई मिलाइ दिन्छु भनेको होटल पनि त्यही नै परेछ। हामी त्यहाँ आएपछि त, हामी बसेको मेनेजरसँग झगडै गर्न आयो। ठूलै माछा बल्छीबाट पुत्के झैं गरेर। हामीले त्यो झगडामा हस्तक्षेप गर्‍यौं, केही नलागेर अर्को होटलवाला निरास बनेर गयो। जसरी दिनभरी बल्छिहाल्दा एउटै माछा मार्न नसकेको माझी झैं। भोलिपल्टदेखि हाम्रो कोठामा आउने सबै पत्रकार मित्र एकपटक लोभिएरै जान्थे। कोठा त सुन्दर थियो नै साथमा सस्तो पनि। उनीहरू आफ्नो भाग्यलाई धिकार्दै थिए, हामी आफ्नो भाग्यमा घमण्ड गर्दै गयौं। इस्लामाबाद बसुञ्जेलसम्म।

    चल्तापुर्जा र गफ दिन माहिर नेपालीका बारेमा कुरा हुँदा सधैं झापालीको नाम अगाडि आउँछ। हाम्रा प्रधानमन्त्री केपी ओलीले यो भनाइलाई यथार्थमा टुंगाइदिएका छन्। तर, ओली ‘पपुलर’ हुनुअगावै हामी धेरैलाई थाहा थियो, झापाली कस्ता हुन्छन् भन्ने। पत्रकार पुरुपोत्तम कट्टेल ‘पुरु’ आजकाल एएफसीमा काम गर्छन्। प्रधानमन्त्री ओलीसँग तुलना गर्ने हो भने उनी ओलीभन्दा एक कदम अगाडि नै पर्छन् होला। कम छैनन्, एएफसीका अधिकृत पुरु, प्रम ओलीभन्दा। गफ दिन। अरूलाई मूर्ख बनाएर मुसुक्क हाँस्दा उनको गालामा बस्ने खतकै प्रतिबिम्ब आजभोलि प्रम ओलीका गालामा पनि देखिन्छन्। मलाई त्यस्तै लाग्छ।

    आफ्ना वरिपरि उभिएका कसैलाई पनि मूर्ख बनाउन चुक्दैन ऊ। चुक्यो भने हारेझैँ महसुस गर्छ। पञ्‍जाबाट सिकार फुत्किएको बाघझैं। इस्लामाबाद पुगेपछि पुरुको सबैभन्दा ठूलो सिकार निमेष बन्यो। इस्लामाबादमा पर्यटकलाई घुमाउन लैजाने डाँडो रहेछ, मरी। त्यहाँबाट देखिँदो रहेछ, पाकिस्तान शासित कस्मिरका पहाडहरू। टाढाको डाँडाबाट खसिरहेको पानी देखाउँदै उसले निमेषलाई भन्यो, ‘उ त्यही हो त्रिशूली,’ अनि मलाई साक्षी थपायो, ‘हैन त, दाइ?’ मैले पनि हो भनिदिएँ। उसले जतिचोटी निमेषलाई गफ दिन्थ्यो, साक्षी मलाई ने बकाउँथ्यो। कहिले भन्थ्यो, ‘निमेष! हेर त, त्यो चन्द्रमा नेपालभन्दा यहाँबाट ठूलो देखिएको छ।’ उ विचरा एकछिन घोरिएर पत्याइदिन्थ्यो वा पत्याए झैं गरिदिन्थ्यो। अनि सोध्यो ‘किन थाहा छ?’

    ‘अहँ!’

    ‘चन्द्रमा नेपालभन्दा पाकिस्तानबाट नजिक भएर नि। हैन त दाइ?’ हो भनिदिनै पर्‍यो। कम पाप बोकाएन मलाई, उसले। पाकभूमिमा दोस्रो झापाली बनाएर, मलाई। अनि कहिले राति भएपछि रूखमा बालिएका बत्तीलाई देखाउँदै भन्थ्यो। ‘ऊ हेर राति मात्र देखिने फल, यो यहाँ मात्र पाइन्छ।’ अनि साक्षी बकाइहाल्थ्यो, ‘हैन त दाइ।’ म फेरि होमा हो मिलाइदिन्थेँ। आखिर हाँसोमा जिन्दगी बाँच्नुको जुन मज्जा छ, त्यो दिक्दारीमा कहाँ पाइन्छ र।

    एकदिन हाम्रै कोठामा तासको खेल्ने कार्यक्रम बन्यो। कुनै एक हात, मैले पहिले हेरेँ, पल्टाएँ। क्षितिजअरुणले देखाएको टनेला त अल्टरको रहेछ। म दिक्क मान्दै थिएँ। पुरुले हेर्‍यो। खै के चटक गर्‍यो, थाहा भएन। ‘दाई माल हेर्‍या हो?’ मैले हेरेँ भनेँ। उसले जोड दिएर फेरि एकपटक हेर्न भन्यो। अचम्म पहिलेको पल्टिएको सट्टा अर्कै तास रहेछ। जसमा मलाई मेरिज परेको रहेछ। हैट! साह्रै कमाल फटाहा! माललाई नै गोलमाल बनाइदिन सक्ने।

    पाकिस्तानमा जाँड, रक्सी, बियर केही नपाउने। सबैको मनमा त्यसको तीर्खा जाग्नु स्वाभाविकै थियो। एकदिन नेपाल हक्की संघका महासचिव अनिल शर्माले पत्रकार हेमन्त काफ्लेसँग मलाई दिनु भनेर एक क्वार्टर जति रक्सी पठाइदिएछन्। बिरालोलाई दूधको जिम्मा लगाए झैं। यतिसम्म इमान्दार निस्कियो कि हेमन्त भोलिपल्ट भन्यो, ‘अनिलदाइले तँलाइ दिनु भनेर एक क्वार्टर दिएका थिए, मैले नै खाइ दिएँ।’ मोरा मार्नु जस्तो। मुखमै ताकेर एक मुक्का हान्न मन लाग्यो। तर, रोकेँ आफैंलाई। पछि अनिलदाइलाई भनेँ, ‘मान्छे हेरेर त रक्सी दिनुपर्छ नि दाइ।’

    इस्लामाबादमा बियर नै नपाए पनि पुरु र मैले जिरो अल्कोहलवाला बियर भेट्टायौं। किन्यौं, एक बोतलबाट अलि–अलि खायौं। साथमा पत्रकार नबिन अर्याल पनि थियो। त्यो बियरले मुख भने गन्हाउँदो रहेछ। अनि पुरुले लागेको नाटक गर्दै हेमन्तको नजिक गयो। मुख सुँघायो। ‘मलाई ल्याइदिनु पर्दैन थियो, सालेहरू आफैँ मात्र खाएर आएछन्,’ रन्कियो, हेमन्ते। एउटा बोतल लिएर गएका थियौं। मीठो मानेर खायो। थाहा पाएन, जिरो बियर खाएको। यस्तै कारणले गर्दा होला। अरुहरूलाई मुर्ख बनाएर मसुक्क हाँस्न माहिर छ, पुरु आज पनि।

    त्यही खेलकुद आयोजनाकै क्रममा एक रात ठूलै भुइँचालो पनि आयो। सबै बाहिर भागे। एकजना पत्रकार भने टी टेबलमुनि लुकेछन् र अर्को पैसाको थैली खोज्न थालेछन्। त्यो दृश्य देख्ने पनि पुरु नै परेछ। अनि के हालत भयो होला, ती पत्रकारहरूको। वरिष्ठ पत्रकार नारायण उपाध्यायको भर्खरै बिहे भएको थियो, इस्लामाबाद जाँदा। पुरु र नवीनलाई अगाडि राखेर घरमा भाउजूलाई फोन गरेछन्।

    फोन भाउजुले नै उठाएपनि भर्खर बिहे गरेका श्रीमान्को स्वर चिन्न हम्मे परेछ। धर्म संकट नै परेछ नारायणजीलाई। एकातिरबाट निरन्तर ‘म क्या म’ भन्ने अर्को तिरबाट ‘को, चिन्न सकिन नि?’ भनेर सोधिरहने। नारायणजीले अन्तमा हारेर भनेछन्, ‘म क्या, म, नारायण!’ अनि बल्ल भाउजूले चिनिछन्, कुरो अघि बढेछ। अब त्यस्तो कुराकानीको प्रत्यक्षदर्शीसमेत त्यही पुरु अनि पुरुका केही हदसम्मका फोटोकपि नवीन भएपछि काण्ड पुगिगयो नि। नारायणजीको गाला रातो बनाउन अहिले पनि त्यो घटना कोट्याए पुग्छ। लाजले त्यसै भुतुक्क हुन्छन्।

    पत्रकारहरूको सुरक्षाका लागि आयोजकले एकाध हतियारबन्द पुलिसको व्यवस्था पनि गरिदिएकै थियो। किनमेल गर्न जाँदा ती पुलिसले बार्गेनिङ गरिदिन्थे, सस्तोमा सामान पाइन्थ्यो। एकदिन पाकिस्तानस्थित नेपाली राजदूतले सारा नेपाली सहभागीलाई रिसेप्सनमा बोलाए। औपचारिक कार्यक्रम र खानपिनपछि सबैलाई बिदाइ गरे तर, पत्रकारलाई केही बेर बस्न आग्रह गरे। उनले त्यो दिन सबैको सुखेको गलालाई सकेसम्म भिजाइ दिए, मदिराको चुस्कीले। मरभूमिमा तीर्खाले छटपटाएका यात्रीले पानीको मुहान भेटे झैं देखिन्थे, मसहित सबै पत्रकार त्यस दिन। हामीले ती पुलिसलाई पनि पिउन आग्रह गर्‍यौं तर खाएनन्।

    त्यसमाथि योजनासहित तयार भएको ‘प्लान सिटी’ इस्लामाबादले मन नलोभ्याउने कमै हुन्छन् होलान्। जता हेन्यो स्केल राखेर बाटो बनाए झैं देखिने। केही दुरीमा नै हरिया रुखहरू उमारिएका। त्यस्तो पो हुनुपर्छ राजधानी भनेको जस्तो लाग्यो, त्यसबेलै।

    साफ खेलकुदको समाप्तिपछि सबै पत्रकारको एउटै बस र रेलमा फर्कने टिकट थियो। इस्लामाबादबाट लाहोरसम्म आउँदा राजमार्गको निश्चित क्षेत्रमा मात्र रेस्टुरेन्ट र शौचालय भेटिने। एकचोटि बसमा भएका आधाभन्दा बढीलाई पिसाबले च्यापेछ। शायद बसका ड्राइभरले पनि एकाध स्टेसनमा रोकेनछन् क्यारे। सबैले ढिप्पी कसेपछि बीच बाटो मै रोकेर कुनामा जान भने। बस रोकेको केही क्षणमा नै त्यहाँ हाइवे पुलिस आइपुग्यो। सबैले यस्तो गर्न नहुने भन्ने थाहा नभएको र साफ खेलकुदमा भाग लिएर आएको बताएपछि जरिवाना नगरि छाडिदिए। ज्ञानी नै हुँदा रहेछन्, पाकिस्तानी प्रहरी। बिहारी पुलिस परेका भए अण्डरवेयर भए पनि लिए जान्थे। तर पनि, त्यति बेलासम्म सबैले पाकभूमिमा दुश्कर्म गर्न भ्याइसकेका थिए।

    बाघा बोर्डर नाघेपछि सबैको ध्यान रक्सीमा

    बाघा बोर्डर नाघेपछि अमृतसर आउन आधा घण्टा जति लाग्ने। त्यो भ्रमणमा होटल फरक भए पनि पुरु, म, नारायणजी र नवीन प्राय सँगै हुन्थ्यौं। त्यो दिन पनि त्यस्तै थियो। बाघा बोर्डर नाघेपछि सबैको ध्यान रक्सीका कति पसल देखिन्छन् भन्नेमा नै थियो। छ्यापछ्याप्ती रहेछन्, भारततिर। अमृतसरमा त्यो रात टन्न पिइयो। होटलको कोठामा पनि रेस्टुरेन्टमा पनि। तरपनि, भोलिपल्ट बिहानै प्रसिद्ध स्वर्ण मन्दिर जान भने छुटाइएन।

    जाँदाखेरी कुमारको टिकट नभए झैं फर्कने बेला पुरुसँग पनि रेलको टिकट रहेनछ। मिलादिउँ है दाइ भन्यो। म र उ स्टेसन मास्टर कहाँ गयौं। टिकट चाहिएको बतायौं।

    अनि सोध्यो। ‘कहाँ से आ रहे हो?’

    ‘पाकिस्तान से साउथ एसियन गेम से।’ पुरुले जवाफ दियो।

    ‘कोच हो?’

    ‘नहीँ खेलाडी हैं!’

    ‘क्या जिता फिर?’

    ‘मैने गोल्ड और उसने सिल्भर!’ मतिर औंला सोझ्याउँदै गफ दियो र पुरुले।

    ‘किस गेम में?’

    ‘मैने टेबल टेनिस में और इन्होनें बक्सिङ में। फाइनलमा इन्डिया से हार गए थें ना!’ अनि मतिर हेरे मसुक्क हाँस्यो।

    ‘अच्छा, अच्छा। जाओ इनके साथ हि बैठ जाओ मैं आउँगा और मिला दुंगा बर्थ। कोइ टिटि आए तों मेरा नाम लेना हो जाएगा!’

    मलाई बक्सिङको फाइनलमा इन्डियन बक्सरबाट हराएकै कारण पुरुले बर्थको व्यवस्था गर्‍यो। हामीसँगै। तर, रेलमा अरु पत्रकार र हाम्रो डिब्बा फरक थियो। पुरु अरुहरूसँग बस्न गयो। राति सुत्यो पनि। भोलिपल्ट हामी कहाँ आएर भन्यो। ‘दाइ उता सुतेको यति महंगो पर्छ भन्ने थाहा भएको भए त दाइ कहाँ नै आउँथे नि!’

    राति टिकट जाँच गर्दा बर्थ नमिलेको बहानामा टिटीले जरिवाना तिराएछ, उसलाई। अनि मलाई लाग्यो जति बाठो भएपछि हाँस्य जोक्सका प्रर्यायवाची सरदारजीले नै ठिक पार्न सक्दारहेछन्, हाम्रा झापालीलाई पनि। अनि मनमनै भनेँ गफमै सही हिजो मलाई इन्डियन बक्सरसँग हराएको राम्रो बदला भेटेछौं, पुरु!

    त्यसको अघिल्लो दिन नै अर्का बाठा पत्रकार हेमन्ते पनि सरदारजी कै शिकार बनिसकेको रहेछ। म त प्रत्यक्षदर्शी थिइन तर, पुरुले चाखलाग्दो गरेर सुनाएको थियो। हेमन्ते र अरु केही पत्रकारहरू रेलमा मेरिज खेलिरहेका रहेछन्। अन्तिममा एकमुष्ट हिसाब गर्ने भनेर तिरेको र खाएको प्वाइन्ट कागजमा लेख्दै। त्यही बेला एउटा भुँडिवाला रेलवे पुलिस त्यहाँ आइपुगेछ। तास नियन्त्रणमा लिएछ। अनि प्वाइन्ट लेखेको कागज पनि। ‘लिखकर खेल रहे हों, यही अदालत मे तुम्हारे उपर के इल्जामको सावित करेगा।’

    सक्कियो नि। हेमन्त चट्ट अगाडि बढेछ। कुरा सुरु गरेछ। त्यही बेला अर्को पत्रकार, त्यो पुलिसको भुँडि देखेर यति मस्तसँग हाँसेछ कि, त्यो पुलिसलाई उसैमाथि व्यंग गरेझैं लागेछ। साँचो कुरो पनि त्यही थियो। कुनै पनि हालतमा उनीहरूलाई नछाड्ने मनस्थितिमा पुगेछ, त्यो पुलिस।

    ‘चलो तुम लोगोको लुधियाना हाइकोर्ट में पेस करेंगे,’ सबैको सातोपुत्लो उडेछ। त्यही पनि हेमन्तले हार गुहार गर्न छाडेनछ। पुरुको शब्द सापटी लिने हो भने खुट्टा समात्नबाहेक हार–गुहारको सबै प्रयास भएछ त्यहाँ। घुसको प्रलोभन बढाउँदै लगेछ। त्यो पुलिस केही नम्र भएपछि हेमन्तले श्रीलोचन राजोपाध्यायलाई आदेश दिएछ, ‘श्री निकाल् पैसा!’ उसले पनि ‘कति–कति?’ भन्दै सय–सयको एक बिटो नै निकालेर दिएछ।

    अनि के मान्थ्यो, सस्तोमा त्यो पुलिसले। त्यही पनि ‘माँ कसम अब कभी नहीं खेलेंगे’ भन्न पनि छुटाएनछ। तरपनि, राम्रै मुर्गा बनाइदिएछ, हेमन्त एन्ड मेरिज ग्रुपलाई। तर, अन्तमा फस्यो तासै नखेल्ने श्रीलोचनको पैसा। अनि तत्कालै पुरुले हेमन्तलाई सल्लाह दिएछ। ‘दाइ अब काठमाडौंमा पनि कुनै सरदारजी देख्यो भने तपाईं त्यसको नजिक नजानोस्। तपाईले सबैलाई सक्नुभयो तर सरदारजीले तपाईंलाई सक्यो। सक्नुभएन तपाईले।’

चेतन पाण्डे

पाण्डे साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्। pandechetan@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]