युवा जनशक्ति गाउँमै रोक्ने योजनामा स्थानीय सरकार
युवा जनशक्ति गाउँमै रोक्ने योजनामा स्थानीय सरकार
दैलेख : कर्णाली प्रदेशका अधिकांश जिल्लामा काला पहाड भन्नेबित्तिकै भारतका क्षेत्र भन्ने बुभिन्छ। यहाँका बेरोजगार युवाहरू त्यहाँ गएर मजदुरी गर्छन्। भारतमा गरेको मजदुरीले उनीहरु घरको गर्जो टार्छन्। यहाँका कतिपय परिवार यस्ता पनि छन्, जसलाई वर्षमा दुईचोटि भारतमा मजदुरी नगरे भोकै बस्नुपर्ने बाध्यता छ।
भिरालो जमिनमा लगाएको अन्नले खान धौधौ ६ महिना पुग्छ। भिरालो र रूखो बारीमा अन्न पनि कम उत्पादन हुन्छ। उत्पादित अन्नले वर्षभरि खान पुग्दैन।अधिकांश परिवारले दैनिक गुजारा चलाउन र लत्ता कपडा किन्न ऋण नै गर्नुपर्छ। दैलेखका दुर्गम बस्तीका विभिन्न समुदायका मानिस वर्षमा पटकपटक कामको खोजीमा भारत पुग्छन्।
ग्रामीण बस्तीका युवा एक सिजनको बाली लगाएपछि ६ महिना कामको खोजीमा भारत जान्छन्। त्यहाँ पसिना बगाएर कमाएको आम्दानीसहित उनीहरू गाउँमै फर्किन्छन्। गाउँमा आएर उनीहरू पाकेको बाली थन्क्याउन पनि खटिन्छन्। अन्य समुदायका युवा जनशक्तिभन्दा दलित समुदायका धेरैजसो मुग्लान जानुपर्ने बाध्यता छ।
२० वर्षयता भारत गएर जीविकोपार्जन गर्दै आएका गुराँस गाउँपालिका-६ का आइते नेपालीले स्थानीय सरकारले गाउँमै सीप अनुसारको काम उपलब्ध गराउनेतर्फ लाग्नुपर्ने बताए। 'वर्षौं वर्ष अर्काको देशमा हुने सामान्य कमाइले न राम्रो घर व्यवहार चल्छ, नत सन्तुष्ट नै भइन्छ', उनले भने, ‘सघीयतापछि स्थानीय सरकार बनेको दुई वर्ष भइसक्दा खोइ त हाम्रा लागि काम गरेको?’
सामान्य पढेको भए पनि आफूहरूलाई सुहाउने रोजगारी मिले घरदेशमै मिहिनेत गर्ने बताउँछन् उनी। स्थानीय सरकारले रोजगारीको बाटो खोलिदिनुपर्ने उनको माग छ। सामान्य लेखपढदेखि राम्रो पढेका युवाहरू पनि गाउँमा रोजगारी नमिलेपछि कालापहाड जाने गरेका छन्।
आर्थिक अभावले पढाई पूरा गर्न नपाएका युवाहरू भारतमा मजदुरीका लागि जाने गर्छन्। भैरवी गाउँपालिका-५ का गणेश अधिकारीले १२ कक्षा सकेका छन्। तर उनी एक वर्षमा दुईपटक भारत पुगेर केही आर्जन गरी फर्कन्छन्।
‘रोजगारी पाइएला भन्ने आशाले पढियो, रोजगारी नपाएपछि के गर्नू?', उनी भन्छन्, 'आर्थिक गर्जो टार्न समस्या भएपछि हामी जस्ता बेरोजगार युवा भारत जानुको विकल्प छैन।'
दैलेखका अधिकांश ग्रामीण क्षेत्रमा वर्षमा दुई पटक बाली लगाउने गरिन्छ। रूखो र भिरालो जमिनमा थोरै उत्पादन हुन्छ। गाउँमा व्यवसाय गर्न पनि युवाहरुसँग स्रोत छैन । गाउँमा आर्थिक अभाव हुँदा व्यवसाय गर्न खोज्ने युवा पनि कालापहाड पुग्ने गर्छन्
नौमाले गाउँपालिका-४ का चन्द्रवीर रावतले केही वर्षअघि खेति गर्ने योजना बनाए । तर आर्थिक अभावमा उनले सफलता पाउन सकेनन् । त्यसपछि उनी बर्सेनि भारत पुग्ने गरेका छन् । रावतले भने ‘घर खर्च चलाउन भए पनि जानै पर्यो, पारिवारिक जिम्मेवारी बढेपछि आर्थिक उपार्जनको बाटो रोज्नै पर्छ ।’
घर फिर्दाको रौनक
एक बाली लगाएर ६ महिनाका लागि कामको खोजीमा भारत जाने युवा बाली पाक्दा घर फर्कन्छन्। उनीहरू अहिले गहुँ बाली उठाउन र नयाँ बाली लगाउन घर फर्किरहेका छन्। कतिपय बालबालिका पनि अभिभावकसँगै भारत जान्छन् । अभिभावाकसँगै घर फर्किँदा उनीहरू कम्ता रमाउँदैनन् ।
दैलेखको रकम कर्णाली बजार गत शुक्रबार भारतबाट फर्किएकाको हुलले भरिएको थियो। यहाँको रामघाट बजारमा अधिकांश ग्रामीण क्षेत्रका युवाको आवतजावत हुने हुँदा यातायातका साधन र मानिसले बजार भरिने गर्दछ।
भारतबाट घर फर्केका आठबीस नगरपालिका-७ का विशाल थापा आफूले घर लैजाने घरायसी सामाग्री किन्दै थिए। सामान्य जुत्ता, लामो समय ननुहाएको जस्तो कपाल बनाइरहेका उनले नुन, तेल र अन्य कुरा किनेका थिए। ‘खानेकुराको जोहो गर्नकै लागि त हो', उनले भने, 'हामी भारत जाने, घर खर्च चलोस् भनेर हो। अन्न लगाएर कामको खोजीमा भारत जान्छौँ।'
आफ्नो मुलुकमै सामान्य केही काम गरेर बस्ने वातावरण नभएका कारण अधिकांश युवा रोजगारीका लागि भारत जानुपरेको उनले बताए। राकमघाट बजारमा रहेका अधिकांश युवा दैलेखको पश्चिमक्षेत्र ठाँटीकाँध गाउँपालिकाका विभिन्न वडा, चामुण्डा वीन्द्रासैनी नगरपालिकाका विभिन्न वडा, आठबीस नगरपालिका तथा छिमेकी जिल्ला अछामका विभिन्न स्थानका थिए, अर्को स्थान जिल्लाको गुराँस गाउँपालिकाको ६ मा पर्ने हिमचुली बजार।
कोही बसबाट सामान झारिरहेका थिए, कोही गाउँ जाने साना गाडीहरूमा राख्दै थिए भने कोही पिठ्युमै भारी बोकेर घरसम्म हिँड्ने तयारीमा थिए त्यसैमध्येका एक गुराँस गाउँपालिका ६ कै भूपेन्द्र बिसी। उनी तीन महिना भारतको अल्मोडा भन्ने ठाउँमा बसेर घर फर्किएका रहेछन्। कमाइको प्रसगंमा उनीसँग कुरा उठ्यो उनले तीन महिनाको समयमा आफ्नो कमाइको ४०–४२ हजार बचत गरेको बताए।
उनले भने, ‘काम गर्न सक्यो भने कमाइ त राम्रो हुन्छ तर दु:ख भने हुन्छ, दु:ख हेरेर कमाई केही पनि लाग्दैन।’ यस्तै के काम गर्नु हुन्छ त्यहाँ भन्ने प्रश्नमा उनले जवाफ थियो ‘काम भन्ने कुरा त्यस्तै हो, भारी बोक्ने, मजदुरीका कामहरू गर्ने, घरमा भएका काम गर्ने।’गाडीभित्रबाट देखिएका एक हुल मानिस भारतमा मजदुरी गरेर घर आउँदै थिए। घरका लागि ल्याएका लत्ता कपडा र अन्य सामानहरू गाडीबाट झार्नमा व्यस्त थिए।
बाली लगाएपछि फेरि उतै फर्किने योजना
यस्तै,आठबीस नगरपालिकाका देउँराम नेपाली उमेरले ४६ वर्ष पुगे। २० वर्षको उमेरदेखि उनी प्रत्येक वर्ष भारत जाने आउने गरेको बताउँछन्। उनले सामान्य रूपमा मिस्त्री (पर्खाल लगाउने) सीप जानेका छन्। त्यही काम गरेर आफ्नो कमाइबाट घर खर्च चलाउँछन्।
उनले भने, ‘न धेरै जमिन छ, भएको जमिनमा लगाएको अन्नबालीको उत्पादन पहाडमा हुँदैन, न घरमा कोही रोजगार छन्। त्यसैले भारत नगई हाम्रो खर्च चल्दैन यो हाम्रो बाध्यता हो, घरमा पाँच जनाको परिवार छ, उनीहरूलाई पाल्न, पढाउन र एकसरो लगाउनकै लागि कालापहाड जानुपर्ने हाम्रो बाध्यता छ।’
गाउँमा बालीनालीमा पुगेको क्षतिका कारण उनी निकै दु:खी भएका छन्। त्यति मात्र होइन बाँकी रहेको बालीनाली भण्डारण गरेर र नयाँ बाली लगाएपछि भारत जाने योजनामा छन् उनी। भारत जाने यहाँका अधिकांश मानिसहरू यही गर्दछन्।
डुङ्गेश्वर गाउँपालिकाका विनोद आचार्य पनि त्यही भित्र पर्दछन् उनी यसबर्षको मकै बाली लगाएर फेरि भारत जाने योजनामा छन्। उनले भने‘अन्नबालीले १२ महिना खान पुग्दैन, अरू आम्दानीको श्रोत छैन, यहाँ खाली बसेर खर्च गर्नुभन्दा त उतै गएर काम गर्नु ठिक छ।’
उनी भारतको चण्डीगढ भन्ने ठाउँमा रहेको एक होटेलमा काम गर्दा रहेछन्। आफूले त्यहाँबाट बाली लगाएर छिट्टै आउँछु भनेर गाउँमा आएको बताए। उमेरले २४ वर्ष पुगेका उनको केही पैसा कमाएपछि बचत गरेर स्वदेशमै केही गर्ने योजना रहेको बताउँछन्।
युवा जनशक्ति गाउँमै रोक्ने योजनामा स्थानीय सरकार
मुलुकमा संघीयता आएको दुई वर्ष पूरा हुँदै छ। कतिपय क्षेत्रमा कुनै स्थानीय सरकारले केही प्रभावकारी काम पनि गरेका छन्। कतिपयले खासै प्रभावकारी काम गर्न नसकिरहेको गुनासो पनि आउने गर्दछ। अब भने स्थानीय तहले वैदेशिक रोजगारीका लागी बाहिर जाने युवाहरूलाई रोक्न केही गर्न आवश्यक रहेको देखिन्छ । चामुण्डा वीन्द्रासैनी नगरपालिकाले भारत र अन्य मुलुकमा रोजगारीका लागि जाने युवाहरूलाई रोक्नका लागि साना उद्योग खोल्ने योजना बनाएको छ। नगर प्रमुख सूर्यबहादुर शाहीले भने ‘त्यसका लागि काम पनि अगाडि बढाएका छौँ।‘
भैतिक विकास भएका कारण केही पसल पनि खुलेका छन् कृषि वन वातावरणले पनि रोजगारी सिर्जना गरेको छ।’ उनले थपे ‘केही बाख्रा फर्म केही कुखुरा फर्म तरकारी खेतीमा पनि लगानी गरेका छौँ। युवालाई अनुदान दिएका छौँ।’ आफ्नो स्थानीय तहमा चार सयभन्दा बढी युवाहरूलाई रोजगारी दिइसकेको उनको दाबी छ।
गुराँस गाउँपालिकाले पूर्वाधार विकास कार्यदल गठन गरी कामको खोजीमा कालापहाड जाने स्थानीयलाई गाउँमै काम दिएको छ। कार्यदलमा सहभागी भएका युवाहरूले पाँच महिनादेखि लगातार गाउँपालिकाभित्रका सडक खन्ने सार्वजनिक मठ मन्दिर भवन निर्माण तथा खानेपानी निर्माणको काम गरिरहेका छन्।
उनीहरूले मासिक १० हजार आफ्नै गाउँमा कमाउँदै आएको र अहिले ८० जना युवाले स्थानीय स्थरमै रोजगारी पाएको गाउँपालिकाका अध्यक्ष खेमराज विलले जानकारी दिए। उनले भने, ‘हाम्रो यो कार्यले परिवार छोडी कामको खोजीमा भारत जान बाध्य युवालाई गाउँमै रोक्न सफल भएका छौँ।'
युवाहरूले आफ्नै ठाउँमा काम पाउने र गाउँको विकास पनि हुने भएकाले अब युवाहरू मजदुरीका लागि काम खोज्न कालापहाड जानुनपर्ने उनको भनाइ छ।
यता, भगवतीमाई गाउँपालिकाले गाउँमा कृषि सडक बनाउन्न स्थानीयलाई सहभागी बनाएपछि गाउँको पैसा स्थानीयले पाउने भएका छन्। उनीहरूले श्रम गरे बापत पाउने रकमले दैनिकी सहज हुने र भारतमा रोजगारीको लागि जानुपर्ने बाध्यता हटेको गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले बताए।
उनले भने हातमा कोदालो बेल्चा बोकेर कृषि सडक खन्न गाउँले व्यस्त छन्। हातमुख जोर्न हम्मेहम्मे हुने स्थानीयलाई कालापहाड जानुको कुनै विकल्प थिएन। अहिले हामीले यो नीति अपनाएपछि जनतालाई केही सहज भएको छ।
कर्णाली प्रदेश सरकारबाट आएको कृषि सडक योजनाअन्तर्गत गाउँमा काम पाउँदा स्थानीय खुसी भएका छन्। यस्ता खालका कार्यक्रमले गाउँमा आएको पैसा गाउँमै खर्च हुने र रोजगारी सिर्जना हुनाले प्रभावकारी रहने थापाको भनाइ छ। अहिले गाउँका दुई सय ५६ जना कृषि सडकमा काम गरिरहेका छन् ।
सीप र पसिना गाउँमै लगानी हुन्छ
आउँदो आर्थिक वर्षदेखि दुई सय ४० जनालाई भारत जानबाट रोकेर गाउँमै रोजगारी दिने गाउँपालिकाको योजना रहेको गाउँपालिकाकी उपाध्यक्ष दीपा बिसीले बताएकी छन्। उनले भनिन्, ‘युवा जनशक्तिलाई गाउँ निर्माणमा लगाउँछौँ, अब युवाको सीप र पसिना गाउँमै लगानी हुन्छ। ‘भारत लगायतका अन्य मुलुकमा जानुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यका साथ स्वरोजगारमूलक नीति गाउँपालिकाले अपनाएकोले वाल बच्चाको लालन पाल शिक्षा दीक्षाका लागि पराई मुलुकमा गएर पसिना बगाउने दिनको अनत्य हुने उनको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।