|
उद्दार गरेर सुर्खेत ल्याइएकी सुत्केरीलाई हेलिकोप्टरबाट झार्दै मन्त्री दल रावल

सुर्खेत : ‘वाह! सरकार! मेरा लागि तपाईं नै भगवान हो,’ मंगलबार साँझदेखि सुत्केरी व्यथा लागेर बच्चा जन्माउन नसकेकी राजकला महतरालाई सुर्खेत विमानस्थलमा हेलिकोप्टरबाट ओरालेपछि उनका श्रीमान् बृष महताराले एकै श्वासमा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावललाई भने, ‘सरकार हुनु त यस्तो पो!’ 

बुधबार कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले दुईजना सुत्केरीको हेलिकोप्टरबाट उद्दार गरी बचाएको छ। कर्णालीका सामाजिक विकास मन्त्री रावल आफैँले हेलिकोप्टर चार्टर्ड गरी सुत्केरीलाई बचाएका हुन्। 

‘धन्य छ सरकार! मेरी श्रीमतीले जस्तै अरुले पनि छिट्टै सेवा पाउन्, अकालमा कोही मर्न नपरोस’, महतारले थपे। उनले श्रीमतीलाई केही नहुने विश्वासका साथ खुसी व्यक्त गरे।

बुधबार बिहान दाङको घोराही नगरपालिका–१५ घर भइ हुम्लाको चंखेली गाउँपालिकास्थित मेल्छम स्वास्थ्य चौकीमा कार्यरत ३३ वर्षीया अनमी निशा नेपालीलाई एअरलिफ्टमार्फत उद्दार गरिएको हो।

त्यस्तै बुधबारै ओदानचुली गाउँपालिका–१ की ३५ वर्षीया राजकला महतारालाई पनि हेलिकोप्टरबाटै सुर्खेत ल्याइयो। गर्भपतन गराएपछि अत्यधिक रक्तश्राव भएपछि निशालाई हेलिकोप्टरबाट ल्याएर प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरिएको छ। 

दुई छोरा र एक छोरीकी आमा राजकलालाई मंगलबार साँझदेखि सुत्केरी व्यथा लागेको थियो। सुरुमै साल खसेपछि उनले बच्चा जन्माउन सकिनन्। यो खबर सामाजिक विकासमन्त्री रावलकहाँ पुग्यो। उनले तत्कालै हेलिकोप्टर चार्टर गरेर उद्दार गरेका हुन्। 

कर्णाली सरकारले आर्थिक वर्ष २०७४/०७५ मा ७ जना सुत्केरीको हेलिकोप्टरबाट उद्दार गरेको थियो। चालु आर्थिक वर्षमा १६ जना सुत्केरीलाई हेलिकोप्टरबाट उद्दार गरी बचाइएको छ। 

सरकारले यस काममा दुई करोड बजेट छुट्याएको छ। जसमध्ये करिब एक करोड खर्च भइसकेको छ। ‘काठमाडौंबाट हेलिकोप्टर मगाउँदा एक पटकमा करिब ८ लाख रुपैयाँ खर्च हुने गरेको छ’, मन्त्री रावलले भने, ‘हेलिकोप्टरले प्रतिघण्टा एक लाख १० हजारदेखि एक लाख २० हजार रुपैयाँसम्म भाडा लिने गरेका छन्।’ 

मन्त्री रावलले एउटा हेलिकोप्टर सुर्खेतमै राख्न केन्द्र सरकारसँग माग गरिएको बताएका छन्। ६ महिना भित्र नेपाली सेनाले ४ ओटा हेलिकोप्टर कर्णालीमा राख्न जग्गाको व्यवस्था गरिएको उनले बताए। 

कर्णालीका विकट जिल्लामा सुविधासम्पन्न स्वास्थ्य संस्था नहुँदा सुरक्षित प्रसुति अभावमा ज्यान गुमाउनुपर्ने बाध्यता छ। यो समस्या अन्त्य गर्न कर्णाली सरकारले हेलिकोप्टर चार्टरको व्यवस्था गरिरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.