शिक्षितले नै गर्छन् हेला र घृणा

|

काठमाडौं : एचआइभी भन्‍नेबित्तिकै जोसुकैको मनमा हलचल मच्चिन्छ। समाजमा यो एचआइभीको भाइरसबाट संक्रमित व्यक्तिलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन नसकेकाले एचआइभीलाई ठूलो रोग मानिएको छ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण  केन्द्रको तथ्याङ्क अनुसार नेपालमा ३१ हजार २० जना एचआइभी संक्रमण भएका मानिस छन्। तीमध्ये पुरुष १९ हजार २० र महिला १२ हजार छन्। यो तथ्यांक अझै उच्च हुन सक्छ। उनीहरूप्रतिको दृष्टिकोणमा परिवर्तन नभएसम्म समाजमा खुल्न नसकेकाले धेरैको तथ्यांक सरकारसँग छैन। 

चेतनशील प्राणी मान्छे समाजमै हुर्कन्छ। समाजमै बाँच्छ र समाजसामू आफ्नो देह त्याग गर्न चाहन्छ। यो मानव जातिको उच्चतम् रहर र अभिलाषा पनि हो।

समाजको एउटा सदस्य जब एचआइभी संक्रमित हुन्छ, तब समाजबाट छुटिन्छ या अलग गरिन्छ। त्यसपछि थाहा हुन्छ, समाजको वास्तविक धरातल। देशका अधिकांश एचआइभी संक्रमित अपवादबाहेक समाजबाट अपहेलित भइरहेका छन्। देशमा राजनीतिक परिवर्तन त भए, तर समाजको दृष्टिकोण र सोच फेरिएन।

एचाआइभीपीडित बालबालिकालाई स्कुल

कीर्तिपुरको भत्केपाटीस्थित सफलता एचआइभी शिक्षा सदनका राजकुमार पुन र उमा गुरूङको समूहले समाजबाट छुट्टिएर बाँच्न बाध्य बालबालिकालाई उद्दार गरी पढाइरहेका छन्।  

'यी नानीबाबु समाजबाट बहिस्कृत भइरहँदा टुलुटुलु हेर्न सकेनौं। साथीहरूसँग मिलेर यो विद्यालय स्थापना गरेका हौं', राजकुमार पुनले भने, 'भोली यिनै बच्चाहरूले समाजमा आफ्नो सम्मानजनक अधिकार सुनिश्चित गर्न सकुन्।'

उनीहरूले सुरूवातमा आफ्नै घरबाट विद्यार्थी पढाउने निर्णय गरे। तर यो कुरा समाजलाई पचेन। महिना नबित्दै कोठा सार्नुपर्ने बाध्यता आइपर्‍यो। उनीहरूले सोचे, 'बरू आफ्नै भवन बनाएर पढाउनुपर्छ।' यो निर्णय उनीहरूको लागि पक्कै सहज थिएन। पुनले आफ्नो घर बेचे। गुरूङले आफ्नो कस्मेटिक पसल। अहिले यहाँ २४ जना एचआइभी संक्रमित बच्चाहरू पढिरहेका छन्।

यो विद्यालयलाई पनि सुरूमा समाजले बहिस्कार गर्यो, हेयको दृष्टिले हेर्यो। यो विद्यालय सुरूवातमा उमा गुरूङको घरमा थियो। घरबाट सुरू गरेको विद्यालय अहिले उदाहरणीय भएको छ। यो समाजको मात्रै होइन, विश्वमै पहिलो पहिचानसहितको विद्यालय बन्‍न पुगेको छ। 

एचआइभी संक्रमितलाई समाजले फरक नजरबाट हेर्न नहुने बताउँछन् पुन। १० वर्षदेखि एचआइभी संक्रमित बालबालिकालाई पढाइरहेका उनले यस्तो भवावह स्थितिबाट बाहिर निस्किनै पर्ने जरूरी रहेको बताए। अहिले विद्यालयमा विपन्न परिवारका एचआइभी संक्रमित बच्चा पढिरहेका छन्। यो विद्यालयबारे धेरैलाई जानकारी छ। तर पनि संक्रमित बालबालिकालाई अभिभावकले विद्यालय पठाउन मान्दैनन्। उनी भन्छन, 'हामी धेरै विद्यार्थीको पर्खाइमा छौँ, जसले पढ्नबाट बन्चित हुन नपरोस्।'

पुनका अनुसार यहाँ छात्रावासको पनि व्यवस्था छ। तर विद्यार्थीका लागि मात्र। अरू विद्यार्थी थपिएको अवस्थामा पढ्ने कोठा तयार छन्। तर आवासका लागि भवनको अभाव छ। 'छात्रावास बनाउन पहल गरिरहेका छौं', उनी भन्छन,'तर आर्थिक अभावले हाम्रो योजनाले मूर्तरूप पाउन सकेको छैन।'

गाउँघरको कुरा अलग्गै भयो, काठमाडौंका शिक्षित व्यक्तिले पनि आफूलाई एचआइभी भएको बताउन सक्दैनन्। घरबेटीटीले थाहा पाएपछि निकालिदिन्छन्।  पहिचानसहित यो स्कुलमा आउने बालबालिकाहरू समाजमा चिनिएका छन्। एचआइभी भाइरस संक्रमणबाट गुज्रिएकाहरूलाई सबैभन्दा पहिले समाजले  बहिष्कार गर्ने डरलाग्दो समस्या छ। अपराधीको नजरले हेरिदिँदा उनीहरूको जिन्दगी नरकीय बन्दै गएको छ। एचआइभी संक्रमितलाई समाजले माया, ममता र हौसला दिएमा उनीहरूले ठूलो प्रगति गर्न सक्छन्।

के हो एचआइभी ?

एचआइभी मानव प्रतिरक्षा प्रणाली कमजोर बनाउने एक प्रकारको विषाणु हो। यो विषाणुका कारण एड्स हुन्छ। एड्स यस्तो अवस्था हो, जसमा एचआइभीले शरीरको प्रतिरोधात्मक शक्ति ह्रास गराई अन्य रोगले (क्यान्सर वा साधारण सरुवा रोग आदि) आक्रमण गराउने वातावरण सिर्जना गर्छ। संक्रमित रगत, असुरक्षित यौन सम्पर्क र संक्रमित गर्भवतीबाट शिशुमा र स्तानपानबाट पनि एचआइभी सर्न सक्छ।

प्रकाश अधिकारी (नाम परिवर्तन) को घर सल्यान हो। उनी अहिले यही स्कुलमा पढिरहेका छन्। जब उनी बुझ्ने भए तब उनलले एचआइभी संक्रमण भएको थाहा पाए। समाजले अन्य एचआइभी संक्रमितलाई गरेको अपहेलना र दुर्व्यवहार उनले देखेका थिए। त्यहीकारण उनको परिवारले आफुहरूलाई भएको एचआइभी संक्रमणको कुरा लुकाए। तर यो सधैँ लुकाएर सम्भव थिएन। अन्तत: एक कान, दुई कान हुँदै गाउँ समाजमा फैलियो। यो समाचारसँगै गाउँमा उनको परिवार एक्लियो, एक्लाइयो। उनी विद्यालय जाँदा पनि मान्छेहरू उनको नजिक पर्नै डराउँथे। गाउँमा अपहेलित भएर बाँचेका उनी काठमाडौँ आए। गाउँमा भोगेको अवहेलनाको पीडा भुलाउँदै उनी अहिले यही विद्यालयमा पढिरहेका छन्। 

'एचआइभी रोग होइन, यो त एउटा भाइरस हो। यसलाई पौष्टिक आहार र औषधि खाएर न्यूनीकरण र स्थिर बनाउन सकिन्छ', उनी सुनाउँछन्। अहिले उनी कक्षा १० पढ्दैछन्। उच्च शिक्षा लिएर मेकानिकल इन्जिनियर बन्ने उनको सपना छ। समाजमा शिक्षितहरूले नै आफूहरूमाथिको दृष्टिकोणमा परिवर्तन ल्याउन नसकेको दुखेसो उनी पोख्छन। भन्छन्, 'हामीलाई माया-ममताको खाँचो छ। निरक्षर मान्छेलाई बुझाउन सकिन्छ। तर साक्षर भनिएकाहरूबाटै हामी अपहेलित भइरहेका छौं।'

आफ्नोबारे समाजमै खुलेर बोल्नुपर्ने तर्क उनी गर्छन्। 'आफुभित्रको समस्यालाई बाहिर ल्याउन सक्नु पर्छ। भित्रभित्रै सडेर, खुम्चिएर बाँच्नु भन्दा खुलेर बाँच्नु ठूलो कुरा हो', उनी सुनाउँछन्, 'समाजसँग आफ्ना कुरा खुलस्त राखेर बाँच्ने की नारकीय जिन्दगी बिनाउने ? त्यो आफ्नो हातमै छ, आफैंमा निर्भर छ।'

 प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्मान लिँदै पुन र गुरुङ

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.