|

उदयपुर : उदयपुर सिमेन्ट उद्योग नेपाल सरकारको पूर्णस्वामित्व रहेको उद्योग हो। त्यही उद्योगमा कार्यरत नायव महाप्रबन्धक नवलकिशोर साह पटकपटक निमित्त महाप्रबन्धक बन्दै आएका छन्। जब महाप्रबन्धकविहीन हुन्छ, तब साह निमित्त महाप्रबन्धकको नेतृत्व गर्छन्। हाल पनि चार महिनादेखि उद्योग महाप्रबन्धकविहीन छ। उनै निमित्त महाप्रबन्धकसँग उद्योगको वर्तमान अवस्था, समस्या र अनुभवका सेरोफेरोमा उदयपुरका थाहाकर्मी विदुर कटुवालले उनै साहसँग गरेको संक्षिप्त कुराकानी :

उदयपुर सिमेन्टको वर्तमान अवस्था कस्तो छ?

समग्रमा उदयपुर सिमेन्टको अवस्था ठीकै छ। उद्योग राम्रोसँग चलिरहेको छ। बिक्रीको अवस्था पहिलाकोभन्दा अलि कम भए पनि आर्थिक अवस्था राम्रै छ। उद्योग चलिरहेको छ। बिक्रीका लागि नयाँ अभियान सुरु गरेका छौँ। त्यसले बिक्रीमा नयाँ आयाम ल्याउनेछ।

बिक्रीका लागि कस्तो प्रकारको नयाँ अभियान थाल्नुभयो?

हामीले बिक्रेता केन्द्रमै पुगेर सिमेन्टबारे जानकारी दिने र बिक्रेताहरूको अनुभव लिने काम थालेका छौँ। डिलरहरूमै पुगेर बिक्रीको अवस्था बुझिरहेका छौँ। हाम्रो सिमेन्टको मूल्य घटे पनि कतिपय अवस्थामा डिलरलाई थाहा नहुने हुँदैन। डिलरहरूलाई बोनसबारे जानकारी नहुने, हाम्रो सिमेन्टको गुणस्तरबारे थाहा नहुने, ग्राहकले औँल्याएका कमीकमजोरीबारे हामीलाई थाहा नहुने अवस्था थियो। अहिले दुई टोली बनाएर देशभरी परिचालन गरेका छौँ।

डिलरहरूमै पुगेर उद्योगका प्रतिनिधिहरूले बिक्रीमा देखिएका समस्या र उद्योगले दिने बोनस लगायतका विषयमा जानकारी दिइरहेका छन्। जसले बिक्रीमा टेवा पुग्ने विश्वास लिएको छु।

क्लिंकर उत्पादनको अवस्था कस्तो छ?

गत वर्षभन्दा धेरै राम्रो छ। अहिलेको चालू आर्थिक वर्षको नौ महिनाको उत्पादन र गत वर्षको नौ महिनाको उत्पादन हेर्दा, गत वर्षभन्दा १० हजार टन बढी उत्पादन गरिरहेका छौँ। जुन अहिलेको उत्पादनले लक्ष्यभन्दा बढी हुन्छ।

पटकपटक गरी धेरै लामो समय निमित्त महाप्रबन्धक भएर उद्योगको नेतृत्व गर्नुभएको छ। तपाईंको अनुभवमा उद्योगका समस्या के के छन्?

मुख्य समस्या उद्योगमा दुईवटा छन्। यो उद्योग २७/२८ वर्षदेखि चलिरहेको उद्योग हो। धेरै मेसिन, इकुमेन्ट पुराना भए। केही समयअघि केही मेसिनहरूको मर्मत गर्यौ। अझै धेरै मेसिन मर्मत गर्नुपर्ने बेला आएको छ। तिनै समस्या अहिलेका ठूला समस्या हुन्। तिनै मेसिन मर्मत गर्न पनि ठूलो रकम चाहिन्छ। त्यो मर्मत नगरी नहुने अवस्था छ।

अझै पनि मेसिनहरू मर्मत गर्न बाँकी छ र?

छ। किल्लरको अवस्था उच्च जोखिममा छ। त्यसलाई तत्काल काटेर हटाउनुपर्नेछ। बर्नर जर्जर अवस्थामा पुगेको छ। किलको मर्मत गर्न जरुरी छ। आर्थिक अवस्था अलि मजबुद भएपछि किल मर्मत गर्ने तयारीमा छौँ। केही समयअघि मर्मत गरेर बाँकी रहेका मेसिनहरू अब मर्मत गर्नुपर्ने बेला आएको छ।

लामो समयसम्म उद्योगमा कार्यरत हुँदा उद्योगका नीतिगत समस्या चाहिँ के के पाउनुभयो?

उद्योगमा नीतिगत समस्या छन्। पहिला २०५६ सालको नियामावली धेरै सजिलो थियो। जुन अहिलेको खरिदबिक्री ऐन अलि झन्झटिलो छ। उद्योगमैत्री वातावरण छैन। सामानहरू खरिद गर्ने प्रक्रिया अलि लामो भएको छ। उद्योगले मेसिनहरू डाइरेक्ट खरिद गर्न सक्दैन।

यस्ता समस्याहरू समाधान गर्न सरकारले के गर्नुपर्ला?

सरकारी उद्योगसँग सम्बन्ध राख्‍ने जति पनि ऐन, नियमावलीहरू छन्। जस्तो सार्वजानिक खरिद ऐन सबैको एउटै भयो। उद्योगको लागि छुट्टै भए राम्रो हुने थियो। त्यो अलि सुहाँउदो भएन। यस्ता कुरामा सरकारले ध्यान दिए सरकारी उद्योगहरू अलि फस्‍टाउँथे जस्तो लाग्छ। उद्योगमैत्री ऐन नियामावलीमा सरकारले ध्यान दिए झनै राम्रो हुने थियो।

पटकपटक निमित्त महाप्रबन्धक हुँदा तपाईंले उद्योगको नेतृत्व कसरी गर्नुभएको छ?

म धेरैपटक उदयपुर सिमेन्ट उद्योगको निमित्त महाप्रबन्धक भएर काम गरेको छु। अहिले पनि गरिरहेको छु। अहिले निमित्त महाप्रबन्धक भएको चार महिनाभन्दा बढी भयो। कुनै वेला एक वर्षसम्म निमित्त महाप्रबन्धक बनेर काम गरेको अनुभव छ। विगतमा आउनुभएका महाप्रबन्धकहरूले जस्तो अवस्थामा उद्योग छाडेर जानुभयो। मैले त्यही अवस्थाबाटै उदयपुर सिमेन्ट उद्योग चलाइरहेको छु। निमित्त महाप्रबन्धक बनेर पनि उद्योग चलाउन सकिँदोरहेछ भन्ने अनुभव लिएँ। सबैको नजरबाट हेर्दा पनि त्यही देखिन्छ। निमित्त महाप्रबन्धक हुँदा उद्योग बन्द हुने अवस्था आएको छैन। उद्योग चलिरहेको छ।

महाप्रबन्धक र निमित्त महाप्रबन्धकले उद्योगको नेतृत्व गर्दाको फरक के होला?

फरक चाहिँ म भन्न सक्दिनँ। महाप्रबन्धक जतिकै अधिकार निमित्त महाप्रबन्धको पनि अधिकार हुन्छ। एक दुई हप्ता मात्र निमित्त महाप्रबन्धक त धेरैपटक बनेको छु। त्यसमा पनि एक वर्षसम्म निमित्त महाप्रबन्धक नै बनेर उद्योग चलाएको अनुभव मसँग छ। दैनिक कार्य सञ्चालनमा कुनै बाधा अवरोध आएको छैन। आउँदैन पनि। जसरी महाप्रबन्धकले चालउनुहुन्छ, त्यसैगरी मैले पनि चलाउने गरेको छु। केही फरक छैन।

६ वर्षअघि र पछिको उदयपुर सिमेन्ट उद्योगमा के फरक छ?

६ वर्षअघिको उदयपुरको सिमेन्ट उद्योगको अवस्था नाजुक थियो। धेरै मेसिनहरू मर्मत गर्नुपर्ने थिए। अहिले ती मेसिन मर्मत गरिएको छ। त्योबेला उत्पादन पनि धेरै कम थियो। ५/६ वर्ष अघि उद्योग चल्न सक्दैन भन्ने हल्ला पनि आयो। सरकारले पनि निजीकरण गर्ने एउटा नीति पनि ल्याउन लागेको थियो। हामीले निजीकरण गर्न दिएनौँ। त्यसबाट हामीले एउटा पाठ सिक्यौँ। हामीले उद्योगलाई राम्रोसँग चलाएनौँ भने उद्योग निजीकरण हुन्छ भनेर। अहिले कर्मचारी र व्यवस्थापकीय टिम एकजुट बन्यौं।

त्यसपछि पुराना काम नलाग्ने अवस्थामा आएका केही मेसिनहरु पनि मर्मत गर्यौं। सिमेन्टका विदेशी विज्ञहरू पनि बोलायौं। उनीहरूबाट पनि रायसल्लाह लियौँ। विज्ञकै सल्लाहअनुसार मर्मत सम्भार गर्‍यौं। अहिले उद्योगको अवस्था राम्रो छ। पाँच/६ वर्ष अगाडि उद्योगको अवस्था धेरै नाजुक थियो। अहिले धेरै राम्रो भएको छ। उद्योग प्रगतिको बाटोमा लम्किरहेको छ।

बजार निजीक्षेत्रका सिमेन्टको कब्जामा रहेको वर्तमान अवस्थामा उदयपुर सिमेन्ट उद्योगले निजीक्षेत्रका सिमेन्टसँग कसरी प्रतिस्पर्धा गरिरहेको छ?

निजीक्षेत्रका सिमेन्टहरू ठूला क्षमताका छन्। दैनिकरूपमा दुई हजार टनभन्दा बढी उत्पादन गर्ने प्लान्टहरू निर्माण भइरहेका छन्। जति उत्पादन बढी हुन्छ। त्यतिनै उत्पादन लागत कम हुन्छ। उदयपुर सिमेन्टको दैनिक उत्पादन क्षमता नै ८ सय टन हो। निजीसँग प्रतिस्‍पर्धा गर्न उदययपुर सिमेन्ट उद्योगको क्षमता विस्तार गर्नुपर्छ। उदयपुर सिमेन्टको उत्पादन क्षमता बढाउँदा निजीक्षेत्रका सिमेन्टसँग सजिलै प्रतिस्पर्धा गर्न सकिन्छ। क्षमता बढाइएन भने झनै चुनौती थपिँदै जानेछ।

निजीक्षेत्रको भन्दा सरकारी सिमेन्टलाई प्रोत्साहन गर्न सरकारले के गर्नुपर्ला?

सरकारले उदयपुर सिमेन्ट उद्योगको क्षमता विस्तारमा ध्यान दिनुपर्छ। हामीले केही समयअघि दैनिकरूपमा एकहजार ८ सय क्षमतामा विस्तार गर्ने प्रपोजल सरकारलाई बुझाएका छौँ। त्यो प्रपोजल स्वीकृत भएको भए हामी क्षमता विस्तार गरेर प्रतिस्‍पर्धा गर्ने थियौँ। सरकारले स्वीकृति गर्‍यो कि अस्वीकार गर्‍यो। हामीलाई केही जानकारी आएको छैन। तर, उदयपुर सिमेन्ट उद्योगको क्षमता विस्तार गर्नुपर्ने वेला आएको छ। सरकारले क्षमता विस्तारमा आर्थिक सहयोग गर्नुपर्‍यो।

उदयपुर सिमेन्ट उद्योगले नेपाल सरकारलाई तिर्नुपर्ने अब कति बाँकी छ?

उदयपुर सिमेन्ट उद्योगले नेपाल सरकारलाई तिर्नुपर्ने ऋण जम्मा ६ अर्ब २० करोड हो। हामीले दुई अर्बचाहिँ २०६९ सालभित्र तिरिसकेका छौँ। त्यसपछि बाँकी रहेको रकम अझै हामीले तिर्नसकेका छैनौं। उद्योगमा केही आर्थिक समस्या परेकाले तिर्न नसकेका हौँ।

उदयपुर सिमेन्टमा मजदुरको समस्याले धेरै पटक उद्योगनै बन्द भएको थियो। अहिले उद्योगप्रति मजदुरहरुको भूमिका कस्तो छ?

अहिले मजदुरको भूमिका सकारात्मक नै छ। व्यवस्थापन, कर्मचारी, मजदुर सबैको पहलमा नै उद्योग राम्रो भएको हो। मजदुरहरूले उद्योग सञ्चालमा सकारात्मक भूमिका खेल्नुभएको छ। उहाँहरूको साथ सहयोग हरदम चाहिन्छ।

उदयपुर सिमेन्ट उद्योगलाई देशकै नमुना सिमेन्ट उद्योग बनाउन के गर्नुपर्ला?

यस उद्योगलाई नमुना बनाउन क्षमता विस्तार गर्नुपर्‍यो। जबसम्म क्षमता विस्तार हुँदैन। तबसम्म केही हुँदैन। प्राइभेट सिमेन्टहरू आक्रामकरूपमा अघि बढिरहेका छन्। सरकारले विशेष ध्यान दिन जरुरी छ। उद्योगका कर्मचारी सकारत्मक छन्। तर, उद्योगको उत्पादन क्षमता विस्तार गर्दा देशकै नमुना बनाउन सकिन्छ।

केही वर्ष अघि उद्योगप्रति नकारत्मक धारणा थियो। जुन उदयपुर सिमेन्ट बन्द हुन्छ भन्ने। तर, त्यो धारणालाई हामीले तोडिसकेका छौँ। उद्योग चल्न थालेको छ। मात्र अब क्षमता विस्तार मात्र गर्दा हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.