|

काठमाडौं : साहित्य लेखनमा सक्रिय एलबी क्षेत्रीको नयाँ कथाकृति 'व्रतभङ्ग' शनिबार सार्वजनिक हुँदैछ। लामो समय प्राध्यापकरूपमा  सक्रिय क्षेत्रीका 'त्रिशंकुशको देश' र 'इन्द्रमायाको देश' कथा संग्रह र 'भिड हराएको मान्छे' कविता संग्रह प्रकाशित भइसकेका छन् । 

उनका अधिकांश लेखमा परिवार, श्रीमान-श्रीमतीको सम्बन्ध, यौन मनोविज्ञान, फूल बगैँचा, शान्ति, अस्तित्व र स्वतन्त्रताका विषयले स्थान पाउँछन्। आउँदै गरेको कथा संग्रहमा उनले समाजमा देखेका, भोगेका कथा समावेश गरिएको बताए। छोटा कथा लेख्नु उनको विशेषता हो। तर, विषयवस्तुको आधार र त्यसले बोक्ने भावको न्यायले कथाको उचाइ मापन हुने उनको तर्क छ। 

उनी कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष हुन् भने चरैवेतीका सम्पादक पनि। यसअघि उनको कथासंग्रह २०७१ मा प्रकाशित भएको थियो। पाँच वर्षपछि पुन: कथा संग्रह बोकेर उनी आइपुगेका छन्। जसमा २६ वटा कथा समावेश छन्।

उनी कथा कविता लेख्दा अनावश्यक आडम्बरका शब्द गुच्छा खोज्दै हिँड्दैनन्। विम्बको चाङ लगाउन उनलाई मन पर्दैन। सरल भाषामा गम्भीर विषयका सुन्दर कथा लेख्‍न सकिन्छ भन्‍न मान्यता छ उनो। कृति भित्रका कथाहरू पृथक र आफूलाई  मन परेका रहेको बताउँछन् उनी।  कथाले प्रस्तुत गरेका विषयको आफूले एलबी स्टाइलमा गरेको बुझाई छ उनको।

यो कथा संग्रहमा यौनसम्बन्धी विषयमा नारी उत्पीडनका प्रसंग उठाएका छन् उनले। उनले 'इन्द्रमायाको देशमा' पनि केही कथा नारी पीडा, नारी अस्तित्व, नारी अधिकारबारे लेखेका  थिए। एउटा उपन्यास अधुरो रहेकाले त्यसलाई पूर्णता दिइरहेको सुनाए। संस्मरण पनि लेखिरहेका उनी लेखनले आफूलाई सन्तुष्टि दिने धारणा राख्छन्। लेखनलाई प्रतिष्पर्धी र व्यापारका रूपमा लिन नहुने उनको मत छ ।

उनले यौन र मनोविज्ञानको सुक्ष्म विषयमा निर्भीक भएर लेख्ने गरेको समालोचकहरू बताउँछन् । 'हामीले आफूभित्रको कुण्ठा त्याग्न सक्नुपर्छ । लेखनमा इमान्दार बन्‍ने  साहस गर्नुपर्छ',क्षेत्रीले भने। यो संग्रहमा सातवटा नारी केन्द्रित कथा रहेको बताउँछन् उनी। भन्छन्, 'मैले ती महिला पात्रको माध्यमबाट समाज र पतिलाई हेर्ने कोशिश गरेको छु।' 

यसअघिका  कथा-संग्रह उनले आफ्नै 'चरैवेती' प्रकाशनबाट निकालेका थिए। तर यो कथा कृतिलाई बीएन प्रकाशनले  बजारमा ल्याउँदै छ।

क्षेत्रीले आफ्नो कथाकृतिको अन्त्यमा लेखेका छन्, 'मेरा यी कथा हुन्। के लामा के छोटा। कथा सबै अपूर्ण हुन्छन् । तर कथाको मुख्य विशेषता भनेको आफ्नो अपूर्ण छविमा पनि पूर्णता बोकेको हुन्छ।'

'इन्द्रमायाको देशमा' डा. लक्ष्मणप्रसाद गौतमले भनेका छन्, 'कथाकार र लघुकथाकार एलबी क्षेत्रीलाई अब चुनौती छ, 'इन्द्रमायाको देशमा' र 'उसले फेरि एउटा सपना बुन्‍नु छ' जस्ता कथाले दिएको उचाईलाई कसरी जोगाउने? टुप्पोमा पुग्‍न सजिलो हुन्छ। तर त्यहाँ अडिइरहन? हो त्यो निकै कठिन छ।' क्षेत्रीको उचाई कायम गर्न 'ब्रतभंग' सफल हुन्छ या हुँदैन केही दिन कुर्नै पर्ने हुन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.