|

काठमाडौं : नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकता गर्ने सहमति भएको छ। यी दुई पार्टीबीच एकता हुने भएपछि फोरमसँगको एकतामा जुटेको राष्ट्रिय जनता पार्टी नेपाल भने अन्योलमा परेको छ। आउँदो वैशाख २३ गते सोमबार प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रमको आयोजना गरी फोरम र नयाँ शक्तिले एकता घोषणा गर्ने सहमति गरेका छन्।

यता, एकताका लागि फोरमसँग सरकारबाट बाहिरिनुपर्ने बटमलाइन बनाएको राजपा यतिखेर एकताकै विषयमा आन्तरिक छलफलमा जुटेको छ। राजपाका शीर्ष नेताहरूले नयाँ शक्ति र फोरमका नेताहरूसँग पनि छलफल जारी राखेका छन्। तर, निष्‍कर्ष भने निस्केको छैन।

पछिल्लो समय फोरम र नयाँ शक्तिको पार्टीको एकता पनि संघीय सरकारमा आएर अड्किएको थियो। नयाँ शक्तिले तत्काल सरकार छाड्नुपर्ने प्रस्ताव गरेको थियो भने फोरमले पार्टी एकतापछि यसबारे निर्णय गर्ने जवाफ दिएको थियो। अन्तः फोरम सरकारमै रहेका बेला यी दुई पार्टीबीच एकता भएपछि अब राजपासँगको एकता ओझेलमा परेको छ।

त्यसो त राजपा र फोरमबीच एकताका लागि पटकपटक पत्र आदानप्रदान भएका छन् भने औपचारीक र अनौपचारिक छलफल पनि भएका छन्। तर, यी दुई पार्टीको एकता पनि सरकारमा गएर अड्किएको छ। राजपा नेपालका महासचिव केशव झाले फोरमसँगको एकता प्रक्रिया सरकारमै गएर अड्किएको बताए। उनले फोरम सरकारबाट नबाहिरिएसम्म एकता नहुने जानकारी दिए।

एकता प्रक्रिया अगाडि बढ्नका लागि फोरमले सरकारबाट बाहिरिनुपर्ने राजपाको बटमलाइन भएको महासचिव झाले बताए। उनले भने, ‘मुख्य कुरा के हो भने उनीहरू सरकारमा रहुन्जेल हामी कसरी एकता गर्न सक्छौं।’ जनतासँग गरेका वाचाबाट आफूहरू भाग्न नसक्ने उनले बताए।

तर, एकताका लागि वार्ता भने भइरहेको उनको भनाइ छ। नयाँ शक्ति र फोरमको एकताले राजपासँगको एकतामा कुनै असर नगर्ने झाले बताए। स्रोतका अनुसार फोरम र नयाँ शक्तिबीच संविधान संशोधनसहितका माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिने र त्यो अवधिमा माग पूरा नभए सरकार छाड्ने सहमति भएको छ। यी दुई पार्टीबीचको यो सहमतिले राजपासँगको एकताका लागि पनि सम्भावना भने बाँकी राखेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.