ताप्लेजुङ : ताप्लेजुङ मेरिङ्देन गाउँपालिकाका प्रेम लङ्वा वैशाख १० गते मिक्वाखोला गाउँपालिका-५ पापुङस्थित तोक्पेगोलातर्फ लागे। सदरमुकाम फुङलिङबाट तीन दिनको पैदल यात्रापछि उनी तोक्पेगोला पुगे।
वर्षातकाे समय झमझम पानी परिरहँदा उकालो ओरालो पार गर्दै तीन दिनपछि ताक्पेगोला पुग्दा शरीर गलेर शिथिल भएको थियो। लखतरान परेर तोक्पेगोला पुगेका उनी त्यहाँ पुग्नेबित्तिकै स्फूर्तिको महसुस गरे।
बस्तीनजिकै पानीको छाँगो र पोखरीले उनकाे थकान बिर्सायो। उनी मात्र हाेइन तोक्पेगोला जात्रा मनाउन त्यहाँ पुगेका अधिकांशको अनुभव यस्तै थियो। विशेष गरी मनमोहक सोदो पोखरीको दृश्यावलोकन गर्दा त स्वर्गमै पुगेको महसुस भएको नवीन गुरागाईंले बताए।
धार्मिक, जैविक र प्राकृतिक सौन्दर्यमा रमाउन चाहने जोकोहीको मन यसको सुन्दरताले छुन्छ। समुद्री सतहदेखि चार हजार १०० मिटर उचाइको यो पोखरीको दर्शन गर्न कुहिरो र घामको लुकामारी छिचोल्नैपर्छ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण यस ठाउँमा घुम्न जाेन पर्यटक र तीर्थयात्रीको संख्या नगण्य रहेको छ। यस पोखरी वरपर अन्य थुप्रै पोखरी छन्।
भूत पोखरी, पाना पोखरी, तीनपोखरी लगायतका ५२ भन्दा बढी पोखरी छन्। यस पोखरीमा पवित्र मनले दर्शन र पूजा गरे मनोकांक्षा पूरा हुने विश्वास छ। तर लोभ लालच र पाप सोचेर अनिष्ट हुने स्थानीयको जनविश्वास छ। असोजदेखि नै यहाँ हिमपात सुरु हुन्छ।
ठूला नदी, खोला र झर्ना र बाक्लै पोखरीले सजिएको यस क्षेत्रमा माइकोपिला, कुटी, विखुमा, पाँचऔंले, खोकिम जस्ता अनेकन फूल र जडीबुटी छन्।
प्राकृतिकरूपले सुन्दर र मनमोहक रहेको यस क्षेत्रमा पर्यटकलाई धेरैभन्दा धेरै भित्र्याउन पोखरीसम्म पुग्ने बाटो जरूरी छ । तिव्बतको सिमानामा भएकाले सडक सञ्जालको विकासमा विशेष ध्यान दिनुपर्ने पोखरी घुम्न पुगेकाहरूको सुझाव छ।
'बाटोको राम्रो व्यवस्था गर्नुपर्छ। अनि मात्रै धेरै पर्यटक भित्र्याउन सकिन्छ', सोदोपोखरी घुम्न पुगेका खड्क केदेमले भने, 'यहाँ पुग्दा आनन्द लाग्यो। तर आइपुग्नै गाह्रो भयो।' यता स्थानीय तहले पनि धेरै पर्यटक पुर्याउन प्रचार थालेको वडाध्यक्ष डण्डु शेर्पाले बताए।
धेरै पर्यटक पुर्याउन सकिने क्षेत्रमा स्थानीयबासीसँग मिलेर पूर्वाधार विकास गर्न सके स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्नेमा शंका नरहेको उनी बताउँछन् ।
सोदो पोखरी कसरी पुग्ने
प्राकृतिक सुन्दरताले भरिपूर्ण सोदो पोखरी पुग्न सदरमुकाम फुङलिङबाट तिन दिन पैदल यात्रा गर्नुपर्छ। सदरमुकमवाट कच्ची सडक हान्द्रुङसम्म छ। त्यहाँबाट खोक्लिङ, लिवाङ, हुँदै साँवा पुगिन्छ। साँवामा रहेको फुङफुङे झरनासँगै लेलेपको तांखु, दोङगेनसम्म अर्को दिनमा पुग्न सकिन्छ। तेस्रो दिन दोङ्गेनबाट तोक्पेगोला एक दिनमा पुग्न सकिन्छ। यस क्षेत्रमा भदौ लागेपछि जाडो बढ्न थाल्छ। चौँरी गोठाला बेंसीतिर झर्छन्।
वर्षातकाे मौसममा पर्यटक र तीर्थयात्रीको भीड लाग्ने सोदोपोखरी दृष्यावलोकन र तीर्थयात्राको लागि अब्बल गन्तव्य मानिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।