मौरीगाउँका रूपमा विकसित हुँदै बेतहानी

|

नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-७ मा स्थित बेतहानी गाउँ पुग्ने जो कोहीले देख्न सक्छन् हरेक घरमा मौरीका घार। बेतहानीका किसान पछिल्लो समय मौरीपालनतर्फ आकर्षित हुँदै गर्दा यहाँका हरेक घरमा मौरी पालन देख्न पाइन्छ।

किसानहरू आकर्षित भएपछि नगरपालिकाले बेतहानी गाउँलाई मौरी पकड क्षेत्रका रूपमा विकास गर्ने अवधारणा ल्याएको छ। बर्दघाट नगरपालिकाले विशेष योजना बनाएर मौरीपालन पकड क्षेत्रसँगै मौरीको अध्ययन केन्द्रका रूपमा समेत विकास गरिने बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले बताए। 

एकै घारबाट ६० किलो मह

प्रदेश-५ को भूमि व्‍यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट विनियोजित २५ लाख रुपैयाँध्ये १२ लाख बेतहानीमा मौरीपालनका लागि छुट्याइएको छ।

बेलहानी मौरीपालक कृषक समूहमार्फत प्रदेश सरकारबाट प्राप्त भएको १२ लाख र किसानको २ लाख ६५ हजार गरी कुल १४ लाख ६५ हजारमा मौरीसहितका १ सय ५७ घार खरिद गरी १० जना किसानलाई वितरण गरिएको छ। 

एकजना किसानको घरमा १० वटाका दरले मौरीसहितको घार दिइएको छ। मौरीको एक घारबाट वार्षिक सरदर ५० देखि ६० किलोसम्म मह गत्पादन हुने गर्दछ।

किसानले मह प्रतिकिलो ३ सयदेखि ४ सयसम्ममा बिक्री गर्ने गरेका छन् । होलसेलमा भने २५० देखि ३ सयसम्ममा बिक्री हुने गरेको किसानहरूको भनाइ छ। 

नगरपालिकाले बेतहानीलाई मौरीगाउँका रूपमा विकास गर्ने भएपछि त्यहाँका स्थानीय खुसी छन्। विशेषगरी घरधन्दामा अल्झिएका महिला पनि घरको कामबाट फुर्सद निकालेर मौरीको हेरचाह गर्न जुटेका छन्। मनग्य आम्दानी हुने भएपछि उनीहरु मौरीपालनमा आकर्षित भएका छन्। 

मासिक ६० हजार आम्दानी

सुरुवातमा १० जना किसानबाट मौरीपालन सुरु गरिएको थियो । यसलाई विस्तारै त्यसलाई बढाउँदै लगेर मौरी पकट क्षेत्रका रूपमा विकास गर्ने योजना रहेको मौरीपालक किसान तथा बेतहानी मौरीपालक कृषक समूहका सचिव प्रकाश पन्थले बताए।

पन्थले १५ वर्षदेखि मौरीपालन गर्दै आइरहेका छन्। १५ वर्षअघि एक घार मौरीबाट सुरु मौरीपालन व्‍यवसाय अहिले १८० घारमा पुगेको छ । उनका अनुसार सम्पूर्ण खर्च कटाएर मासिक ६० हजार आम्दानी हुने गरेको छ। 

वैदेशिक रोजगारमा रहेका बेतहानीकै रामप्रसाद ढकाल स्वदेशमै केही गर्ने सोचकासाथ फर्किए । देशमा भौतारिरहेको समयमा मौरीपालनबाट राम्रो आम्दानी हुने सम्भावना देखेर उनी यसमै लागेका छन्।

विदेशमा १८ घन्टासम्म काम गर्दा उनले ८ घन्टाको मात्र तलब पाउँथे । त्यसबाट गतिलो आम्दानी नभएपछि उनी निराश थिए । अहिले विदेशको भन्दा गतिलो कमाइ गाउँमै भइरहेको ढकालको भनाइ छ। 

बेतहानीका किसानले मेलीफेरा जातको मौरीपालन गरेका छन्। मेलिफेरा जातको मौरी तराई क्षेत्रका लागि उत्तम मानिन्छ। यो जातको मौरीबाट एक घारमा ५० देखि ६० किलोसम्म मह उत्पादन गर्ने गर्दछ। प्रदेश सरकारको बजेटमार्फत् मौरीसहितका एक सय ५७ घार वितरण गरिएको थियो । तर त्यसअघि नै यो गाउँमा २५० भन्दा बढी घार मौरीपालन हुँदै आएको थियो।  

मौरीपालनमा लागेका नयाँ किसानले मौरीपालन तालिम माग गरेका छन्। बेतहानी मौरीपालक कृषक समूहमा मह काढ्ने एउटा मेसिन छ। मह प्रशोधन र लेवलिङ गर्ने मेसिनको अति आवश्यक रहेको किसानहरूले बताएका छन् ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.