|

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बुधबार राष्ट्रिय जागरण अभियान सुरु गर्दैछ। जागरण अभियान विशेष गरेर सरकारविरुद्ध र पार्टीभित्रैकै आन्तरिक जागरणमा केन्द्रित हुनेछ। वैशाख ११ गतेबाटै अभियान शुरु गर्ने तयारी गरे पनि पार्टी नेता रामकृष्ण ताम्राकारको निधनका कारण कांग्रेसको अभियान दुई साता पछि सरेको थियो। 

पार्टीका निकाय र संरचना गठन हुन नसकेका वेला देशव्यापी अभियानमा जुटेको कांग्रेसको यो अभियानलाई पार्टीभित्रै पनि अर्थपूर्ण रूपमा लिइएको छ। अभियानले पार्टीका संगठनलाई चलायमान बनाउँदै सरकारविरुद्ध जनमत निर्माण गर्ने कांग्रेस नेताहरूको दाबी छ। राष्ट्रिय मुद्दाका विषयमा जनतालाई सु–सूचित गर्न, वर्तमान चुनौतीका बारेमा जानकारी गराउन र सरकारका गतिविधिका बारेमा खबरदारीका लागि कांग्रेस जनतामाझ जान लागेको हो। तर, यी विषयमा कांग्रेसभित्र ‘होमवर्क’ नै कमजोर रहेको कांग्रेस नेता डा. चन्द्र भण्डारी बताउँछन्। 

केन्द्रदेखि वडा तहसम्म पार्टीका संरचनाबिनाको अभियानले उद्देश्य प्राप्ति गर्न कठिन हुने नेताहरूको बुझाइ छ। नेतृत्वविहीन बनेको नेपाल विद्यार्थी संघ र पूर्णता पाउन नसकेको नेपाल तरुण दलका कारण पनि कांग्रेसको जागरण अभियानलाई प्रभावित पार्नेछ। अभियान चलाएर संरचना होइन संरचना बनाएर अभियान चलाउनुपर्ने अवस्थामा पार्टीले उल्टो बाटो लिएको नेताहरू बताउँछन्। आन्तरिक गुटबन्दीका का यी संगठन चलायमान हुन सकेका छैनन्।  

संगठनात्मक रूपमा कमजोर भएको वेला तयारीविना गर्न लागिएको जागरण अभियानले केही सिक्ने र सिकाउने मौका प्रदान गर्ने कांग्रेस नेता डा. भण्डारी बताउँछन्। थाहा सञ्चार नेटर्वकसँग कुरा गर्दै नेता भण्डारीले कांग्रेस विगतमा पाठशालाका रूपमा रहेको चर्चा गर्दै अहिलेको नेतृत्वका कारण पार्टी कमजोर भएको बताए। उनले अब पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा कांग्रेसमा छलफल चलाउने जानकारी गराए। कम्युनिष्टजस्तो कांग्रेस चिराचिरा नभएको भन्दै सन्तुष्टि व्यक्त गरे। तर, पनि कांग्रेस नेतृत्वलाई सुधारदै लैजाने उनको भनाइ छ।

जागरण अभियानमा यी विषयसँगै राष्ट्रियतालाई पनि प्राथमिकतामा राख्ने उनले बताए। अभियानकालागि कपिलवस्तु खटिएका डा. भण्डारीले हामी आफैं कसरी परिवर्तन हुनसक्छौं र राष्ट्रलाई कसरी परिवर्तन गर्नसक्छौं भन्ने विषयलाई प्राथमिकतामा राख्ने जानकारी गराए।

‘पहिलो कुरा देश हो। दोस्रो जनता हुन्। ती दुईवटालाई जोड्ने विचार हो। त्यो विचारलाई जोड्ने पार्टी हो’, उनले भने, ‘त्यो पार्टी हामीले कसरी बनाउन सक्छौँ भन्ने विषयमा मैले जनतासँग छलफल गर्ने छु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.